
४ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ ।
महासंघ सदस्यहरूको डटाबेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने महासंघले जनाएको छ ।
यस प्रणालीमा महासंघका सदस्यले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण सदस्यहरूको जानकारी राखिने भएको छ ।
महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरी करिब ६ लाख व्यवसायी आवद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहने भएको छ ।
यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ ।
नलेज प्ल्याटफर्मका रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ ।
यो प्रणालीको उद्घाटन गर्नु हुँदै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।
बीआईएस पोर्टल महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।
प्रतिक्रिया 4