+
+

शहरको एउटा कथा

गुम्बामा लामा बन्नका लागि भर्ना भएर १५–१६ वर्ष पढेर निस्केका पूर्व–मंक पठाओ क्याप्टेनसँगको संवाद रोचक रह्यो । यात्रीलाई नमस्ते गर्ने उनी मैले भेटेको पहिलो पठाओ क्याप्टेन थिए ।

रोशन शेरचन रोशन शेरचन
२०८१ असार २२ गते १९:३७

छोरीलाई आन्तरिक टर्मिनलको प्रस्थान गेटबाट बिदा गरेपछि पठाओ एप्समा बाइकलाई अनुरोध पठाउँछु र आगमन द्वारको पार्किङतिर लाग्छु । केहीबेरमै मोबाइलमा कल आउँछ । पठाओ क्याप्टेनको रहेछ । आफू आगमन पार्किङमा भएको बताउँछु ।

एउटा बाइक आगमन द्वारनेर रोकिन्छ र दायाँबायाँ हेर्छ । मेरो दृष्टि आगमन द्वारतिरै छ । कल गर्छु, उनले उठाउँछन् । ‘पार्किङतिर हेर्नुस् त !’ क्याप्टेन पार्किङतिर दृष्टि फ्याँक्छन् । म हात उचाल्छु ताकि चिनुन् नत्र मान्छेको भीडमा यात्रु ठम्याउन कठिन हुन्छ ।

बाइक नजिक आई रोकिन्छ । ‘नमस्ते’, मुस्कुराउँदै उनी भन्छन् । गन्तव्यबारे बताउन के थालेको हुन्छु, उनी थप्छन्– ‘तपाईंले भन्नुस्, म त्यही अनुसार लग्छु । म नयाँ हो ।’ असजिलो नमानी आफू नयाँ भएको बताउँछन् । आजभोलि कसले आफू नयाँ भएको भन्छ र ? क्याप्टेन भिन्न लाग्यो ।

एयरपोर्टको मुख्य प्रवेशद्वारबाट दायाँ मोडिन संकेत गर्छु । उनी मोबाइल एप हेर्नतिर भन्दा मेरो संकेत नै कुरिरहेको जस्तो लाग्छ ।

काठमाडौंमा सयौं पटक पठाओ चढियो तर पठाओ क्याप्टेनले मुस्कुराउँदै ‘नमस्ते’ भनेको पहिलो पटक सुनेको थिएँ । अस्वाभाविक लाग्यो । शहरको निरपेक्षता र शुष्कतामा अभ्यस्त भइसकेपछि कसैको न्यानोपन पनि अस्वाभाविक लाग्दोरहेछ ।

अस्वाभाविकताले कौतूहल जगायो । कुरा गर्न सुर कसें । तिलगंगा अस्पताल कट्नलाग्दा पहिलो प्रश्न सोधें । बाइकको मध्यम गतिले कुराकानीमा बाधा भएन ।

पठाओ चलाउनुपूर्व उनको जीवनमा अर्कै दुनियाँ रहेछ– मंक दुनियाँ । लामा बन्ने सपना बोकेका उनी सानै उमेरमा गुम्बामा भर्ना भएछन् ।

झण्डै १५–१६ वर्ष गुम्बामा लामा विद्या पढेपछि उच्च शिक्षाको निम्ति भारत जानुपर्ने तर त्यसपछि जीवनले कल्पनै नगरेको मोड लिएछ । भएछ के भन्दा, भारतको पाँच वर्षे कोर्स पूरा नहुन्जेल घर आउन नपाउने रहेछ तसर्थ भारत जानुअघि गुम्बाले दुई महिनाको लामो बिदा दिंदो रहेछ ।

उनी बताउँदै थिए– ‘म बिदामा घर गएँ । साथमा गुम्बामा पढ्ने गाउँकै साथीहरू थिए । साथीहरूको लहलहैमा बिदापछि गुम्बामा हाजिर भइनँ । भारत छुट्यो ।’

गौशाला चोकमा रातो सिंग्नलले बाइक हठात् रोकियो । बाइक अडिएकोले प्रश्न सोध्न सजिलो भएको थियो ।

‘साथीहरूको कस्तो लहलहैमा ?’

