टिटानस एक गम्भीर र प्राणघातक रोग हो । जसको खोप बालबालिकाको सुरक्षाका लागि अनिवार्य मानिन्छ । यो रोग प्रायः माटो, धुलो वा फोहोर वस्तुमा पाइने टिटानस ब्याक्टेरियाबाट सर्छ, जुन चोटपटकबाट शरीरमा प्रवेश पाउँछ ।
टिटानसका जीवाणु शरीरभित्र वर्षौंसम्म बाँचिरहन सक्छन् । यसले उत्पादन गर्ने टिटानोस्पाज्मिन पदार्थले हाम्रो स्नायु प्रणाली, मस्तिष्क र मांसपेशीमाथि नराम्रो असर पार्ने देखिन्छ । यी कीटाणुलाई २० मिनेटसम्म पानीमा उमाल्दा पनि मर्दैनन् । घाउचोटको माध्यमबाट शरीरभित्र प्रवेश गरेपछि कीटाणु सक्रिय हुन थाल्छन् ।
टिटानसका लक्षण
टिटानसका जीवाणु शरीरभित्र प्रवेश गरेको एक-दुई हप्तापछि लक्षण देखिन्छ । ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने समस्या हुन्छ । बङ्गाराको मांसपेशी कडा हुने र मुख खोल्न तथा बन्द गर्न गाह्रो हुने, खाना खान, पेय पदार्थ पिउन गाह्रो हुने, पेट साह्रो हुने, शरीरको पछाडिको मांसपेशी खुम्चिने जस्ता समस्या देखिन्छन् । मांसपेशीमा पीडा बढ्दै जाने, श्वासप्रश्वास छिटो छिटो हुने तथा श्वास फेर्न अप्ठेरो हुने, धेरै पसिना आउने, रक्तचाप बढ्ने जस्ता समस्या पनि टिटानसका लक्षण हुन् ।
कस्तो अवस्थामा लगाउनुपर्छ खोप ?
कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ ।
टिटानसको एन्टिटक्सिन खोपले शरीरभित्र ब्याक्टेरियाले पैदा गरेको विषादलाई निष्फल बनाउन र मांसपेशीको कडापन र पीडा हटाउन मद्दत गर्छ । टिटानसको खोप अस्पताल, स्वास्थ्य चौकी र सामान्य औषधि पसलमा पनि उपलब्ध हुन्छ । त्यसैले केही कारण चोटपटक लागेमा नजिकैको औषधि पसलमै गएर पनि यो खोप लगाउन सकिन्छ ।
टिटानस खोपका बारेमा साधारणतया उठ्ने प्रश्नहरू र त्यसको उत्तर :
मेरो बच्चा चार वर्षको भयो, के उसलाई टिटानस खोप लगाउनुपर्छ ?
– यदि बच्चाले नियमित खोप तालिका अनुसार डिपीटी (डिप्थेरिया, टिटनेस, पर्टुसिस) खोप लगाइसकेको छ भने उसले टिटानसको राम्रो सुरक्षा पाएको हुन्छ । सामान्यतया यो खोप २ महिना, ४ महिना, ६ महिना र १८ महिनामा दिइन्छ । पाँच वर्षको उमेरमा थप बुस्टर डोज दिन सिफारिस गरिन्छ । बच्चाले खोपको कुनै डोज छुटाएको भए तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
बच्चालाई चोटपटक लागेको छ, टिटानस खोप लगाउनुपर्छ ?
– यदि बच्चालाई चोट लागेको छ, विशेषगरी फोहोर वा धुलो भएको वस्तुले चोट लागेको हो भने चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ । गहिरो वा काटिएको घाउहरूमा टिटानस संक्रमणको उच्च जोखिम हुन्छ । यदि बच्चाले पछिल्लो पाँच वर्षभित्र बुस्टर डोज पाएको छैन भने चिकित्सकले टिटानस टोक्सोइड वा टिटनेस इम्युनोग्लोबुलिन दिन सिफारिस गर्न सक्छन् ।
टिटानस खोप कुन–कुन उमेरमा दिनुपर्छ ?
नेपालमा टिटानस खोप बालबालिकालाई पाँच चरणमा दिइन्छ ।
पहिलो डोज : २ महिना
दोस्रो डोज : ४ महिना
तेस्रो डोज : ६ महिना
बुस्टर डोज : १८ महिना
अर्को बुस्टर डोज : ५ वर्षको उमेरमा
टिटानस खोप किन आवश्यक छ ?
टिटानस एक यस्तो रोग हो, जसको कुनै निश्चित उपचार छैन । यसबाट मांसपेशीहरूको असह्य पीडा, झट्का र श्वासप्रश्वासमा समस्या हुनसक्छ । टिटानस खोप नै यसबाट बच्न सक्ने एक मात्र सुरक्षित उपाय हो । खोपले शरीरलाई टिटानस ब्याक्टेरियाबाट सुरक्षित राख्ने एन्टिबडी उत्पादन गर्न मद्दत गर्छ । टिटानस खोप सामान्यतया औषधि पसलमा ५० देखि ६० रुपैयाँमा लगाउन सकिन्छ ।
चोट लाग्दा के गरेर टिटानसबाट बच्न सकिन्छ ?
चोट लागेपछि घाउ तुरुन्तै सफा गर्नु र उचित रूपमा उपचार गर्नु महत्त्वपूर्ण हुन्छ । यदि घाउ गहिरो छ वा माटो-धुलोले संक्रमित भएको छ भने तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकले खोप लगाउन आवश्यक भए समयमै लगाउन सिफारिस गर्छन् ।
प्रतिक्रिया 4