+
+

सेयर बजारमा लगानी : नवप्रवेशीका लागि चरणबद्ध मार्गदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते ९:४२

सेयर बजारको लगानी समयसँगै सम्पत्ति बढाउने एउटा उचित तरिका हो । यसका लागि राम्रोसँग सोचविचार गरेर योजनाबद्ध तरिकाले लगानी सम्बन्धी निर्णय गर्नु आवश्यक हुन्छ ।

पूर्व तयारीका केही महत्वपूर्ण विषय

१. डिम्याट खाताः सेयर लगायत धितोपत्रहरूलाई अभौतिक रूपमा सुरक्षित रूपमा राख्न र हस्तान्तरण गर्न डिम्याट खाता चाहिन्छ । तसर्थ धितोपत्र बजारमा प्रवेश गर्नुअघि डिम्याट खाता खोल्नुहोस् । तर डिम्याट खाता खोल्नुअघि लगानीकर्ताहरूले बैंक खाता अनिवार्य रूपमा खोलेको हुनुपर्दछ ।

२. वित्तीय लक्ष्यः तपाईंले लगानी सुरु गर्नुअघि आफ्नो वित्तीय लक्ष्यहरू निर्धारण गर्नुपर्छ । तपाईं अवकाश जीवनका लागि बचत गर्दै हुनुहुन्छ कि आफ्नो सम्पत्ति बढाउन खोज्दै हुनुहुन्छ ? आफ्ना लक्ष्यहरू जान्नाले तपाईंलाई सचेत लगानी निर्णयहरू गर्न मद्दत गर्नेछ । छोटो समयको कारोबारी हुने कि लामो समयको लगानीकर्ता भएर लगानी गर्ने निश्चित गर्नुपर्छ ।

सावधानः बजार प्रवेश गर्नेमध्ये केहीले विना लक्ष्य लगानी गर्दा सम्पत्ति बढ्नुको सट्टा भएको सम्पत्ति पनि सकेका उदाहरणहरू छन् । कहिलेकाहीं बजार एउटा यस्तो मोडमा पुग्छ जहाँ लगानीकर्तालाई लाग्छ कि बजार अझै माथि जान्छ । तर लगानीकर्ताको अनुमान विपरित बजार घट्न थाल्छ । बजार मूल्य बढ्दा लगानीकर्ता बेच्नुको सट्टा अरू सेयरमा लगानी बढाउनेतर्फ लाग्छन् र अन्त्यमा घाटा व्यहोर्नुपर्छ ।

३.आपतकालीन कोषः शेयरमा लगानी गर्नुपूर्व तपाईंंसँग घरायसी खर्चका लागि आवश्यक आपतकालीन कोष हुनुपर्छ । जसले बजारमा आउने अप्रत्याशित गिरावटको अवस्थामा सुरक्षा प्रदान गर्छ ।

सावधान : बजारको सानो सानो गिरावटमा पनि नोक्सानी व्यहोर्नुपर्छ । कुन समयमा बजारले कस्तो गति लिन्छ थाहा हुँदैन । त्यसकारण सेयरमा तपाईंले सम्पूर्ण सम्पत्ति लगानी नगर्नुहोला । 

४.ऋणः नयाँ लगानीकर्ता ऋण लिएर शेयर बजारमा नआउँदा उचित हुन्छ । अनुभव हासिल गरेपछि ऋण लिएर पनि कारोबार गर्न सकिन्छ तर उच्च ब्याजबाट जोगिनुपर्छ । उच्च ब्याजको ऋण लिएर लगानी गर्दा सम्पत्ति निर्माण नभई उल्टो घाटा हुनसक्छ ।

५. सेयर शिक्षाः सेयर बजारमा उपलब्ध लगानीका विभिन्न विकल्पहरू, प्राविधिक र आधारभूत वित्तीय अवधारणाहरू बारे जान्नको लागि समय निकाल्नुहोस् । यी विषयहरूमा धेरै अनलाइन स्रोत, पुस्तक र पाठ्यक्रमहरू उपलब्ध छन् । केही पुस्तकहरूको चर्चा शेयर बजार लगानीकर्ता तथा कारोबारीले पढ्नै पर्ने पुस्तक खण्डमा गरिएको छ ।

