
२३ जेठ, नुवाकोट । नेकपा एमाले नुवाकोटको आठौं जिल्ला अधिवेशन सदरमुकाम विदुरमा मंगलबार सुरु भएको थियो ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको अधिवेशनको बन्द सत्र बुधबार बिहानैदेखि सुरु गर्ने कार्यतालिका रहे पनि नेताहरूको विवादको कारण प्रभावित बनेको छ ।
एमाले नुवाकोटको अध्यक्ष बन्न वर्तमान अध्यक्ष बद्री मैनाली र उपाध्यक्ष बुद्धि प्रधानबीच प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष मैनालीलाई पार्टी महासचिव शंकर पोखरेलको साथ रहेको छ भने प्रधानलाई उपाध्यक्ष विष्णु पौडेलको साथ छ ।
मैनालीको पक्षमा नुवाकोटका केन्द्रीय नेताहरू केशव पाण्डे र विन्दा ढुङ्गाना रहेका छन् । प्रधानलाई एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र पूर्वसांसद नारायण खतिवडाको समर्थन छ ।
मैनाली प्यानलबाट उपाध्यक्षमा राजेन्द्ररमण खनाल सचिवमा शिव चित्रकार उपसचिवमा राजेन्द्रप्रसाद पाण्डे, रमेश वस्ती र समर आलेले दाबी गरेका छन् ।
त्यस्तै प्रधान प्यानलबाट उपाध्यक्षमा सुदर्शन नेपाल, सचिवमा नीलकण्ठ आचार्य र उपसचिवमा हरि अधिकारीको दाबी रहेको छ ।
अधिवेशनमा ६११ जना प्रतिनिधिले विद्युतीय मतदान गर्नेछन् ।
प्रतिक्रिया 4