 
																			असार १२ गते रास्वपा महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन र सार्वजनिक भएका केही विषयले रास्वपा भित्र र बाहिर पनि तरङ्ग ल्याएको छ। र बाहिर पनि तरङ्ग ल्याएको छ । प्रतिवेदनका मूल विषय सार्वजनिक गरेको विषयमा सामाजिक सञ्जालमा ध्रुवीकरण सिर्जना भएको छ। यो ध्रुवीकरणलाई सकारात्मक, नकारात्मक र स्वाभाविक जसरी पनि लिन सकिन्छ, लिइएको छ। धेरैले भनेका छन्- महामन्त्री ढकालले ठिक गरे, एक दिन यस्तो हुनु नै थियो, पार्टीले गरेको निरन्तर गल्तीको कारण निराश बनेका पार्टी सदस्य, शुभेच्छुक र मतदातामा आशाको सञ्चार भएको छ।
केही विचार आएका छन्- महामन्त्रीले भने जस्तो पार्टी बिरामी छैन। महामन्त्रीले अफवाह फैलाएर शुभेच्छुक, सदस्य र मतदाताको मनोबल गिराउने काम गरे। प्रतिवेदनको पृष्ठभूमि वा स्रोत के हो ? यसको अन्तर्यमा गयो भने विषय बुझ्न अलि सहज हुनेछ। सर्वप्रथमतः यो प्रतिवेदन कुनै रिसोर्टमा बसेर एक व्यक्तिले सम्झे, सोचेर लेखेको होइन। र यो महामन्त्रीको निजी वा मौलिक विचार पनि होइन। यसमा स्पष्ट हुनुपर्दछ।
 महामन्त्रीले प्रतिवेदन बुझाउनुअघि नै पंक्तिकारले रास्वपा स्थापना दिवसको सन्दर्भ पारेर सरकारका सय दिन र रास्वपाको जोखिमी यात्रा बारे समीक्षा गरेको थिएँ। त्यसमा महामन्त्रीले उल्लेख गरे जस्तै कतिपय ठ्याक्कै उही र उस्तै विषय छन्। हाम्रो समीक्षाको पृष्ठभूमि इलाम चुनावपछिको झापा, मोरङ, सुनसरी र इलामका रास्वपा नेता, सदस्य, मतदाता र शुभेच्छुकको विचार र महामन्त्रीको समीक्षा यात्रामा उठेका विचार प्रमुख थिए।
महामन्त्रीले प्रतिवेदन बुझाउनुअघि नै पंक्तिकारले रास्वपा स्थापना दिवसको सन्दर्भ पारेर सरकारका सय दिन र रास्वपाको जोखिमी यात्रा बारे समीक्षा गरेको थिएँ। त्यसमा महामन्त्रीले उल्लेख गरे जस्तै कतिपय ठ्याक्कै उही र उस्तै विषय छन्। हाम्रो समीक्षाको पृष्ठभूमि इलाम चुनावपछिको झापा, मोरङ, सुनसरी र इलामका रास्वपा नेता, सदस्य, मतदाता र शुभेच्छुकको विचार र महामन्त्रीको समीक्षा यात्रामा उठेका विचार प्रमुख थिए।
रास्वपा सचिवालयको निर्देशन अनुसार ३२ जिल्लाको ४९ स्थानमध्ये जेठ १३ र १५ गते झापाको बिर्तामोड, दमक, भद्रपुर र मेची गरेर ४ स्थानमा महामन्त्री ढकालले समीक्षा गरेका थिए। महामन्त्रीको समीक्षा व्यानर कालो पृष्ठभूमिमा झण्डै इन्द्रेणी रङमाथि कालो घण्टी र सेता अक्षरहरू सहितको एक सुन्दर पुस्तकको कभर जस्तो धेरैले याद नगरेको बिम्बात्मक थियो। नीलो रङको पृष्ठभूमिमा सेतो अक्षर लेखिने रास्वपाको नियमित व्यानरभन्दा फरक र नौलो थियो।
