+
+

‘प्रकोप विस्थापितका लागि एकीकृत बस्ती बनाउन ढिलाइ गर्नुहुन्न’

प्रकोपका कारण विस्थापित हुने प्रवृत्ति सम्बोधन गर्ने हो भने ठाउँ–ठाउँमा एकीकृत बस्ती बनाउन ढिलाइ गर्नुहुँदैन । २/३ दिन निरन्तर पानी आउँदा कतिपय पहाडले थेग्न नसक्ने अवस्था छ । त्यसैले जोखिमयुक्त पहाडबाट बसाइँ सारेर एकीकृत बस्तीमा रूपान्तरण गर्नुको विकल्प छैन ।

डा. योगेन्द्रबहादुर गुरुङ, प्रमुख केन्द्रीय जनसंख्या विभाग, त्रिवि डा. योगेन्द्रबहादुर गुरुङ, प्रमुख केन्द्रीय जनसंख्या विभाग, त्रिवि
२०८१ असोज १८ गते १२:२१

हिजोका दिनसम्म केवल छलफल र बैठकहरूमा सीमित जलवायु परिवर्तनका असर हाम्रो वरपर देखिन थालेको छ । मानिसहरूको बस्ती र बसोबाससँग यसको असर पर्ने भई नै हाल्यो । प्रकोपका कारण मानिसहरूमा परेको असर र उनीहरूले खोजेको विकल्पको प्रयास सतहमा देखिन थालिसकेको छ ।

नेपालमा प्रकोपका कारण बसाइँ सर्नेहरूको यथार्थ तथ्यांक छैन । बसाइँ सर्नेहरूको आँकडा पर्याप्त देखिन्छ, तर उनीहरू बसाइँ सर्नेका अनेक कारण देखिएका हुन्छन् । तर, बाढी, पहिरो वा हिमताल विस्फोटका कारण हामी बसाइँ सरेका हौं भनेर जवाफ दिनेहरू कमै भेटिन्छन् ।

हामीले अवलोकन, प्रश्नोत्तर वा अरू उपायबाट विपत्का कारण मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सरेको उदाहरणहरू भेट्छौं । तर त्यही विवरणलाई विपत्, अप्ठेरो वा यस्तै कारणले मानिसहरू बसाइँसराइ गरेका हुन् भन्ने पुष्टि हुने तथ्यांक छैन ।

जलवायु परिवर्तन र त्यसले वातावरणमा परेको असरले कति मानिसहरू आफ्नो थातथलोबाट बसाइँ सरेका छन् भनी आँकडामा निकाल्न कठिनाइ हुँदोरहेछ । तर, अप्रत्यक्ष रूपमा हामीले कतिपय विषयहरू हेर्न सक्छौं ।

२०७८ सालको जनगणनाले ३४ वटा जिल्लामा जनसंख्या पहिलेको भन्दा घटेको देखिन्छ । ३४ जिल्लामा अधिकांश हिमाली र पहाडी जिल्लाहरू पर्छन् । त्यसमा पनि काठमाडौं वरपरका जिल्लाहरू पनि परेका छन्, त्यहाँबाट धेरै मानिस बसाइँ सरेका छन् ।

२०७२ सालको भूकम्पपछि त्यसबाट क्षति भएका क्षेत्रहरूका मानिसहरू अन्यत्र हिंडेको देखिन्छ । सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि गोरखाका कतिपय ठाउँहरूबाट मानिसहरू हिंडेका छन् । अप्ठेरो ठाउँहरूमा हरेक वर्ष बाढी, पहिरो र अरू क्षति भएपछि मानिसहरू बस्न नसक्ने भए । पछिल्लो समय भक्तपुरका विभिन्न ठाउँहरू भरिनुको कारण पनि त्यही हो ।

राष्ट्रिय जनगणनामा कारण हेर्ने हो भने प्रकोपका कारणले बसाइँ सर्नेहरू आधा प्रतिशत मात्रै छन् । धेरै मानिस त्यसकै कारण बसाइँ सरेपछि अरू कारण बनाउँछन् वा बोल्न चाहँदैनन् । जलवायु परिवर्तनका कैयौं असर पनि मानिसहरूले अनुभूत गरेका छन्, तथ्यांकमा स्पष्टसँग तत्काल नदेखिंदो रहेछ ।

मानिसहरू बसाइँ सरेर हिंड्नुपर्‍यो भने पनि शिक्षा, स्वास्थ्य जस्ता अवसरका कुरा गर्छन् । रोजगारीका लागि हिंडेको भन्छन् । तर विपत्, अभाव वा त्यसका असरबारे खुल्दैनन् । मुस्ताङको पहिरो, केही महिना अघिको मनाङको हिमपहिरो लगायतले मानिसहरूलाई अरू अवसर खोज्न र हिंड्न प्रेरित गरिरहेको छ ।

तर, हामीले त्यसबारे यसरी र यो कारणले मानिसहरू सरे भन्न सक्दैनौं, यी ३४ वटा जिल्लाहरूबाट मानिसहरू हिंडिरहेको देखियो, यसका केही कारणमा प्रकोप पनि पक्कै हो । तर प्रकोपकै कारण यिनीहरू हिंडेका हुन् भनी ठोकुवा गर्न सकिंदैन ।

जलवायु परिवर्तनका कारण तापक्रम बढ्दो छ । त्यसकै कारण ठूलो जनसंख्या तराईतिर झर्दो छ र त्यही हुलले तराईको तापक्रम पनि बढ्दै गएको देखिन्छ । केही वर्षयता मधेशमा रहेका मानिसहरूले खप्नै नसक्ने गर्मी बढ्यो भनिरहेका छन् । पहाडका मानिसहरू अवसर र विभिन्न सहजताका लागि तराई झरिरहेका छन् । तराईकै गर्मीले दिग्दार भएका कतिपय व्यक्तिहरू विकास र सुविधा हुने हो भने पहाडलाई पनि विकल्प बनाउन खोजिरहेको देखिन्छ ।