‘भारतको पढाइ कडा छ, धेरै दुःख पाइन्छ भनेर साथीहरूले भने । मैले पनि पत्याएँ । पाँच–पाँच वर्ष घर छाड्नु छ, त्यसमाथि अरूको कडा व्यवहार सहने । मनमा नजाने विचार आयो । विदा सकिएपछि म गुम्बा फर्किनँ । २४–२५ वर्षे उमेरमा राम्ररी सोच्न नसकिंदो रहेछ ।’ पछिल्लो वाक्यको नेपथ्यमा पश्चात्ताप देखें ।

‘भारत नगएकोमा पश्चात्ताप लाग्छ ?’ मैले तीर ठोकें ।

क्याप्टेन कूटनीतिज्ञ जस्तो रहेछन्, सरल प्रश्नको सोझो जवाफ दिएनन् । जवाफको निचोड निकाल्न कठिन पर्‍यो । उनले भनेका थिए– ‘गुम्बाको जीवन कठिन भए पनि सबै जिम्मा मोनाष्ट्रीले लिन्छ । कठोर अनुशासनमा दिनचर्या बिताउनुपर्छ । गुरुहरूले हामीलाई हरेक कुरा सिकाउने, सम्झाउने गर्छन्, बाआमा जसरी । खानको दुःख छैन त्यहाँ । यो संसारमा (गुम्बा बाहिर) धेरै दुःख छ तर स्वतन्त्रता पनि छ ।’

‘खानको दुःख’ उनले जोड दिएको त्यो शब्दले धेरै दिशातर्फ संकेत गरिरहेको थियो । नेपाल लगायतका अल्पविकसित देशहरूमा खाद्य सुरक्षा अधिकांश नागरिकको सपना हो । खाद्य सुरक्षाकै निम्ति हामी देशभित्र मात्र होइन, विश्वकै कुनाकाप्चामा हन्डर खाइरहन्छौं ।

पठाओ कार्यालयबाट अनुमति लिएपछि उनी एक लाख नब्बे हजार बाइक लाइसेन्सधारी क्याप्टेनमध्ये एक बनेका थिए र काठमाडौं उपत्यकामा साँझ, बिहान, बेलुकी यात्रु ओसार्ने कर्ममा होमिएका थिए । वर्तमान समयमा शहरको एउटा कथा पठाओको दुनियाँमा बग्रेल्ती भेटिन्छ ।

हिमाली बासिन्दाको त झन् के कुरा ? भौगोलिक दुर्गमता, न्यून सडक सञ्जाल, खेतीयोग्य जमीनको अभाव, सीमित कृषि–अनुकूल मौसम, हिमपहिरो, पहिरो र सीमित आर्थिक गतिविधिले खाद्य असुरक्षाको चुनौती त्यहाँको हिमचुली जस्तै अग्लो छ ।

खानको लागि गरेको मिहिनेत पठाओ क्याप्टेनको रूपमा उनले अँगालेको संघर्षपूर्ण जीवनमा देख्न सकिन्थ्यो । तर, स्वतन्त्रताको कुरा निकालेर उनी ‘यो जीवन पनि अच्छा छ’ भनिरहेका थिए । के स्वतन्त्रता खोसिने डरले उनी भारत नगएका हुन् ? के स्वतन्त्रताकै कारण, उनले यो संसार रोजे ? म घनचक्करमा परें । चियापसलमा भएको भए विस्तृतमा बातचित गर्न मिल्थ्यो तर हामी त बाइकमा बसेर वार्तालाप गरिरहेका थियौं ।

हरियो सिंग्नल बलेपछि बाइक अघि बढ्यो र घनचक्करबाट मलाई मुक्त गर्‍यो । पठाओ ओरालो लाग्यो, रातो पुलतर्फ । म पढ्न थालें सडकको दुवैतर्फ देखिएका बोर्डहरू– लालबन्दी मिट शप, फेमस मासंगल्ली मोमो, महोत्तरी जलेश्वर साथी खाजाघर, इलोमा क्याफे एण्ड बार, लिलीज् बबल टी आदि ।

रातोपुलमुनि रुद्रमती कालो बगिरहेको थियो । पुलमा मोटरगाडी, पैदलयात्रु र बाइकको घुईंचोले बाइकको गति धीमा भयो । बाइकको पाङ्ग्राले रातोपुल टेक्नासाथ क्याप्टेनले लगाएको सेतो सर्ट र निलो पाइन्ट बौद्ध भिक्षुले लगाउने मरुन बस्त्रमा बदलियो । म अचम्ममा परें । पुल काट्नासाथ फेरि उसको पहिरन पूर्व अवस्थामा फर्कियो । मैले त्यो कपडाको बदलाव बाइकको पछिल्लो सिटबाट प्रष्ट देखें ।

