सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत दोस्रो दिन शनिबार भएका दुई खेलमा राजविराज र तिरहुत टाइगर्स विजयी भएका छन्।
पहिलो खेलमा राजविराज राजदेवी ११ ले बलानबिहुल सुपर किंग्सलाई १ रनले पराजित गर्यो । राजविराज राजदेवीले दिएको ७३ रनको लक्ष्य पछ्याएको बलान बिहुलले १६.३ ओभरमा ७१ रनमा सबै विकेट गुमायो।
बलान बिहुलको ब्याटिङमा साहिल पटेलले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। राजविराज राजदेवीको बलिंगमा रिजन ढकाल र श्रवण यादवले समान ३ विकेट लिए। रिजनले ४ ओभरमा ३४ रन तथा प्लेयर अफ द म्याच श्रवणले ४ ओभरमा मात्र १२ रन खर्चिए। रञ्जित कुमारले २ तथा जितेन्द्र यादव र अजय यादवले १/१ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको राजविराज राजदेवी ११ ले १५.५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो। ओपनर दिलिप नाथले ३२ तथा विजय यादवले २६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलान बिहुल सुपर किंग्सको बलिङमा गोमानन्द अमात्य र नितेशकुमार यादवले समान ३ विकेट लिए। ह्याप्पी कुमार यादवले २ तथा सन्तोष कार्की र कप्तान विवेक यादवले १/१ विकेट लिए।
शनिबार नै भएको दोस्रो खेलमा सनराइज ११ तिलाठी कोइलाडीलाई ८ विकेटले पराजित गर्दै तिरहुत टाइगर्सले विजयी सुरुवात गर्यो ।
सनराइज ११ तिलाठी कोइलाडीले दिएको १०८ रनको लक्ष्य तिरुहुतले १२ ओभरमा भेट्टायो।
तिरहुतका ओपनर शंकर रानाले अविजित अर्धशतकीय योगदान दिए। रानाले ४० बलमा ७ चौका र २ छक्का प्रहार गरे। बसिर अहमदले २८, निरज यादवले १४ तथा अमित यादवले ११ रन बनाए।
टस जितेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो।
तिलाठी कोइलाडीको लागि रोबिन सिंहले सर्वाधिक २४, प्रकाश मण्डलले २२, साकेत सिंहले १५ तथा राजेश रजकले १४ रन बनाए। तिरहुत टाइगर्सको बलिङमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट तथा बसिर अहमदले २ विकेट लिए। प्लेयर अफ द म्याच घोषित दिपेशले ४ ओभरमा २० तथा बसिरले ४ ओभरमा २३ रन बनाए। अनिल यादव र अभिषेक कार्कीले १/१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत तेस्रो दिन आइतबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र राजविराज राजदेवी ११ तथा दिउँसो १:३० बजेको खेलमा बलान बिहुल सुपर किंग्स र कञ्चनरुप राइनोज प्रतिस्पर्धा गर्नेछन्।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्।
राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।
राष्ट्रिय क्रिकेटरहरु विनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, रासिद खानजस्ता राष्ट्रिय क्रिकेटरहरु विभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।
 
                    










 २०८१ जेठ  १९ गते १९:५१
                        २०८१ जेठ  १९ गते १९:५१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4