+
+

हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात   

रासस रासस
२०८१ जेठ २७ गते १०:०२

२७ जेठ, म्याग्दी । म्याग्दीका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यस क्षेत्रका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् ।

बेनी नगरपालिका–७ मङ्‍गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष १५ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिए ।

उत्पादित कपडाको अस्ट्रेलिया, जापान, लन्डन, हङकङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग हुने गरेको उनको भनाइ छ ।

विदेशमा रहेका नेपालीको रोजाइमा ढाकाबाट बनेका विभिन्न किसिमका सामग्री पर्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याइ छ ।

स्वदेश तथा विदेशबाट आउने मागअनुसार उत्पादन गर्न नसकिएको भन्दै जिल्लाका अन्य उद्यमीबाट समेत खरिद गरी विदेश पठाउने गरेको उनले बताए ।

पुनले स्वदेशमाभन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीले बढी किन्ने गरेका जानकारी दिए ।

‘माग थेग्नै सकिँदैन, अहिले अल्लो र ढाकाबाट निर्मित सामग्रीलाई बजारको अभाव छैन,’  उनले भने ।

उनले ग्राहकको रोजाइअनुसार ढाकाका कपडा तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताए ।

अठार वर्ष पहिला भकिम्ली हाल बेनी–३ बाट रोजगारीको खोजीमा सदरमुकाम बेनी आएकी पुन जिल्लाकै सफल उद्यमी बनेकी छन् । विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको पुनको भनाइ छ ।

‘विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ, अहिले कोसेली दिन पनि अल्लो र ढाकाकै कपडाबाट बनेका सामग्री प्रयोग हुन्छन्,’ उनले भने ।

पुनले मागअनुसारको उत्पादन नभएपछि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर नयाँ उद्यमीलाई सिप सिकाउँदै आएको जानकारी दिए ।

ढाकासँगै अल्लोका कपडा बिक्री गर्ने पुनले सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निःशुल्क तालिम दिने बताए ।

‘पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु,’ पुनले भने, ‘तानमा बसेपछि समय बितेको पत्तै हुँदैन । अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ ।’

अहिलेसम्म दुई हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण दिएको उनले जानकारी दिए ।

‘जिल्लामा अल्लो र ढाकाका कपडा बुन्न ३० जना उद्यमी सक्रिय छौं । वार्षिक एक करोड रुपैयाँभन्दा बढीका कपडा विदेश निर्यात गरिरहेका छौं,’ उनले भने ।

पुनबाहेक नेकसरा पुन, दिलु घताने, विष्णु गुरुङलगायतले ग्रामीण क्षेत्रका साथै विभिन्न स्थानीय तहमा पुगेर तालिम दिन थालेपछि उद्यमीको संख्या बढेको उद्यमी दिल घतानेले बताए । अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिला आर्थिकरूपमा सम्पन्न हुँदै गएका उनको भनाइ छ ।

महिला उद्यमीका अनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढी विदेशबाटै कमाइ हुने गरेको छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भए पनि अल्लो र ढाकाबाट उत्पादिन वस्तुको माग बढ्दै गएको उनीहरूको भनाइ छ ।

जिल्लास्थित प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले विदेशमा रहेका म्याग्देलीले ढाका र अल्लोका कपडाको बजारीकरण तथा प्रयोगमा सघाइरहेका बताए ।

उनले अल्लोको कोटपाइन्ट, टोपी, सारीको प्रयोग गरी सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने गरिएको जानकारी दिए ।

रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीवासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा प्रयोग गर्न थालेका हुन् ।

‘विदेशमा रहेका म्यादेलीले चाडपर्व र सभासमारोहमा ढाका र अल्लोबाट निर्मित कपडाको पहिरन प्रयोग गर्न थालेकाले यसको माग बढेको हो,’ उद्यमी पुनले भने ।

उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिन्छ । यहाँको कला, सीप र पहिचानलाई अन्तर्राष्ट्रियकरण गरी प्रवर्द्धन गर्न मोनाले सघाएको उद्यमीहरुले बताएका छन् ।

एक मिटर ढाका र अल्लोको कपडालाई छ सय रुपैयाँदेखि एक हजार रुपैयाँ पर्दछ । एक जनाले एक दिनमा एक मिटरसम्म कपडा बुन्न सक्छन् । पहिला सादा कपडा बुन्दै आएका उद्यमीले पछिल्लो समय ग्राहकको मागअनुसार रङ्गीन र बुट्टेदार कपडासमेत बनाउन थालेका छन् ।

उद्यमीहरूलाई लघुउद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग विकास समिति, वन डिभिजन कार्यालय, गरिबी निवारण कोषलगायत निकायले सीपमूलक तालिम, औजार र प्रविधिको सहयोग गरिरहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?