काठमाडौं । पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै एनिमल नेपालले चिन्ता व्यक्त गरेको छ ।जनावरहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले मङ्गलबार कार्यक्रम आयोजना गर्दै पशु कल्याणका विषय ओझेलमा परेको बताएको छ ।
एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले हरेक जीवित प्राणीको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । ‘मानव अधिकारका बारेमा धेरै चर्चा भए पनि अहिलेसम्म भने पशु अधिकार र कल्याणका विषयमा सामाजिक चेतना कम छ, चेतना स्तरलाई जति सक्दो धेरै बढाउनुपर्छ’ उनले भनिन् ।
पशु ढुवानीमा मात्रै नभई किनबेच गर्ने स्थलसम्म ल्याउँदा पनि क्रूरता अपनाइने भन्दै पशुपक्षीले यातना भोग्दा उनीहरूको शरीरमा पर्ने असर मासुमा पर्ने र त्यो मासु खाँदा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने राणाले बताइन् । ‘मासु उत्पादनमा ओसारपसार हुने पशुलाई मापदण्ड अनुसारकै व्यवहार गर्नुपर्छ, त्यसो गरिएन भने त्यसको प्रत्यक्ष असर मान्छेलाई नै पर्ने हो’ उनले भनिन् ।
पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिंडाउन पाइँदैन । गाडीमा घाँस, पराल र दाना राखेको हुनु पर्छ । बीचबीचमा ओरालेर आराम गराउने र दाना पानी खुवाउनुपर्ने मापदण्डमा उल्लेख छ ।
पशु ढुवानी मापदण्ड अनुसार पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न पाइँदैन । राँगाभैंसीसँग पाडापाडी मिसाउन हुँदैन । सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्छ । नाक र पुच्छर पनि बाँध्न पाइँदैन । राँगा, भैंसी, बोका, खसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस वा सोतर राख्नुपर्छ ।
पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । पशुलाई गाडीभित्र ०.८४ देखि १.२७ मिटर स्थान उपलब्ध हुनुपर्छ । यसो गर्दा एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् । तर एउटै ट्रकमा ३२ वटासम्म जनावर कोचेर ल्याइने गरेको एनिमल नेपालकी फिल्ड अफिसर लक्ष्मी घिमिरेले बताइन् ।
अहिले नेपालमा पशु कल्याण सम्बन्धी कुनै कानुन बनेको छैन । तर पशु ढुवानी गर्दा क्रूर तरिकाले ल्याउन हुँदैन । सुरक्षित साथ ल्याउनुपर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अहिले हामीसँग भएको कानुन भनेको पशु ढुवानी मापदण्ड २०६४ हो । जसले के गर्न पाइन्छ के गर्न पाउँदैन भन्ने कुरा व्यवस्था गरेको छ । पशु ढुवानी गर्दा पशुलाई कुनै पनि किसिमको शरीरमा चोट पटक नलाग्ने गरी ल्याउनुपर्छ । खुट्टा, पुच्छर, नाकमा बाँध्न हुँदैन, कोचेर ल्याउन पाइँदैन भनेर मापदण्डमा उल्लेख गरिएको छ ।
ढुवानी गर्ने क्रममा आठ घण्टामा विश्राम तथा आराम गराउनुपर्छ । उनीहरुका लागि दानापानीको व्यवस्था गरिदिनुपर्छ, हावा छिर्ने, पानी पर्दा छोप्न मिल्ने खाले, चलमलाउन सक्ने ठाउँ हुनुपर्छ भन्ने व्यवस्था छ । तर १७ वर्ष पूरा भइसक्दा पनि यो मापदण्ड राम्ररी लागू भएको छैन ।
पशु ढुवानी मापदण्ड पालना नगरे के हुन्छ ?
पशु ढुवानी गर्दा मापदण्ड अनुसार भएको छ कि छैन भनेर अनुगमन गर्ने पहिलो जिम्मेवारी कृषि तथा पशु मन्त्रालय अन्तर्गतको पशु विभागको हो । पशु विभागले क्वारेन्टाइन राखेर अनुगमन गर्न सक्छ । साथै नेपाल प्रहरीले पनि यसको अनुगमन र नियन्त्रण गर्न सक्छ । मापदण्ड पालना गरेको छैन भने ढुवानी रोक्न सकिन्छ । साथै जरिवाना पनि हुन्छ ।
प्रतिक्रिया 4