लगत्तै देखियो– च्वास्स झोल मोमो रेस्टुरेन्टको ठूलो साइनबोर्ड, सडकको दायाँपट्टि । त्यसपछि फ्रेस हाउसहरू– खसी झुन्ड्याइएको, खसीको टाउको र बोइलर लस्करै काउन्टरमा राखिएको । धुवाँधूलो, कोलाहल र धक्कममुक्का । यस्तै केओस् माझ उनी दिनभर कतिपटक पठाओमा यात्रु बोकेर ओहोरदोहर गर्दा हुन् ? कहाँ हिमालको काखमा अवस्थित नुब्री गुम्बा ! कहाँ काठमाडौंको व्यापक हिंस्रक प्रदूषणयुक्त संसार ! तुलना हुनै सक्दैनथ्यो ।

भारत गएको भए, उनको जीवनले अध्यात्मको एउटा लय समात्ने निश्चित थियो । धूपीको सुगन्ध, घिउबत्तीको दिव्य प्रकाश, बौद्ध मन्त्रहरूको ध्वनिले स्पर्श गरेको वातावरणको सामीप्यमा उनी हरेक पल हुन्थे । उनले अहिले भोगिरहेको काठमाडौंको सकस भोग्न पर्दैनथ्यो । कहिले यात्रु पाइएला भनेर आश गरेर प्रतीक्षा गर्न पर्दैनथ्यो । मलाई पठाओ क्याप्टेनप्रति सहानुभूति जाग्यो ।

‘पठाओमा थरी थरीका मान्छे भेटिन्छन् होला हैन ?’ यो प्रश्न गर्दा बाइक रातोपुल कटेर जर्मन दूतावासतिर कँुदिरहेको थियो ।

‘भेटिन्छ….विचित्र विचित्रका मान्छे भेटिन्छन् । कसैले चेन्ज राख्नुस् भनेर बीस, पचास रुपैयाँ छाड्छन् । कोही अलिक छिटो कुदाउनुस् न भनेर दबाब दिन्छन् । कोही अलि स्पिड लिंदा डराएर कमिजमै समात्छन् । कोही चढिसकेर पैसा छैन भन्छन् । पैसा छैन भन्नेहरूलाई– भयो नि त, भन्छु ।’

‘पैसा नभएपछि किन पठाओ चढ्नू नि हैन ?’ यात्रुको मूर्खतालाई प्रहार गर्दै म भन्छु ।

‘यस्तो पैसा नहुने र तिर्न नपुग्नेहरू बस, माइक्रो वा टेम्पो नपाएर साँझ/बेलुकी बिचल्लीमा परेका यात्रुहरू हुन्छन्’ उनी उल्टै उनीहरूकै पक्षमा बोल्छन् । उनी पैसा बनाउन आएका हुन् कि ? अरूको उद्घार गर्न ? म आश्चर्यमा पर्छु । उनको माइण्डसेट बुझ्न गाह्रै पर्छ । गुम्बामा दीक्षित भएकोले होला उनले त्यसरी सोच्न सकेको । त्यो करुणाभाव पक्कै गुम्बाको देन होला ।

भगवतीवहालबाट दायाँ मोड्न हातले इशारा गर्छु ।

‘आफ्नै बाइक हो ?’ म सोध्छु ।

‘हो…। भारत नगएपछि म साउदी गएँ । त्यहाँ गाडी चलाएँ । धेरै बस्न मन लागेन । नेपाल फर्कें । अलिकति भएको पैसाले व्यापार गरौं भनेको व्यापार दर्ता गर्न, स्वीकृति लिन धेरै मुश्किल रहेछ । पैसा बुझाउन सके स्वीकृति सजिलै पाइने, नत्र महिनौं झुलाइदिने । खाडीमा दुःख गरेर कमाएको पैसा के खुवाउनु । साथीहरूले सुझाव दिए– पठाओ चलाऊ । दर्ता गर्न झन्झट छैन । यात्रुलाई गन्तव्यमा पुर्‍यायो, भाडा बुझ्यो । उधारोको डर छैन । मैले त्यसपछि पठाओ अफिसमा गएर फारम भरें । सामान्य तालिम लिएँ र यो पेशा सुरु गरें ।’

बाइक नक्साल प्रहरी हेडक्वार्टर आइपुग्छ । पम्पमा पेट्रोल, डिजल भर्नेहरूको लामो लाइन देखिन्थ्यो । उनीहरूको तत्कालीन आवश्यकता इन्धन थियो । इन्धन भर्नासाथ आवश्यकता बदलिन्थ्यो तर पठाओ क्याप्टेनको आवश्यकता बदलिए पनि नियति शायदै बदलिन्थ्यो । यात्रुलाई गन्तव्यमा पुर्‍याउनु, फेरि पुर्‍याउनु, पुनरावृत्तिमा फँसे जस्तो फेरि पुर्‍याउनु उनको नियति बनेको थियो ।

