+
+
Shares

‘मोदीबेनी’को गीत ‘मन्जुरी’बारे कोरियोग्राफर : ‘सुन्नासाथ विभिन्न रङ माग गरेको महसुस भयो’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १६:४१

काठमाडौं । साउन १८ मा रिलिज हुने फिल्म ‘मोदीबेनी’को रोमान्टिक गीत ‘मन्जुरी’ यतिबेला चर्चामा छ । फेसबुक, इन्स्टाग्राम र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्री भाइरल भएका छन् ।

गीतको शब्द, संगीत र अभिनयको संगमले दर्शकको मन जितिरहेको छ भने यसको कोरियोग्राफी राम्रो छ । यो सबैको पृष्ठभूमिमा छन् कोरियोग्राफर किरण थापा, जसले यो गीतलाई विशेष बनाए ।

किरणलाई सुरुमा नै यस गीतका शब्दले अत्यन्तै प्रभावित बनाएको थियो । ‘मन्जुरी गीतको शब्दले मलाई एकदम आकर्षित गरेको थियो । गीतको ‘फिरफिर’ रिबन भाग अत्यन्त मन परेको थियो,’ उनले भने ।

गीतको हरेक शब्दले एउटा कथा बुनिरहेको थियो, जसलाई दृश्य भाषामा उतार्न पाउँदा किरण निकै उत्साहित थिए । ‘मैले यो गीतलाई न्याय गर्न सक्छु भनेर कोरियोग्राफीको लागि मन्जुर भएको थिएँ,’ उनी थप्छन् । गीत सुन्नासाथ यो गीतले विभिन्न रंगको माग गरिरहेको महसुस किरणलाई थियो ।

‘यो गीतले विभिन्न किसिमको ‘कलर’ मागिरहेको थियो । फिल्मको जुन ‘सेटअप’, जुन ठाउँको कथा छ, त्यसलाई नै मिलाएर मैले दृश्य भाषा निर्माण गर्न खोजेको छु,’ उनी भन्छन्, ‘भिडियोको हुकस्टेपलाई सामान्य रूपमा नृत्य गर्दा आफ्नो भावलाई व्यक्त गर्न सक्ने गरी बनाएको छु । यसमा प्रयोग भएका विभिन्न प्रप्सहरू र प्राकृतिक सौन्दर्यले दुई कलाकारको केमेस्ट्रीलाई वर्णन गर्छन् ।’

किरणले अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमरप्रताप श्रेष्ठसँगको कामलाई स्मरण गर्दै उनीहरूको व्यावसायिकताको प्रशंसा गरे । ‘दुवैजना प्रोफेसनल हुनुहुन्छ तर कहिलेकाहीं सिक्ने सिलसिलामा सधैं नयाँ सिक्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘मैले नयाँ र पुरानो कलाकार भनेर सिकाउने प्रक्रियालाई अलग–अलग बनाउँदिनँ ।’

गीतको छायांकनको क्रममा अनेक प्राविधिक चुनौती पनि उनले देखे । ‘सुरुमा हामीले एउटा पुलमा छायांकन गर्ने सोच बनाएका थियौं । त्यही समयमा अविरल वर्षा भयो । पुल पानीले डुबायो, छायांकन गर्न सकिएन,’ किरण सम्झिन्छन् ।

पहाडको टुप्पोमा छायांकन गर्नुपर्ने थियो, जहाँ प्राविधिक सामग्री पुर्‍याउनु आफैंमा चुनौती थियो । नेपालमा अत्याधुनिक प्राविधिक सामग्री र प्रविधि प्रयोग गरेर छायांकन गर्ने इच्छा उनको छ । ‘म आफूलाई पनि अझै निखारेर अध्ययन गरेर र नेपाली फिल्मको कोरियोग्राफीमा केही नयाँ क्रान्ति गर्ने इच्छा छ,’ उनी भन्छन् ।

‘मोदीबेनी’का निर्देशक शंकर कोइराला हुन् । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्ममा वर्षा र अमरप्रतापका साथै प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका हुन् । फिल्मका निर्माता दिलीप केसी र सहनिर्माता हरि श्रेष्ठ छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?