+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बर्दिवास हात्तीलेटमा ओभरहेड ट्यांकी, स्थानीय भन्छन् : मध्यरातमा अब गाग्री बोकेर इनारतिर जानु पर्दैन

रासस रासस
२०८१ जेठ २९ गते १२:४३

२९ जेठ, महोत्तरी, २९ जेठ । महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहाँ खानेपानी संकलन गर्न ट्यांकी निर्माण भइसकेको छ ।

पानी वितरणका लागि पाइप ओछ्याइन थालिएपछि यहाँका बासिन्दामा खानेपानीको संकट समाधान हुन लागेको हो । बस्तीमा सरकारको तराई मधेस खानेपानी योजनाअन्तर्गत एक करोड ५० लाख रुपैयाँको अनुदान सहयोगमा ‘ओभरहेड ट्यांकी’ निर्माण भएको हो ।

‘अब खानेपानी पाइने आशा जागेको छ’, हात्तीलेटको सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि रानाले भने, ‘ अब खानेपानीका लागि संकट झेल्नु पर्दैन ।’

योजनाको ओभरहेड, कार्यालय भवन, चौतर्फी पर्खाल र बोरिङ जडानलगायतका काम भएपछि अहिले धमाधम पाइप ओछ्याउने र धारा जडानको काम थालिएको अध्यक्ष रानाले बताए । पाइप ओछ्याउने र धारा जडानसहितका काममा मधेश सरकार र बर्दिबास नगरपालिकाको साथ संस्थाले पाएको छ ।

योजनाको ५ सय घरमा धारा पुर्‍याउने लक्ष्य छ । यसअनुसार अघि बढेको काममा अब आउने असार दोस्रो साताभित्रै ३ सय ५० घरका धारामा पानी झर्ने संस्थाले जनाएको छ । योजनाअन्तर्गत ४ किलोमिटरभन्दा बढी पाइप ओछ्याइसकिएको रानाले जानकारी दिए । अहिले विद्युत् र धारा जडानको काम धमाधम भइरहेको छ ।

नगरक्षेत्रमा खानेपानीको संकट झेल्नुपरेका बेला हात्तीलेटको कामले अन्य ठाउँका लागि सिकाइ हुने बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउँछन् । ‘हामी (नगरपालिका) नगरक्षेत्रका घरघरै धारा जडान गर्ने अभियानमा छौँ, ‘एक घर एक धारा’ हाम्रो अभियानको नारा हो’, नगरप्रमुख क्षेत्रीले भने, ‘सबै नगरवासीले स्वच्छ खानेपानी सहज रूपमा पाउने व्यवस्थाका लागि हामी प्रतिबद्ध भएर काममा लागेका छौँ ।’

जिल्लामा पानीका स्रोतका मुहान धमाधम सुक्दैछन् । यसरी जमिनमुनिको पानीको सतह गहिरिँदै जाँदा कैयन इनार र बोरिङ एकपछि अर्को सुक्दै जाँदा पछिल्लो दशकमा हात्तीलेटवासीले खानेपानी जुटाउन निकै सास्ती व्यहोर्दै आएका छन् ।

यो अभावका बीच ५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी निर्माणले हात्तीलेटवासीमा पानीको संकट टर्ने नयाँ आशा पलाएको बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामा बताउँछन् ।

पानीका लागि ६०–७० फिट गहिरो इनारबाट पालो पर्खेर पानी तान्नुपरेको विद्यमान दुःख अन्त्य हुने जनाइएको छ । धनमाया बलम्पाकीले भनिन्, ‘अब भने नयाँ धारा चलेपछि मध्यरातमै डोल, गाग्री बोकेर इनारतिर जानु पर्दैन । ‘

योजनाबाट दुई हजारभन्दा बढी यहाँका बासिन्दा लाभान्वित हुने सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था हात्तीलेटले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?