६.कारोबार खाता: धितोपत्र किन्न र बेच्नको लागि तपाईंंले दलाल (ब्रोकर) कहाँ गएर कारोबार खाता खोल्नुपर्छ । आफूलाई पायक पर्ने ब्रोकर छनोट गर्नुहोस् । यस्तो खाता अनलाइनबाट पनि खोल्न सकिन्छ ।

७. पोर्टफोलियो विविधीकरणः विविधीकरणले लगानीमा हुने जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंं नयाँ लगानीकर्ता हुनुहुन्छ भने लगानीलाई विविधीकरण गर्नु झन् आवश्यक हुन्छ । तपाईंंले लगानी गर्दा इक्विटी, म्युचुअल फन्ड, बन्ड, डिबेन्चर जस्ता विविध धितोपत्रमा लगानी गर्नुपर्छ । यसैगरी क्षेत्रगत (वित्तीय, उत्पादन, व्यापार, सेवा) रूपमा पनि विविधीकरण गर्नु उचित हुन्छ ।

८.नियमित लगानीः आफूलाई सहज हुने रकमबाट सुरु गर्नुहोस् र नियमित रूपमा लगानी गर्ने प्रयास गर्नुहोस् चाहे त्यो मासिक, त्रैमासिक वा वार्षिक होस् । बजार अस्थिरताले निम्त्याउने क्षतिलाई कम गर्न यसले मद्दत गर्छ ।

९.दीर्घकालीन दृष्टिः सेयर बजारमा लगानी सामान्यतया दीर्घकालीन प्रयास हो । छोटो अवधिको बजार उतारचढावमा आधारित आवेगपूर्ण निर्णयहरू नगर्नुहोस् । बजार आफ्नो ट्रेन्डमा चल्छ, बुलिस ट्रेन्डमा भएको बेलामा सानोतिनो घटाइमा खरिदलाई ध्यान दिनुपर्छ र बियरिस ट्रेन्डमा किन्ने कोसिस गर्नुहुँदैन । चाहे तपाईंं दीर्घकालीन लगानी गर्नुहोस् वा अल्पकालीन कारोबार, यो सबैमा लागू हुन्छ ।

१०. पोर्टफोलियो व्यवस्थापनः आफ्नो लगानी लक्ष्य र जोखिम सहनशीलतासँग मेल खाने गरी लगानी भएको छ कि छैन सुनिश्चित गर्न नियमित रूपमा समीक्षा गर्नुहोस् । आवश्यक भएमा आफ्नो पोर्टफोलियोलाई पुनर्संरचना गर्नुपर्ने हुन्छ ।

११. जानकारी राखौंः लगानीकर्ताले वित्तीय समाचार र बजार प्रवृत्तिको जानकारी राख्नु आवश्यक हुन्छ । किनकि सेयर बजारलाई भावनात्मक बजार पनि भनिन्छ । बजारका साना–साना समाचार तथा घटनाहरूले मूल्यमा प्रभाव पार्छ । तर समाचारका हेडलाइन वा भावनामा आधारित भएर लगानी निर्णय नगर्नुहोस् ।

१२. करका प्रभावः तपाईंको लगानीमा विभिन्न किसिमका कर (लाभांश कर, ब्याज आम्दानी कर, पूँजीगत लाभ कर, आयकर)लाग्छन् । यस किसिमका करहरूबाट लगानीमा पर्न सक्ने प्रभावबारे सचेत रहनुहोस्, यसबारे ब्रोकरसँग जानकारी लिनुहोस् ।

१३. व्यावसायिक सल्लाहः तपाईं आफ्नो लगानी रणनीति बारे अलमल हुनुहुन्छ वा व्यक्तिगत मार्गदर्शन चाहिन्छ भने वित्तीय सल्लाहकारसँग परामर्श गर्दा उचित हुन्छ । साथीभाइ वा सामाजिक सञ्जालका सल्लाहले तपाईंको सम्पत्ति बढोत्तरीमा सहयोग पु¥याउँछ भन्ने हुँदैन ।

