४ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको सक्रियता र निरन्तरको लगाबले मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरू जस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यति नै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो,’ उनले भने, ‘हामी नेतृत्वमा आएपछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्यौंकि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।’
महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्यमा कामको थालनी गरेको उनले बताए ।
अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरूको सुरुवात गरेर सरकारलाई दबाब दिएको उनको भनाइ छ । यो पटकको लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको उनले बताए ।
पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी नआएको भन्दै उनले यसपटक किन आएन भनी कारण खोजिएको उनले बताए ।
‘कतिपय कानुन नै बाधक देखिए, तिनको संशोधनका लागि हामीले पहल गर्यौं । सरकारलाई दबाब पनि दियौं ।’ लगानी सम्मेलनका दौरान ८ कानुन संशोधन भएको उनले बताए ।
जिल्ला जिल्लामा जाँदा साना व्यवसायीले ससानो पूँजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पूँजीलाई पनि एकीकृत गरी ठूला लगानी बनाउन सक्ने बताए ।
सानो पूँजी बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको उनले जानकरी दिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4