
काठमाडौं । बैंकर राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ ।
पूर्वमन्त्री शरतसिंह भण्डारी, सांसद प्राडा चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकूलपति डा. लोकविक्रम थापा र खेमबहादुर रायमाझीले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका हुन् । लेखक भण्डारीसँग २६ वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभव छ ।
बैंकिङ क्षेत्रमा काम गर्दाको रोचक र महत्त्वपूर्ण घटनाक्रमलाई उनले पुस्तकमा समेटेका छन् । नेपालको बैंकिङ क्षेत्रको महत्त्वपूर्ण कालखण्डको साक्षीको रूपमा यो पुस्तकलाई लिन सकिन्छ ।
मिनेट मिडियाले बजारमा ल्याएको यस पुस्तकमा मौद्रिक/वित्तीय तथा बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापनका विद्यार्थी, उद्यमशील युवा वा आम पाठकले आफूलाई पाउने विश्वास प्रकाशकको छ ।
प्रकाशक प्रकाश रिमालका अनुसार पुस्तक आमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’ भन्दा फरक रहेको छ । किनकि, यसमा लेखकले आफूलाई ‘हिरो’ वा नायकका रूपमा मात्र प्रस्तुत गर्दैनन्, बरू कमजोरीको पनि खुलेर चर्चा गर्छन् ।
सामान्यतः समाजमा पारिवारिक कलह ढाकछोप गर्ने गरिन्छ तर लेखक भण्डारीका हकमा यी कयौँ ‘नियम’ लागु नहुने उनी बताउँछन् ।
पूर्वमन्त्री भण्डारीले यस कृतिलाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिएका छन् भने पूर्वगभर्नर डा. रावलले लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको बताए ।
१३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानी शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका छात्रछात्राको शिक्षामा खर्च गरिने प्रकाशकको भनाइ छ ।
प्रतिक्रिया 4