 
																			१३ असोज, काठमाडौं । लगातार वर्षा भइरहेपनि शुक्रबार बेलुकी पानी पर्न थोरै कम भएको थियो । तर बागमती खोलाको बहाब त्यति धेरै घटेको थिएन ।
बल्खुको सुकुम्बासी बस्तीमा बस्नेहरु आधा रातसम्म आकाशको पानी र बागमती बहाब हेरेरै बसे । मध्यरातसम्म खोलाको बहाब ठीकठीकै थियो ।
बस्तीमा खोला पस्छ भन्ने आँकलन थिएन । त्यसैले धेरैजसो मानिसहरु निदाइसकेका थिए ।
‘बिहान ३ बजेतिर पानी बस्तीमा पसेछ’ ५५ वर्षीय राम लिम्बुले भने, ‘पानीको बहाव यसरी बढ्यो कि ज्यान जोगाउनै मुश्किल भयो ।’
रातको समयमा खाद्यान्न, लताकपडा र अन्य सामान निकाल्न मुश्किल भयो । पानीको गति बढिरह्यो । ‘बाहिर झमझम पानी परिरहेको छ । कहाँ जाने ? के गर्ने ? ज्यानै कसरी जोगाउने भन्ने भयो’, अनलाइनखबरसँग लिम्बुले भने, ‘माथिल्लो तल्लामा गएर बस्यौं । भुई तल्लामा लदो आएर पस्यो ।’

छोराछोरीसहित पाँच जनाको परिवार रहेको लिम्बुको घरमा २० बोरा जति धान थियो । भर्खरै भित्र्याएको मकै थियो । त्यो मकै र धान कीर्तिपुरको भाडामा लिएको जग्गाबाट उत्पादन गरिएका थिए ।
तर पानीको भेलले केही बाँकी राखेन । ‘त्यो रात सबै जना एकै चिहान भइने भयो भनेर बाच्ने आशै मारेका थियौ’, उनले भने, ‘पानी माथिल्लो तल्लासम्म आइपुग्दा बाँच्ने आशा गर्नु पनि कसरी ?’ धन्न उनी साथ सहयोग पाएर बाँचे ।
उनको परिवार यो बस्तीमा बस्न थालेकै दुई दशक बढी भइसकेको छ । तर त्यस्तो बाढी यसअघि कहिल्यै सामना गर्नुपरेको थिएन ।
‘पानी भुइंँ तल्लामा पसिरहेको हुन्थो । जेनतेन सामानलाई सुरक्षित गर्न सकिन्थो । तर यसपटकको बाढीले ज्यान नै पहिलो कुरा रहेछ भन्ने सम्झायो’, उनले भने ।
उनका अनुसार यस्तो बाढी २०५९ सालमा यस्तै बाढी आएको थियो । लेदो सहितको बाढी पस्दा लिम्बुकै जस्तो चार सय बढी परिवार बिचल्लीमा परेका छन् । उनीहरुलाई जनविकास माध्यमिक विद्यालयको सटरमा राखिएका छन् ।

त्यही सटरमा भेटिए खुट्टामा चोट लागेका राजकुमार विक । शनिबार दिँउसो छिमेकलाई बचाउन खोज्दा विकको घुँडामा सीसाले काट्यो ।
‘सबैभन्दा ठूलो कुरा मानवीयता रहेछ । शनिबार दिनभर सुरक्षकर्मीसँग मिलेर काम गरियो,’ विकले भने, ‘त्यसक्रममा सीसाले खुट्टामा काट्यो ।’
यो बस्तीबाट चार जनालाई खोलाले बगाएको थियो । तीन जनाको उद्धार भयो । जसमध्ये एक जना वीर अस्पतालमा उपचाररत छन् । तर एक जना महिला भने बेपत्ता छन् ।
‘घरबाट निकाल्न केही निकाल्न सक्ने अवस्था छैन । भुई तल्लामा भएको कपडामा पनि लेदो पसेको छ,’ विकले गुनासो गरे, ‘केही संस्थाले कम्बल दिनुभएको छ । त्यसले पुग्दैन ।’
अहिलेसम्म बिहान–बेलुका विभिन्न संस्था मार्फत् खानाको जाहो भइरहेको छ । ‘चाडपर्व आयो । भएको सबै सखाप भयो । के गरी चाडपर्व मनाउनु,’ उनले गुनासो गरे, ‘कति दिन अब यसरी शिर लुकाएर बस्नु ।’