विश्वका कैयौं मुलुकमा पनि प्रकोपका कारण प्रतिकूलता व्यहोरिइरहेका ठाउँबाट मानिसहरू हिंड्ने क्रम तीव्र बनेको देखिन्छ । हिन्दु कुश क्षेत्रका कतिपय कमलो पहाडहरू प्रकोपमा परेका छन्, त्यहाँको बस्ती जोखिममा परेको भेटिन्छ । त्यस्ता ठाउँबाट मानिसहरू अन्यत्र हिंड्न लालायित हुन्छन् ।

चुरेमा मानिसहरूको जीवन संकटमा पर्दैछ । भूगर्भशास्त्रीहरूले पनि यहाँको कमलो माटोका कारण वातावरणीय संकट चुनौतीपूर्ण छ भनिरहेका छन् । चुरेका धेरै ठाउँ मानव बस्तीयोग्य छैन । निकै सीमित ठाउँ मात्रै सुरक्षित छन् । चुरेमा रहेका कैयौं मानव बस्ती जोखिममा छन्, उनीहरूले अन्यत्र अवसर पाउने हो भने सुरक्षित ठाउँ खोज्छन् ।

प्रकोपका कारण मानिसहरू आन्तरिक बसाइँसराइमा लाग्छन् । उनीहरू अप्ठेरोमा छन् भने तत्काल बसाइँ सरिहाल्छन, र नजिकको सुरक्षित ठाउँ नै रोज्छन् । अलि सुरक्षित हुनेहरूले नै उपयुक्त समय खोजेका हुन्छन् । वैदेशिक बसाइँसराइको पाटो अर्को छ ।

उदाहरणका लागि, सिन्धुपाल्चोक दोलखाका कतिपय भूकम्प पीडितहरू शुरूमा नजिकको सुरक्षित ठाउँ, जिल्ला सदरमुकाम आए । अनि त्यहाँबाट काठमाडौं र वरपरका शहर रोजेको देखिन्छ । यसपालिको जनगणनाले पनि ठूलो संख्या आन्तरिक बसाइँसराइमै लागेको देखिन्छ ।

शहरबाट शहरमा हुने बसाइँसराइ पनि बढेको देखिन्छ । सिन्धुपाल्चोकका गाउँबाट चौतारा आउँछन्, अनि अलि सक्षम बनेपछि बल्ल नेटवर्क प्रयोग गरेर काठमाडौं आउँछन् । अनि क्षमता भएकाहरू बाहिर जान्छन् । बसाइँ सर्नेहरूको तौरतरिका हेर्दा आधाभन्दा बढी गाउँबाट शहरतिर छिर्नेहरू छन् । एक तिहाइ हिस्सा एउटा शहरबाट अर्को शहरमा बसाइँ सर्नेले ओगटेको छ ।

अब राज्यले प्रकोपलाई रोक्न सक्दैन, त्यसको क्षति कम गर्नेसम्म हो । एकीकृत बस्ती, सुरक्षित बस्ती विकास गर्ने र त्यहाँ पूर्वाधार पुर्‍याउनु नै उचित विकल्प हो । त्यो नभएकै कारण अहिलेको अवस्था देखिएको हो । त्यही अवसरको खोजीमा रहेकाहरू एउटा शहरमा आएर पनि चित्त नबुझाएर अझै अवसर भएको शहरमा सर्न खोज्छन् ।

काठमाडौं उपत्यका बसाइँसराइको दबाबमा छ । मानिसहरू सकेसम्म यहीं नै आउन खोज्छन्, शहरी क्षेत्रबाट पनि काठमाडौं नै आउन खोज्छन् । पोखरा जस्तो ठाउँबाट, अनि विराटनगरबाट पनि काठमाडौं आउन खोजिरहेका छन् । अवसर र विकासको विकेन्द्रीकरण हुन सकेन । काठमाडौं बाहेकका ठाउँमा अवसरहरू फैलिन सकेन, अनि काठमाडौंलाई नै उनीहरूले अवसरको विकल्प र अन्तिम गन्तव्य ठान्न थाले ।

मुलुक संघीय तहमा गएपछि प्रदेश तहलाई सक्षम र शक्तिशाली बनाउनुपर्ने थियो । तर, प्रदेशलाई झनै पंगु बनाउने काम भइरहेको छ । योजना आयोगका कतिपय दस्तावेजमा जनसंख्याको समान वितरणका लागि अवसरको वितरण गर्ने, सुविधाहरू विस्तार गर्ने लगायत विषय परेका छन् । तर, अहिलेसम्म सुधार हुनुको साटो केन्द्रीकृत भइरहेको देखिन्छ ।

अब हामीले प्रकोपका कारण विस्थापित हुने प्रवृत्तिलाई सम्बोधन गर्ने हो भने ठाउँठाउँमा एकीकृत बस्ती बनाउन ढिलाइ गर्नुहुँदैन । पहाडका कतिपय ठाउँमा २/३ दिन निरन्तर पानी आउने हो भने थेग्न नसक्ने अवस्था छ । कुन ठाउँमा बस्न कति उचित छ भनेर अहिल्यै मूल्यांकन गर्नु उचित हुने देखिन्छ । जोखिमयुक्त पहाडबाट बसाइँ सारेर एकीकृत बस्तीमा रूपान्तरण गर्नुको विकल्प छैन ।

(त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसंख्या विभागका प्रमुख गुरुङसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?