पठाओ कार्यालयबाट अनुमति लिएपछि उनी एक लाख नब्बे हजार बाइक लाइसेन्सधारी क्याप्टेनमध्ये एक बनेका थिए र काठमाडौं उपत्यकामा साँझ, बिहान, बेलुकी यात्रु ओसार्ने कर्ममा होमिएका थिए । वर्तमान समयमा शहरको एउटा कथा पठाओको दुनियाँमा बग्रेल्ती भेटिन्छ । लामा बनेर गुम्बामा जीवन बिताउने उनको सपना कतै छुट्यो । अब शायदै भेटिएला ।

उनमा चाहना नभएको होइन तर चाहँदैमा भेटाउन सकिने खालको सजिलो थिएन– लामा विद्या । उनले भनेको सम्झन्छु– ‘लामा पढ्न कठिन छ । कठोर अनुशासन चाहिन्छ । जोसुकैले सक्दैन । बिराउन पाउँदैन– पूजाआजाको निम्ति सामग्रीहरू जुटाउँदा, विधिविधान अनुसार उत्सव तथा अनुष्ठान गर्दा, मन्त्र पढ्दा, गुम्बाको आचारसंहिता पालना गर्दा । पठाओ लामा भौतिक संसारसँग अभ्यस्त हुँदै गएका थिए जसमा धेरै कष्टहरू थिए तर कष्टहरूको त्यो चाङमा उनलाई निर्णायक क्षणमा लोभ्याएको स्वतन्त्रता पनि थियो ।

गैह्रीधारा चोक देखिएपछि ‘सीधै अघि लाग्नुस्’ भनें । ट्राफिक हल्का भएकोले रोकिनु परेन । देब्रे वा दायाँबाट पनि घर पुगिन्थ्यो तर त्यसो गर्दा थोरै बढी घुमाई पथ्र्यो । जीवनको बाटो सडक जस्तो प्रष्ट देख्न सकिए, कति सजिलो हुन्थ्यो । लगत्तै अर्को सोचाइ विपक्षमा उभियो– वोरिङ पनि हुन्थ्यो । सप्पै पक्ष थाहा पाए, रोमाञ्चकता मर्छ । रोमाञ्चकता जन्मने रहस्यमा हो । रहस्य नै नरहेपछि केको रोमाञ्चकता ?

एउटा गहिरो दोषभावले भने यी पठाओ क्याप्टेनलाई लखेटिरहेको रहेछ । उनी भन्न थाले– ‘लामा विद्या छोडेकोले अर्को जन्ममा मैले सजाय भोग्नै पर्छ । बौद्ध धर्ममा वचन तोडे, पापबाट मुक्तिको उपाय छैन । कर्मको फल भोग्नै पर्छ ।’

म अचम्मभावमा क्याप्टेनलाई सुन्दै हुन्छु ।

गैह्रीधारा चोक कटेर करिब डेढ सय मिटर अगाडि सानो चौतारो आएपछि, बायाँ मोडिन संकेत गरें ।

क्याप्टेनले भने, ‘म धेरै गतिमा चलाउँदिनँ ।’

मैले भनें, ‘मलाई पनि मध्यम गति नै मन पर्छ । म पनि यस्तै गतिमा चलाउँछु ।’

उनले थपे, ‘अफलाइनमा हिंड्ने पठाओका प्रायः चालक साह्रै छिटो कुदाउँछन् । अफलाइन पठाओ चढ्न हुँदैन । त्यसमा सुरक्षा छैन ।’

यहाँ उनले गुम्बामा आर्जन गरेको अनुशासन बोल्यो । सहमतिमा टाउको हल्लाएँ तर उनले हल्लिरहेको मेरो टाउको देखेनन् । मनमनै भनें, ‘अफलाइन पठाओ मैले अहिलेसम्म चढेको छैन । चढ्दिनँ पनि । च्याँखे थाप्ने, जुगाड गर्ने यस्ता वर्ग मलाई कहिल्यै मन परेन । दुःखको कुरा, यस्ता वर्ग हरेक क्षेत्रमा छन् ।’

केहीक्षणमै शिवभक्तमार्ग आइपुग्यो ।

‘कति भयो ?’ क्याप्टेनले मोबाइल हेरेर भने, ‘एक सय सत्तरी ।’

भाडा तिरेपछि भनेें, ‘ल त धन्यवाद तपाईंलाई । रमाइलो कुराकानीे भयो ।’

‘हस् नमस्ते’, उनले भने ।

यात्रीलाई नमस्ते गर्ने मैले भेटेको पहिलो पठाओ क्याप्टेनको हेल्मेट मुस्कुराइरहेको अनुहार देखें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?