एउटा निश्चित विद्रोह वा फरक सोच प्रतिविम्बित भएको व्यानरमा ४ वटा प्रश्नहरू लेखिएका थिए— हामीले कहाँ गल्ती गर्यौं ? कहाँ सही गर्यौं ? के गर्नु हुन्न ? अब के गर्नुपर्छ ? इलाम उपनिर्वाचन सहित यिनै विषयमा निर्मम समीक्षा भएको थियो।
महामन्त्री आउनु अघि इलाम चुनाव र समग्र पार्टीका विषयमा औपचारिक, अनौपचारिक थुप्रै समीक्षा भएका थिए। झापाका पन्ध्रवटै पालिकाले संयुक्त रूपमा पार्टीप्रति साझा समीक्षा गरेको थियो। जुन लिखित रूपमा महामन्त्रीलाई बुझायो।
महामन्त्रीको समीक्षा यात्रामा उपस्थित पार्टी सदस्य, स्थानीय नेताहरूले शुभेच्छुक र आम सदस्यको धारणा समेटेर निर्मम प्रश्न, आरोप, आक्रोश र निराशा व्यक्त गरेका थिए। र सुखद संयोग के थियो भने उपस्थित सबैको विचार एकै थियो।
पार्टीले पाएको मत खबरदारीका लागि थियो सरकारका लागि थिएन, सरकारमा गए पनि बोलेको कुरा पूरा गर्न सकेन, सहकारीको भ्रम चिर्न आफूमाथि छानबिन गर भन्न सकेनन्, सरकारमा गएपछि संसद्मा फितलो प्रस्तुति भयो, दूध किसानका समस्या सुनुवाइ नभएको, सांसद र केन्द्रीय नेताहरूले स्थानीय नेता र नागरिकसँग भन्दा अन्यत्रै सम्बन्ध बनाएको, जनताका समस्याहरू सुनुवाइ नभएको, जन अपेक्षा अनुसार सांसद र नेताहरूको आचरण, व्यवहार र जीवनशैली अनुकरणीय नदेखिएको, सांसदहरू महङ्गा र चाकडीप्रिय भएका हुन् ?
सबै तहका पार्टी नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्ने। केन्द्रले आफूबाहेक अरूलाई जान्ने नठानेका कारण देशव्यापी ग्राउण्डमा काम गर्नेसँग छलफल नगरी पटक–पटक विधान संशोधन वा संरचना परिवर्तन गर्ने गरेको, नो नट अगेनसँग अँगालो हाल्नुको सट्टा, बालेन शाह, गोपी हमाल एवं त्यस्तै व्यक्ति र शक्तिसँग सहकार्य वा एकता गर्नुपर्ने, प्रदेश खारेज गर्नुपर्ने लगायत थुप्रै विषय अभिव्यक्त भएका थिए।
ल्याटरल इण्ट्रीका नाममा कतै नभेटिने महापुरुष खोज्ने कि आफ्नै संगठनमा असल मान्छे उत्पादन गर्ने, इलाम उपनिर्वाचनमा अघिल्लो दिनसम्म रास्वपालाई गाली गरिरहेको व्यक्तिलाई नै उम्मेदवार बनाएर नारा अनुसार जान्नेलाई छान्न नसकेको, अब जान्नेलाई होइन चरित्रवान् र इमानदारलाई छान्नुपर्ने, संगठन निर्माण, नेतृत्व प्रदान र उम्मेदवारी छनोटमा मापदण्ड नभएकाले पुराना दलका भोट किनबेचका व्यापारीहरूको समेत प्रवेश र अवसरले पार्टी डम्पिङसाइट बन्दै गएको, जसले जे गल्ती गरे पनि कारबाही गर्न नसक्ने अनुशासन आयोगको औचित्य नभएको।
प्रहरीको सरुवा–बढुवामा प्रश्न उठिरहेकै छन्, सिडियो र प्रहरी प्रशासनको व्यवहार र आचरणमा परिवर्तन छैन, आफैंले बोले अनुसार जीबी राई नसमातिंदा रवि लामिछाने नै दोषी त होइन ? भन्ने शंका उत्पन्न हुन थालेको छ, तसर्थ “सरकारमा रवि” फ्लप भयो “गाउँबस्तीमा रवि” शुरू गरौं सुपरहिट हुन्छ। समीक्षा भएका सबै जिल्लामा यी र यस्तै प्रश्न र सुझावहरू अभिव्यक्त भए।
