 
																			२९ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि गर्नेबारे विज्ञसँग छलफल गरेका छन् ।
उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञसँग छलफल गर्दै बागमती, विष्णुमती लगायत नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे राय लिएका हुन् ।
सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तीव्र पारेका हुन् ।
‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ कि भनेर सोाचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यसमा विज्ञहरूबाट राम्रा सुझाव आएका छन् । आगामी दिनमा पनि तपाईंहरूसँग बसेर अरू कार्यक्रम के–के गर्न सकिन्छ गरौंला ।’
मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाब वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपन्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्ने लगायत विषयमा विज्ञहरूसँग राय लिइएको बताए ।
त्यस क्रममा विज्ञहरूले सुक्खा याममा काठमार्डौंका नदीमा जलप्रवाह बढाउन प्राविधिक सम्भाव्यताबारे आ–आफ्नो राय दिएका थिए । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रूपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका थिए भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभाव मूल्यांकन गर्नुपर्ने बताएका थिए ।
पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने लगायत विषयमा विज्ञसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए ।
‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौं,’ उनले भने, ‘नदी सफाइ, फोहोरमैला व्यवस्थापन लगायत विषयमा नागरिकलाई पनि सहभागी गराउनुपर्छ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4