१४. धैर्य र अनुशासनः लगानीमा उतारचढाव हुन्छ । आफूले गरेको अध्ययन, अनुसन्धानलाई र कम्पनीलाई विश्वास गरेर गरेको निर्णयमा धैर्य र अनुशासित भएर बस्नुपर्छ । अरूको वा सामाजिक सञ्जालका कुरालाई लिएर गरिने निर्णयहरूबाट जोगिनुपर्छ ।

याद गर्नुहोस्, लगानीमा जोखिम पनि हुन्छ, लगानी गर्दैमा पैसा कमाउने ग्यारेन्टी हँदैन । वस्तारै आफ्नो लगानी बढाउनुहोस् र सिक्ने कार्यलाई जारी राख्नुहोस् । समयसँगै तपाईंंको वित्तीय स्थिति र लक्ष्य विकसित हुँदै जान्छन् र सोही अनुरूप तपाईंं आफ्नो रणनीति समायोजन गर्न सक्नुहुन्छ ।

नवप्रवेशीका लागि मार्गदर्शन

नयाँ लगानीकर्ताले सुरुवाती चरणमा कस्तो प्रकारको लगानी रोज्नुपर्छ भन्ने चर्चा गरौं । लगानीको लक्ष्यका आधारमा दुई प्रकारका लगानी शैली हुन सक्छन् । छिटो नाफा कमाउने उद्देश्य राख्नुहुन्छ भने छोटो अवधिको लगानीमा ध्यान दिन सक्नुहुन्छ ।

लगानीकर्ताले उच्च जोखिम लिन नचाहने हो भने दीर्घकालीन लगानीमा पनि जोड दिंदै जानुपर्छ । तर दुवै प्रकारको लगानीको मिश्रण सुरुवाती रूपमा सेयर बजार बुझ्नको लागि राम्रो निर्णय हुनसक्छ ।

बजार प्रवेशका लागि गर्नुपर्ने महत्वपूर्ण प्रक्रिया

पहिलो चरणः

  • बैंक खाता खोल्नुहोस्
  • डिम्याट खाता खोल्नुहोस्
  • मेरो शेयरको लगइन आइडी र पासवर्ड लिनुहोस्
  • बैंकमा गएर C-ASBA को फारम भरेर CRN नम्बर लिनुहोस् ।

यति ४ वटा काम सकेपछि पहिलो चरणको तयारी पूरा हुन्छ । यत्तिकैमा तपाईं कुनै शेयर खरिद गरी नाफा खातामा आएको कल्पनामा डुब्ने बेला भएको छैन । हामी तपाईंलाई सेयरमा लगानी, त्यसको प्रतिफल, जोखिम सम्पूर्ण जानकारी गराउँदै जानेछौं । पहिलो चरणमा तपाईंले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भर्न सक्नुहुन्छ । तपाईंको लगानीको यात्रा यहींबाट सुरु हुन्छ ।

दोस्रो चरण:

ब्रोकर खाता खोल्नुहोस् : दोस्रो चरणमा आफूसँग रहेका शेयर बेच्न वा सूचीकृत कम्पनीका नयाँ शेयर खरिद गर्न तपाईंंले ब्रोकर खाता खोल्नुपर्ने हुन्छ । ब्रोकर खातालाई कारोबार खाता पनि भन्ने गरिन्छ । ब्रोकर खाता खोल्दै गर्दा हिजोआज अनलाइन कारोबार प्रणाली विद्यमान रहेको छ ।

तसर्थ आफैंले आफ्नो कारोबार गर्ने भएमा ब्रोकरसँग कारोबार व्यवस्थापन प्रणाली TMS (Trading Management System) युजरनेम र पासवर्ड लिनुहोस् । TMS ब्रोकर खाताको परिपूरक हो । ग्राहकले आफैंले कारोबार सञ्चालन गर्ने भएमा TMS लिनुपर्ने हुन्छ । यसलाई ब्रोकर खातासँगै लिन सकिन्छ । हिजोआज ब्रोकर खाता अनलाइनबाट समेत खोल्न सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?