तैपनि आफ्ना सुझाव केन्द्रसम्म नपुग्ला भन्ने चिन्ता व्याप्त थियो। यदि जनताको विचार पार्टीसमक्ष पुगेन वा सुनुवाइ भएन भने के गर्ने ? हूल बाँधेर काठमाडौं जाने र सभापतिसँग समीक्षा गर्ने भनेर अनौपचारिक सल्लाह समेत भएको थियो। त्यसकारण महामन्त्रीको प्रतिवेदन धरातलबाट आएको पार्टीको अक्सिजन हो भन्ने बुझ्न धेरै सोचिरहनुपर्दैन।
दोस्रो, प्रतिवेदन सभापतिलाई बुझाएकै थियो। सभापति र नेताहरूले अध्ययन गरेर केन्द्रीय समितिमा निर्णय गरेपछि मात्रै सार्वजनिक गरेको भए हुने, पार्टीको आन्तरिक विषय यसरी छताछुल्ल गर्नु हुने थिएन। यो मत पनि स्वाभाविक सुनिन्छ।
तर प्रतिवेदनको मूलभूत कुरा पार्टीले सिर्जना गरेको रणनीतिक वा पार्टीबाहेक अरूलाई थाहा नपाएको कुनै आन्तरिक विषय होइन। बरू यसको उल्टो पार्टीको केन्द्रलाई थाहा नभएको तर केन्द्रबाहेक सबैलाई थाहा भएको पार्टीभित्र अङ्कुराउन थालेको विकृत विषय थियो। र पार्टी सदस्य, स्थानीय नेता, मतदाता र शुभेच्छुकले बारम्बार उठाएका विषय थिए। यस्ता विषय कोबाट लुकाउनु थियो र आन्तरिक हुन्छ ?
गाउँघर, मेलापात, चियागफ, चौतारी, जन्ती, मलामी जता पनि व्यक्त भएको चिन्ता भएकाले यसको सार्वजनिकीकरणले आम चिन्ता र निराशालाई आशामा रूपान्तरण गरेको छ। बरू त्यो सार्वजनिकीकरणमाथि नकारात्मक प्रहार गरियो भने वा प्रतिवेदनको हृदय अनुसार निर्णय गरिएन भने जमिनीतहमा चिन्ता थपिनेछ।
कोही आइदिए, हाम्रा कुरा सुनिदिए र सच्चिदिए हुनेथियो भन्ने आशमा बसेका आम रास्वपाकर्मीले महामन्त्रीको समीक्षाबाट राहत महसुस गरेका थिए। र अहिले महामन्त्रीको प्रतिवेदनपछि मनमा दीप प्रज्ज्वलन गरेका छन्। पार्टी बिग्रिने हो कि ? भन्ने चिन्ता अब पार्टी सप्रिनेछ भन्ने लाइनमा रूपान्तरण भएको छ। “मुकुलले मुलुकको कुरो बोल्यो, मनको कुरा बोल्यो” खेतीपातीमा व्यस्त किसानहरूमा चर्चा छ। सर्वेक्षण गरे देखिन्छ।
त्यसोभए मुकुलप्रति कतिपय निर्मम आलोचना कताबाट किन आइरहेका छन् ? प्रश्न उठ्नसक्छ। एकातिर महामन्त्रीसँग व्यक्तिगत सम्बन्ध टुटेका, सम्बन्ध बन्न नसकेका र उहाँको व्यक्तिगत शैलीका कारण रुष्ट बनेका विभिन्न तहका रास्वपाकर्मीले सांगठनिक भन्दा व्यक्तिगत लाभहानिबाट प्रभावित भएर आलोचना गरेको देखिन्छ भने, कतिपयले केन्द्रीय समितिमा निर्णय गराएर महामन्त्री आफैंले सार्वजनिक गरेको भए उत्तम हुनेथियो भनेर निरपेक्ष विचार राखेको पनि देखिन्छ। ३२ पेजको प्रतिवेदनको केही मुख्य कुरा बाहेक धेरै कुरा गोप्य नै रहेको महामन्त्री ढकालको स्पष्टीकरण छ।
