 
																			९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाका १८ मृतकको शवलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
फरेन्सिक विभागमा शव लगिएपछि मृतकका आफन्तहरु त्यहाँ पुगेका छन् । १८ मृतकका परिवार र आफन्तको अस्पताल परिसरमा रुवाबासी छ ।
विमान दुर्घटनापछि अस्पताल परिसरमा पुगेका मृतकका आफन्त फरेन्सिक विभाग अगाडि भावविह्वल अवस्थामा छन् । उनीहरुमध्ये केही त्यहीँ बेहोस भएर ढलेका थिए ।
ज्यान गुमाएकामध्ये इञ्जिनियर उद्धव पुरीका एक जना आफन्तले प्राविधिक जाँच सम्बन्धी उडानमा पनि १८ जना (पाइलट र को–पाइलटबाहेक) कर्मचारी र यात्रु राखिएको भन्दै आपत्ति जनाए ।
‘प्राविधिक जाँचका लागि गरिएको उडानमा किन त्यति धेरै मान्छे राखियो’, ती आफन्तले प्रश्न गरे, ‘यसमा एयरलाइन्सको पनि लापबाही देखिन्छ ।’

विमान दुर्घटना हुँदा ज्यान गुमाउनेमा एकै परिवारका तीन सदस्य पनि छन् । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माको मृत्यु भएको छ ।
इञ्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने क्रममा जहाज दुर्घटना भएको थियो । यस्तोमा प्राविधिक मात्र लानुपर्नेमा किन अरु पनि विमानमा लगिए भन्ने आफन्तहरुले प्रश्न गरेका छन् ।
ज्यान गुमाउनेमा सौर्य एयरलाइन्सको व्यवस्थापनका पाँच कर्मचारीको पनि मृत्यु भएको छ । सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल र क्यूए प्रमुख दिलीप बर्माले ज्यान गुमाएका हुन् ।
विमानका क्याप्टेन मनिष शाक्यलाई भने उद्दार गरेर अस्पताल ल्याइएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनले सामान्य कुराकानी गरिरहेका छन् ।
उनका आफन्तहरुले भने शाक्यलाई भेट्न बाँकी रहेको भन्दै आफैंले भेटेपछि मात्र अवस्थाबारे बताउन सक्ने जनाए । अस्पतालका एक जना कर्मचारीका अनुसार, टाउको र खुट्टामा चोट लागेका उनको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ । ‘उहाँ खतरामुक्त हुनुहुन्छ’, उनले भने ।

शाक्यलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्दार गरेर अस्पताल लगेको थियो ।
घटनामा ज्यान गुमाउनेहरुको बुधबारबाटै पोष्टमार्टम जाँच सुरु भएको छ । शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, शव कसको हो भन्ने चिनिने अवस्था नभएकाले जाँच गर्न लागिएको हो ।
‘मृतकका आफन्तले दिएको हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोष्टमार्टम गरेर शवलाई परिवारको जिम्मा लगाउँछौं’, उनले भने, ‘सबैको पोस्टमार्टम गरेर तीन दिनपछि मात्र शवलाई आफन्तको जिम्मा लगाइनेछ ।’
विमानस्थलबाट पोखराका लागि उडेको केहीबेरमै बुधबार बिहान ११ः११ बजे सौर्य एयरलाइनसको सीआरजे ७ जहाज दुर्घटना परेको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिएअनुसार उडेको केहीबेरमै जहाज दाहिनेतिर मोडिएको थियो । त्यसपछि दुर्घटना हुँदा जहाज सिम्रिक एयरको कन्टेनरमा समेत ठोक्किएको थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4