१८ साउन, काठमाडौं । गत साता २५६८ अंकमा रहेको सेयर बजार यो साता २७५५ अंकमा पुगेको छ । विगत एक सातामा सेयर बजार ७.२८ प्रतिशत अर्थात् १८७ अंक बढेको छ । विगत एक महिनामा हरेक साता सेयर बढेको छ । विगत एक महिनामा सेयर बजार ३१ प्रतिशतले बढिसकेको छ ।
खास करेक्सनविना सेयर बजार उच्च दरले बढेपछि नगदमा रहेका कतिपय लगानीकर्तामा अन्योलता थपिएको छ । घटेका बेला सेयर थपौंला भनी नाफा बुक गरेर बसेकाहरुले अझै मौका पाएका छैनन् । यो साता बजार दुई दिन सामान्य करेक्सन देखिए पनि बाँकी ३ दिन उच्च दरले बढ्न गयो ।
यो साता पहिलो दिन आइतबार दुई पटकसम्म सर्किट ब्रेक लागेको बजार अन्ततः तेस्रो सर्किट ब्रेक लाग्न नपाई अन्ततः ११३ अंक बढेर बन्द भयो । मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लागेको २० करोडको क्याप हटाइएपछि बजार आइतबार उच्च दरले बढ्न पुग्यो ।
सो दिन १८ बैंकको मूल्य १० प्रतिशत बढ्दा बैंकिङ सूचक नै करिब १० प्रतिशत बढ्यो । सोमबार २०.६३ अंक घटे पनि मंगलबार नै ३५ अंक बढ्यो । बुधबार ६४ अंक बढेको बजार बिहीबार भने ५ अंक घट्यो ।
यो साता बजारमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनायो । गत बुधबार अहिलेसम्मकै उच्च रकम २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भयो । तीन वर्षअघि गत साउन ३१ गते भएको २१ अर्ब ५३ करोड रुपैयाँको कारोबार रेकर्ड तोडियो ।
यो साता आइतबार १५ अर्ब ८१ करोड, सोमबार १९ अर्ब ६० करोड, मंगलबार १७ अर्ब २६ करोड र बिहीबार २१ अर्ब ७१ करोडको कारोबार भयो ।
फाइनान्स सेक्टरका अधिकांश कम्पनीमा बढ्यो जोखिम
यो साता फाइनान्स समूह निकै आक्रामक देखियो । यो साता फाइनान्स समूह २०.२९ प्रतिशत बढेर ३५६८ अंकमा पुगेको छ । बजारमा जुनसुकै कम्पनी तथा सेक्टरका सूचक जति द्रुत गतिमा बढिरहन्छन्, तिनमा जोखिम पनि त्यत्तिकै बढ्दै जान्छ ।
फाइनान्सको यो अंक अहिलेसम्मकै उच्च हो । यो सेक्टर यो साता आक्रामक देखिनुमा ‘लोक्याप’ कम्पनीहरुमा सीमित समूह र व्यक्ति सक्रिय हुनु हो । जसले गर्दा कमजोर वित्तीय स्थिति भएका धेरै फाइनान्स कम्पनीको मूल्य अस्वभाविक बढेको छ ।
यस्ता कम्पनीहरुमा नयाँ लगानीकर्ता सचेत हुनुपर्ने बेला आएको छ । बजारमा जम्मा १५ फाइनान्स कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये अधिकांश कम्पनीको वित्तीय स्थिति कमजोर छ, मूल्य भने उच्च भइसकेको छ ।
त्यस्तै होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च विन्दुमा छ । होटल समूह यो साता १० प्रतिशत बढेको हो । यस समूहमा ६ वटा कम्पनी सूचीकृत छन् । पर्यटन क्षेत्रमा चहलपहल बढेकाले होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरुको चौथो त्रैमासिक वित्तीय विवरण केही राम्रो आउने अनुमान लगानीकर्तामा छ ।
यो साता किन घट्यो माइक्रोफाइनान्स ?
यो साता सबै सेक्टरका सूचक बढ्दा माइक्रोफाइनान्स समूह भने ३.१४ प्रतिशत घट्यो । माइक्रोफाइनान्स समूहको सूचक घट्नुमा मुख्यतः मौद्रिक नीतिलाई लगानीकर्ताले कारण बुझेका छन् । मौद्रिक नीतिमार्फत माइक्रोफाइनान्स कम्पनीहरुले दिने लाभांशको सीमा १५ प्रतिशतलाई कुनै सम्बोधन नगरिनुले यो सूचकलाई घट्न बल पुग्यो ।
त्यस्तै अर्को विषय हो– माइक्रोफाइनान्स कम्पनीहरुले सर्वसाधारणबाट लिन पाउने अधिकतम १६ प्रतिशतको ब्याजदर तथा सेवा शुल्क पुनरावलोकन (घटाउने सम्भावना) गरिने । यसले आगामी समय माइक्रोफाइनान्स कम्पनीहरुको नाफामा प्रभाव पर्न सक्ने लगानीकर्ताको अनुमान छ ।
प्रतिक्रिया 4