कतिपयको तर्क छ हामी पुरानाहरूले गरेको राजनीतिक संस्कारबाट दीक्षित भएका कारण उनीहरूले जस्तै सबै कुरा लुकाउनुपर्छ भन्ने ज्ञानले गाइड गरेको छ त्यसैले आफ्नै प्रतिवेदनको सार पस्किंदा महामन्त्रीलाई गलत भनिरहेका छौं। बरू मुकुल ढकालकै सिको गरेर कुनै पनि समितिका प्रतिवेदनका मूल अंश यसैगरी संकेत गरिदिए मात्रै सार्वजनिक हुन बाध्य भई कार्यान्वयन हुनेछन्।
पार्टी स्थापनाको उद्देश्य र आफ्नो वचनको लिक छाड्दा वा पालना नगर्दाको परिणाम इलाम उपनिर्वचनले देखाएकै हो। उपनिर्वाचन नआई एकैपटक २०८४ आएको भए के हालत हुनेथियो ? सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसँग दमक समीक्षामा प्रश्नहरू गरिएकै हुन्।
पार्टी बिरामी परेको कम्युनिकेशन डिजिजले हो वा ननकम्युनिकेशन डिजिजले भन्ने स्पष्ट हुन बाँकी छ। तर यसले उब्जाएको मूल प्रश्न के हो भने पार्टीलाई रोगको यात्रा गराउने मुख्य सारथि को को हुन् ? यो प्रश्नको जवाफ खोज्नुअघि मुकुल ढकालको त्यागको कुरा गरौं।
मुकुल ढकालले रासकोट अस्पताल र पार्टी निर्माणमा रवि लामिछानेलाई घच्घच्याउने मान्छे म आफैं हुँ भनेका छन् कुनै सन्दर्भमा। पार्टी स्थापना गरेर पार्टीका सभापति, उपसभापति र अरू धेरैलाई सांसद बनाउन अहं भूमिका निर्वाह गरे, चाहेका भए समानुपातिकबाट सांसद र मन्त्री बन्न उनलाई कसैले रोक्न सक्दैनथ्यो। तर त्यसो गरेनन्। बरू आफ्नो सम्पूर्ण क्षमता र समय पार्टीमा लगाए। यसर्थ पार्टी, सांसद र ४ मन्त्रीका एक मुख्य सारथि उनी आफू पनि हुन्।
केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीका सबैजसो महत्वपूर्ण निर्णय महामन्त्रीले नै गराएका छन्। आफ्ना नजिकका दुई जनालाई सांसद बनाउन समानुपातिक सूचीमा अगाडि रहेका दीपक बोहोरा र आफूलाई पन्छाएका हुन् भनेर संगीन आरोप पनि लगाएका थिए उसैबेला।
२०७९ का पराजित उम्मेदवारहरूको आरोप छ पार्टी बन्ला नबन्ला, आजको अवस्था आउला नआउला कुनै सम्भावना नहुँदै पनि साथ दिएका आफूहरूलाई सम्मानपूर्वक संगठन निर्माणमा लगाउनुपर्थ्यो। तर महामन्त्रीले आफूहरूमाथि अपमानजनक अभिव्यक्ति दिएर पाखा लगाए।
यसर्थ जस र अपजस स्वीकार्दै आफूलाई पनि सच्याएर लैजानुपर्छ भन्ने सोचबाट प्रतिवेदन र अभिव्यक्ति आएको हो भने जसरी आज उनको तारिफ भएको छ, कद अग्लिएको छ, अझ त्यो चुलिने छ। र समयले होनहार र साहसी नेताको रूपमा स्थापित गर्नेछ मुकुल ढकाललाई। अन्यथा अरूलाई दोष थुपारेर आफू पन्छिने रोग हो भने पुरानै संस्कारको निरन्तरता मात्रै हुनेछ। पार्टीको शल्यक्रिया त के प्राथमिक उपचार समेत सम्भव नहुन सक्छ।
लेखक रास्वपाका नेता हुन्।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4