+
+

मोरङको क्षेत्र नम्बर ५ मा वृक्षरोपण अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते ७:०३

२४ असार, विराटनगर । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का सडक किनारामा वृक्षरोपण अभियान सुरु भएको छ । क्षेत्र नम्बर ५ बा निर्वाचित स्वतन्त्र सांसद योगेन्द्र मण्डलले धनपालथान गाउँपालिका–४ कर्सियाबाट अभियान सुरु गरेका हुन् ।

पहिलो दिन शनिबार कर्सियाबजारदेखि भारतीय सीमा क्षेत्र जोड्ने सडकमा पाँच सय विरुवा रोपिएको उनले बताए । पहिलो चरणमा क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दायाँ–वायाँ बिरुवा रोप्ने योजना छ । त्यसपछि वृक्षरोपण अभियानलाई अन्य क्षेत्रमा लैजाने उनले बताए ।

सांसद मण्डलको अगुवाइमा जीवन विकास समाजले अभियानको उद्घाटन गरेको थियो । मण्डल जीवन विकास समाजको संस्थापक हुन् ।

धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको अभियान सञ्चालनका लागि थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरेको उनले बताए । अभियान अन्तरगत सडक किनारमा रोपिएको बिरुवा संरक्षणका लागि सम्बन्धित क्षेत्रका स्थानीयलाई जिम्मा दिइने उनले जानकारी दिए ।

धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले पृथ्वी बचाउ अभियान अन्तरगत पालिका भित्रका सडकमा रोपिएका बिरुवा संरक्षण गरेर हुर्काउने बताए ।

अभियानको उद्घाटनका क्रममा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले वृक्षरोपण र वातावरण संरक्षणका लागि मन्त्रालयले निरन्तर सहयोग गर्ने बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको बताए ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको बताउँदै उनले रोपिएका विरुवालाई परिवारका सदस्यलाई जस्तै माया गरेर हुर्काउन आग्रह गरे ।

मेट लाइफ इन्स्योरेन्सका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले आउँदै गरेको पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरणका लागि वृक्षरोपण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?