एउटै सटरमा २० जनासम्म बस्नुपर्दा समस्या भएको उनी बताउँछन् । ‘आजको भोलि बस्ने खालको बनाउन सकिँदैन । महिनौं दिन लाग्नसक्छ । फेरि पानी परेर हामी गरिबलाई थप दुःख पो दिन्छ कि,’ उनी संशकित सुनिए ।
आइतबार दिँउसो अनलाइनखबरको टोली बल्खु चोकमा पुग्दा वडा अध्यक्ष सुमन श्रेष्ठ पीडितहरुको समस्या समाधानमा जुटिरहेका थिए । धेरैजसो राहतकै माग लिएर आएका थिए । कोही घरभित्रको पानी र लेदो निकाल्न सहयोग माग्न आएका थिए ।
फोन लगातार बजिरहेको थियो । फोनबाटै वडाध्यक्ष श्रेष्ठले आश्वस्त पारिरहेका थिए ।
अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौं महानगरको १४ नम्बर वडामा अत्याधिक क्षति भएको छ । तरकारी बजार, कुलेश्वर खाद्य स्टोर, बल्खु चोक, करखुसी मार्गमा भएका व्यवसाय, मेट्रो अपान्टमेन्ट र सुकुमबासी बस्तीमा क्षति पुगेको छ ।
‘तरकारीसहित फलफूल बजारमा भएका सबै सामान बाढीले बगायो । हिजो डुंगा नै चलाएर उद्धार गर्ने काम गयौं,’ श्रेष्ठले भने, ‘मानविय क्षति भएको जानकारी छैन । तर आर्थिक क्षति यकिन विवरण आउन बाँकी छ ।’
वडाध्यक्ष श्रेष्ठका अनुसार वडा र महानगरपालिकाको विपद् महाशाखा मिलेर स्काइभेटर मार्फत् पानी र लेदो फाल्ने काम भइरहेको छ । यो वडामा उद्धार कार्यमा २५ जना नगर प्रहरी खटिएका छन् ।
सुकुम्बासी क्षेत्रमा चार सय हाराहारीमा घर प्रभावित भएको अनुमान छ । प्रभावित धेरै भएकाले उद्धार कार्य लम्बिरहेको छ ।
आइतबार दिँउसोसम्म बल्खुचोक नजिकै नेवारी खाजा एण्ड थकाली भान्छा घर हिलाम्ये थियो । सञ्चालक राजेन्द्र महर्जन सामान निकाल्दै सफा गर्दै थिए । ‘केही समान बाँकी रहेन । चामल, दाल लगायत खाद्यान्न सहित बेड, सोफा खेर गयो’, महर्जनले गुनासो गरे, ‘दुःख हरपल थपिरहने रहेछ ।’

उनका अनुसार शनिबार बाढीले चार लाख भन्दा बढीको क्षति पुर्याएको छ । दुई महिना अगाडि मात्रै भान्छा घरलाई थप लगानी गरेर बढाएका थिए ।
‘होटललाई थप लगानी गरेको ऋण तिरिसकेको छैन । पटक–पटक बाढीले दुःख दिइरहन्छ । अब यो ठाँउबाट निस्कुनपर्ने अवस्था आइसक्यो’, महर्जनले दुखेसो पोखे ।
अनलाइखबरको टोली पुग्दा बल्खु पुलमाथिको सुकुम्बासी बस्तीका मानिसहरु लेदो र पानी फाल्न व्यस्त थिए । माथिल्लो तल्लाबाट लेदो फालिरहेका थिए ।
कोही भने घरभित्रबाट भिजेका सामान र लुगाफाटो झिकेर सुकाउँदै थिए । बस्तीका दीपक परियार दराज, खाट पखालिरहेका थिए ।
‘यहाँबाट पनि उठिबास लाग्ने भयो । टाउको लुकाउनका कतै आफ्नो जमिन भन्ने कहीँ छैन’ उनले विलौना गर्दै भने, ‘पटक पटक यस्तो सास्ती गरेर कति दिन बाँच्ने ।’
परियारले पनि शनिबार बिहानको बाढीले बस्तीलाई सखाप पारेर लैजानसक्ने आंकलन गरेका थिए । ‘आज बाचिँदैन जस्तो लागेको थियो । तर भगवानले हात थापिदिएका रहेछन्,’ परियारले भने, ‘घरमा भएको केही काम लाग्ने छैन । के खाने, कसरी बस्ने केही टुंगो छैन ।’
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर
 
  
  
  
  
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4