+

नर्सलाई कुन रोगको जोखिम ?

२०८१ जेठ  १७ गते ११:०७ २०८१ जेठ १७ गते ११:०७
नर्सलाई कुन रोगको जोखिम ?

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा उपचाररत एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ । साधारण शय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने हुन्छ । त्यसैगरी  बालबालिकाको साधारण शय्यामा भने एक जना नर्सले चार जना बिरामी हेर्नुपर्ने हुन्छ । प्रसूतिका लागि लेबर कक्षमा एक जना बिरामीका लागि दुई जना नर्सको आवश्यकता पर्छ ।

नेपालमा हाल नर्सहरूको संख्या करिब एक लाख १५ हजार छ । नर्सहरू बिदेसिने क्रम बढेको छ, जसले गर्दा अस्पतालमा नर्सको संख्या अपुग छ । एक जना नर्सले एकै पटक धेरै बिरामीलाई हेर्नुपर्ने बाध्यता छ ।

नर्सहरूले दैनिक कम्तीमा आठ घण्टा ड्युटी गर्नुपर्ने हुन्छ, कहिलेकाहीं १२ घण्टासम्म पनि खटिनुपर्ने हुन्छ । ड्युटीको समय निश्चित पनि हुँदैन, कहिले राति, बिहान र दिउँसो जुनसुकै समय पर्न सक्छ । जसले गर्दा उनीहरूको सर्किडियन रिदम (शरीरको स्वचालित आन्तरिक चाल) बिग्रिन सक्ने नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई बताउँछिन् ।

‘इमर्जेन्सीमा आउने बिरामीहरूलाई पनि सबैभन्दा पनि नर्सले नै हेर्छन् । इमर्जेन्सीमा आउने बिरामीलाई के रोग लागेको हो थाहा हुँदैन, जसले गर्दा नर्सहरूलाई विभिन्न संक्रामक रोगको जोखिम बढी हुन्छ,’ उनी भन्छिन् ।

अस्पताल सेटिङमा काम गर्ने अधिकांश नर्सहरूले बिरामीलाई आफ्नो जिम्मेवारीको रुपमा राम्ररी हेरचाह प्रदान गर्छन् । तर बिरामीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सार्दा, उनीहरूलाई शय्याबाट बाहिर निकाल्दा नर्सहरूको ढाडमा र शरीरको अन्य अंगमा चोट लाग्ने जोखिम हुने फ्यामिली फिजिसियन डा. विश्वराज दवाडी बताउँछन् ।

‘यसबाहेक ब्याक्टेरिया, भाइरसको सम्पर्कमा आएका कारण अस्पतालमा सङ्क्रमणको जोखिम पनि हुन्छ । त्यसैले संक्रामक रोग लाग्ने जोखिम पनि नर्सहरूमा रहन्छ । यो जोखिम कम गर्न उचित स्वच्छता र सुरक्षा दिशानिर्देशहरू पालना गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

अस्पतालमा एक्स–रे, एमआरआई, सिटिस्क्यान लगायत विभिन्न उपकरण प्रयोग गरिएको हुन्छ । यस्ता उपकरणले रेडियोधर्मी विकिरण उत्सर्जन गर्छन् । यस्ता रेडियोधर्मी विकिरण स्वास्थ्यका लागि हानिकारक हुन्छन् । नर्सहरूले यस्ता उपकरण प्रयोग गरिने ठाउँमा पनि सहयोग गर्नुपर्ने हुन्छ । यस्तोमा पटक–पटक रेडियोधर्मी विकिरणको सम्पर्कमा आउँदा उनीहरूमा बाँझोपनसम्मको समस्या पनि निम्तिन सक्ने दवाडी बताउँछन् ।

‘शरीरमा थोरै थोरै मात्रा गरेर विकिरणले प्रवेश गरेमा अल्पकालीन वा दीर्घकालीन रुपमा डीएनएलाई क्षति पुर्‍याउन सक्छ,’ उनी भन्छन् ।

चिकित्सकले एउटै आसनमा घण्टौं उभिएर शल्यक्रिया वा अन्य उपचार गरिरहेका हुन्छन् । त्यो काममा त्यति नै समय उभिएर नर्सहरूले सहयोग गरेका हुन्छन् । त्यसैले उनीहरूलाई ढाड दुखाइ, गर्दन तथा कम्मर दुखाइको समस्या पनि हुने डा. दवाडी बताउँछन् ।

लामो समयसम्म उभिंदा नर्सहरूलाई भेरीकोज (पिंडौलामा रक्तनसा फुल्ने) को समस्या हुनसक्छ । लामो समयसम्म उभिई काम गर्नुपर्ने व्यक्तिको पिंडौलाका रक्तनसामा रहेका भल्बहरुले विस्तारै खुकुलो हुँदै गएपछि खुट्टातिरको रगत मुटुमा पुग्न कठिन हुन्छ । ‘जसकारण रगत मुटुमा पुग्न नसकी पिंडौलातिरै थुप्रिएर त्यहाँको रक्तनसा फुलिएर गँड्यौला जसरी गुजुल्टिएर बसेको देखिन्छ,’ डा. दवाडी भन्छन् ।

नर्सहरूको खाने ठेगान हुँदैन । धेरैजसो समय अस्पतालमै बिताउनुपर्ने हुँदा बाहिरको खानेकुरा पनि खानुपर्ने बाध्यता हुनसक्छ । जसले उनीहरूमा ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, अपच जस्ता पाचन समस्या देखिन सक्छ ।

अस्पतालमा बिरामीहरूलाई निरन्तर हेरचाह चाहिन्छ भन्ने कुरालाई ध्यानमा राख्दै नर्सहरूले प्रायः सिफ्टमा काम गर्छन् । धेरै पटक छुट्टीको दिन पनि काम गर्नुपर्ने हुन्छ । जसले निद्राको ढाँचामा पनि बाधा पुग्न सक्छ र कतिपय अवस्थामा यसले ‘स्लिपिङ्ग डिसअर्डर’को समस्या पनि ल्याउन सक्ने मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी बताउँछन् ।

‘लामो समयसम्म निद्रा बिग्रियो भने स्लिपिङ डिसअर्डरसँगै एन्जाइटी र डिप्रेसनको समस्या समेत निम्तिने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘उनीहरूमा खान, पिउन र सुत्ने समयको तालमेल नमिल्दा शरीरमा ऊर्जा नहुने, तनाव भइरहने र बिस्तारै मधुमेह, उच्च रक्तचाप जस्ता समस्या देखा पर्न सक्छन् ।

नर्स रोगको जोखिम स्वास्थ्य
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक ?

जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक ?

राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान

राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान