 
																			१७ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको ४८औं दिनमा सोमबार पत्रकार सम्मेलन आयोजना गरे ।
त्यस क्रममा उनले ठूला सरकारी अस्पतालमा ब्यापक बेथिती रहेको उदाहरण पेश गरे, स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न नसकेको स्वीकार गरे, अस्पतालको सेवा सुधार गर्न नसकेको पनि बताए ।
निजी अस्पतालले गरिब र विपन्नलाई बेड नि:शुल्क नदिएको, नर्सलाई न्युन तलबमा काम लगाएको पनि सुनाए तर त्यसमा सुधार गर्न नसकेकोमा निरीहता प्रस्तुत गरे ।
३१ वैशाखमा मन्त्री बनेसँगै उनले अधिकांश केन्द्रीय अस्पताल र उपत्यका बाहिरका केही अस्पतालको अनुगमन, निरीक्षण गरे । अस्पतालको दृश्य देख्दा आँसु खसेको सुनाउँदै उनले बिरामीले भोग्नुपरेको समस्याबारे जानकारी गराए ।
‘दुर्गम क्षेत्रबाट बिरामी आउनुहुन्छ तर अस्पतालमा बेड हुन्न । दुईवटा औषधि लिन घण्टौं लाइन बस्नुपर्छ, शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्छ । अस्पतालमा सेवा लिन नेतालाई भनसुन गर्नुपर्छ’, उनले भने ।
मुलुकको जेठो वीर अस्पतालको अनुगमनका क्रममा आकस्मिक कक्षमा एउटा बेडमा तीन जना बिरामी सुताएको दृश्य देखेको मन्त्री यादवले बताए ।
‘वीर अस्पतालमा बिरामी राखेका बेड थोत्रा र काम नलाग्ने खालका छन् । मिर्गौला डायलाइसिस गरिराखेका बिरामीको सास्ती छुट्टै छ’, यादवले अस्पताल देखिएको दृश्यबारे भने, ‘पुरुष र महिला बिरामी सँगै सुताइएको छ ।’
वीर अस्पतालमा १५ वटा अप्रेशन थियटर छन् । तर जनशक्ति अभावका कारण केही अप्रेशन थियटर सञ्चालन हुन सकेको छैन ।
शल्यक्रियाका लागि वीरमा लामो समय पर्खिनुपरेको गुनासो रहेको र त्यसलाई हल गर्नका लागि २४ घण्टा अप्रेशन थियटर सञ्चालन गर्न सकिने यादवले बताए ।
‘अनुगमनमा जाँदा वास्तविक दृश्य देखेको छु । सेवाग्राहीसँग कुरा गरेको छु’, भरतपुर अस्पतालबारे मन्त्री यादवले भने, ‘एक जना महिला फार्मेसीमा लाइन लाग्दा उभिन नसकेर भुँइमा बस्नुभएको थियो । यस्तो छ देशको स्वास्थ्य प्रणाली ।’
अस्पतालमा बिरामीले भोग्नुपरेको सास्ती समाधान गर्न मन्त्रालयबाट अतिरिक्त सचिवको नेतृत्वमा अध्ययन गरेर रिपोर्ट दिन निर्देशन दिएको मन्त्री यादवले बताए ।
१४ जेठमा अनुगमन गरेपछि वीर अस्पतालको आकस्मिक कक्ष नयाँ भवनमा सार्न निर्देश्न दिएको तर खरिद प्रक्रियाका कानुनी व्यवस्थाका कारण केही समय लाग्ने मन्त्री यादवले जानकारी दिए ।
९२ हजार जनशक्तिलाई स्थायीमा राख्न जरूरी छैन
स्वास्थ्य क्षेत्रमा तीन दशकदेखिको प्रमुख समस्या जनशक्ति अभाव हो । बर्षौंदेखि हरेक नयाँ मन्त्रीले जनशक्ति थप गर्न पहल गरिरहेको दाबी गर्छन् । तर कसैले पनि थप स्थायी दरबन्दी स्वीकृत गर्न सकेका छैनन् ।
मन्त्री यादवले पनि सोमबार जनशक्ति थप गर्न लागेको दाबी गरे । आफूले ९२ हजार स्वास्थ्य जनशक्ति थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको उनले बताए । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुरा गरेको मन्त्री यादवको भनाइ छ । ‘उहाँले ९२ हजार दरबन्दी थप गर्न सक्दैनौैं । बजेटको कुरा पनि हेर्नुपर्छ । तर अलि कम गरौं भन्नुभएको छ’, मन्त्री यादवले भने ।
यादवले ६० हजार दरबन्दी थप गर्न सक्दा स्वास्थ्य क्षेत्रले केही फड्को मार्न सक्ने तर्क गरे । स्वास्थ्यमा आवश्यक ९२ हजार जनशक्तिमध्ये सबै स्थायीमा राख्न जरुरी नभएको पनि उनको भनाइ छ ।
‘मानौं ९२ हजार जनाकै दरबन्दी स्वीकृत भयो । सबै स्थायीमा राख्न जरूरी छ ?’ उनले प्रश्न गरे, ‘कति स्थायी गर्ने कति करारमा राख्ने मापन गरौं ।’
निजीले निःशुल्क बेड दिएनन्
निजी स्वास्थ्य संस्थाले अझैसम्म गरिब तथा विपन्न बर्गका लागि १० प्रतिशत बेड निशुल्क नदिएको मन्त्री यादवले बताए ।
‘निजी अस्पतालका सञ्चालक १० प्रतिशत बेडको शुल्क मात्रै निःशुल्क भनिरहनुभएको छ । राज्यले फेरि त्यस बेडमा रहेका विपन्न तथा गरिब वर्गको उपचार सम्पूर्ण निःशुल्क भनेर भनिरहेको छ’, यादवले प्रश्न गरे, ‘निजी अस्पतालमा सेवाग्राही उपचार गर्न जाँदा त्यसको लाभ लिए वा लिएन । जनता ठगिइरहेका छन् । त्यसको मन्त्रालय अनुगमन गर्यो कि गरेन ?’ आफूले जति भाषण गरे पनि जनता स्वास्थ्य सेवाबाट निराश भइरहेको उनले बताए ।
निजी अस्पतालहरुले न्यून पारिश्रमिकमा नर्सहरुलाई काम लगाएको गुनासो आएको पनि मन्त्री यादवले बताए । ‘निजी अस्पतालमा १३÷१४ हजारमा नर्सलाई काम लगाइरहेका छन् । १२ ÷१४ घण्टा दैनिक ड्युटी गरिरहेका छन्’, यादवले भने, ‘अहिले नेपालमा केही सम्भावना नदेखेर नर्स तथा स्वास्थ्यकर्मी विदेश जाने टे्रण्ड बढिरहेको छ ।’
तर आफूले यसमा केही गर्न नसकेको निरीहता पनि मन्त्री यादवले पेश गरे ।
‘मन्त्री बनेर आएपछि सबैको तलब दोब्बर गरिदिउँ भन्ने मेरो इच्छा हो । निजीमा काम गर्न नदिउँ मेरो इच्छा हो । इच्छाले मात्रै हुँदो रहेनछ’, मन्त्री यादवले भने, ‘देशको बजेटको अवस्था पनि हेनुपर्यो नि !’
साउनमा व्यापक सरुवा हुँदैछ
मन्त्री यादवले आफ्नो कामको परिणाम साउनपछि मात्र आउने बताए । उनले लामो समयदेखि एकै निकायमा रहेका कर्मचारी साउनमा सरुवा गर्ने बताए ।
‘साउनमा व्यापक सरुवा हुँदैछ । मन्त्रालय तथा विभागमा लामो समय एक ठाउँमा रहेकाहरुलाई परिवर्तन गर्दैछु । एक व्यक्तिलाई मात्रै सधैंभरि एक ठाउँमा अवसर दिनु अरुका लागि न्यायसंगत हुदैन, त्यसैले अत्यावश्यक र नभई–नहुने अवस्थाबाहेक सबैको जिम्मेवारी परिवर्तन गर्ने हो’, मन्त्री यादवले भने ।
उनले कोहीलाई दोहोरो जिम्मेवारी र कोहीलाई फाजिलमा राख्ने प्रवृत्तिसमेत गलत भन्दै त्यसलाई सच्याउने दाबी गरे ।
सिंहदरबार वैद्यखानालाई पुरानै स्वरूपमा फर्काउने, राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नती, देशका ठूला सरकारी अस्पतालमा उपकरण थप लगायतका काम गरिरहेको उनले दाबी गरे ।
‘धेरै कामको रिपोर्ट असार अन्तिममा नै आउँछ । थप सुधारका लागि साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन’, उनले दाबी गरे ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4