दुर्घटना हुने ठाउँमध्ये एक प्रमूख हो, शौचालय पनि । हामीकहाँ ल्याइएका बिरामीबारे सोधियो भने, उनीहरु शौचालयमा बेहोस भएको पाइन्छ ।
शौचालयमा अचानक बेहोस र कतिको मृत्युसमेत हुने गरेको पाइन्छ । किन यस्तो हुन्छ त ? किनभने शौच गर्ने क्रममा हामी जसरी बल लगाउँछौं त्यसले मस्तिष्कको नसामा दबाव पर्न सक्छ । यस्तो दबावले गर्दा नसा फुट्छ र मस्तिष्कमा रगत जम्न पुग्छ ।
खासगरी बुढापाका वा रक्सी–चुरोट पिउनेहरुमा यसको बढी जोखिम हुन्छ । त्यस्तै कब्जियत जस्ता समस्या भएकाहरुमा पनि यो जोखिम हुनसक्छ ।
यस स्थितीलाई मस्तिष्कघात भनिन्छ । यो एक जटिल स्वास्थ्यस्थिती हो । तुरुन्त उपचार गरिएन भने यसले बिरामीको ज्यान जान पनि सक्छ । किनभने विश्वभरको तथ्यांकले भन्छ, ‘अचानक मृत्युको चौथो कारण मस्तिष्कघात हो ।’
मस्तिष्कघात के हो ? यो कसरी हुन्छ ? यसको उपचार के छ ?
सामान्य भाषामा बुझ्नुपर्दा मस्तिष्कमा कुनै कारणवश आघात पुग्नु नै मस्तिष्कघात हो । विज्ञहरुले के अनुमान गरेका छन् भने, पछिल्लो पाँच बर्षमा मृत्यु र पक्षघात गराउने प्रमूख कारणमा मस्तिष्कघात हो ।
यो आफैमा जटिल समस्या हो । तर, समयमै उपचार गर्न सकियो भने बिरामीलाई बचाउन सकिन्छ । किनभने हामीकहाँ मस्तिष्कघातको घटनालाई केलाउँदा धेरैजसो अस्पताल पुग्न नपाएर मृत्यु भएको देखिन्छ ।
मस्तिष्क घात दुई किसिमको हुन्छ । ब्रेन हेमोरेजिक स्ट्रोक र अर्को, स्केमिक स्ट्रोक ।
ब्रेन हेमोरेजिक स्ट्रोक
मस्तिष्कभित्र नसाहरु अचानक फुटेर रगत बगेर दिमागको तन्तुहरुलाई दबाब दिइ क्षति पु¥याउन थाल्नेमा हुने मस्तिष्कघातलाई ब्रेन हेमोरेजिक स्ट्रोक भनिन्छ ।
स्केमिक स्ट्रोक
मस्तिष्कको नसामा अवरोध भएर सूक्ष्म मस्तिष्कको भागहरु सुकेर जान्छ । त्यहाँको नसामा अवरोध भइ रक्तसंचार एक्कासी बन्द हुनेलाई स्केमिक स्ट्रोक भनिन्छ ।
यस्तोमा मस्तिष्कले अक्सिजन र पोषण रगतबाट पाउँदैन । अक्सिजन र पोषण नपाउँदा मस्तिष्कका कोषहरु क्रमस मर्दै जान्छन् ।
तथ्यांकअनुसार सयमा नब्बे प्रतिशतमा दिमागको नसा सुकेर स्केमिक स्ट्रोक हुन्छ ।
दश प्रतिशतमा मात्र मस्तिष्क भित्र नसा फुटेर रक्तस्राव भइ हेमोरेजिक स्ट्रोक हुन्छ । तुलनात्मकरुपमा हेमोरेजिक स्ट्रोक थोरैमा हुने तर जटिल नतिजा दिने मस्तिष्क घात हो ।
किन यस्तो हुन्छ ?
– कोलेस्टेरोल, मुटु रोग, मधुमेह, उच्च रक्तचाप समयमा पत्ता नलाग्नु वा सो नियन्त्रणमा ल्याउने औषधि नखानु र चिकित्सकको फलोअपमा नजानु ।
-औषधि खाने तर रक्सी र चुरोट अत्याधिक खाने । शारीरिक व्यायाम पटक्कै नगर्ने ।
-मस्तिष्कमा कुनै समस्या भएमा ।
-अनियन्त्रित खानपान तथा मोटोपन भएमा ।
-खानुपर्ने औषधि नखाएका वा खाँदै छाडेकालाई पनि मस्तिष्क घात हुनसक्छ ।
-कम उमेरमै मुटुको समस्या भएकाहरूमा मुटुमा रगत जमेर बिस्तारै मस्तिष्कको नसासम्म पुगेर मस्तिष्क घात हुनसक्छ ।
के मस्तिष्कघात अचानक हुन्छ ?
मस्तिष्कघात कुनै संकेत दिएर आउँदैन । तर, मस्तिष्क घात हुनु करिब एक घण्टा अघि वा भइसकेपछि लक्षण भने देखाउँछ ।
लक्षण
-एक घण्टा अघिबाट टाउको दुख्नु
-अनुहार बाङ्गिएको जस्तो देखिनु
-बोली लरबराउनु वा बोल्न नसक्नु
-शरीरको एक भाग अचानक कमजोरी अनुभव हुनु वा हातखुट्टा झमझमाउनु
-एक वा दुई आँखाले हेर्नमा कठिनाइ हुनु
-हिँड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु
-नसा फुटेर रक्तस्राव हुनु पूर्व अत्यधिक टाउको दुख्ने, बेहोस हुनेलगायतका लक्षण देखिन सक्छ ।
जोखिम समूह
-मधुमेह, उच्च रक्तचापको नियमित औषधि नखाने
-उमेर बढे सँगै धूम्रपान, मदिरापान र लागुऔषध लिने
-दिसापिसाब गर्न बल लगाउने
-निष्क्रियता
कति बेला अस्पताल जाने ?
माथि उल्लेखित लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ । समयमै अस्पताल पुगेका १० प्रतिशत मात्र बाँच्न सफल हुन्छन् ।
किनकि लक्षण देखिएको २४ घण्टाभित्र बिस्तारै मस्तिष्कको कोष मर्दै जाने हुँदा एक÷एक मिनेटको महत्व हुन्छ ।
मरिसकेको तन्तु वा नसालाई केही गर्न नसके पनि बाँकी नसामा भएको अवरोध खोलेर रक्त सञ्चार गराउन सकिन्छ । यसले बिरामी बाँच्ने सम्भावना बढ्छ । समयमै नसा खोल्न सके पूर्णतय निको हुन्छ ।
टाउको दुख्ने बित्तिकै डराउनु पर्दैन
टाउको दुखाई हुनेहरूमा ५ प्रतिशतमा मात्र मस्तिष्क सम्बन्धी समस्या हुन्छ । साताभरमा पनि टाउको दुखाई उस्तै रह्यो, औषधिले काम गरेन, दुखाई बढ्यो, बिहानपख वान्ता भयो, थकान भयो, आँखा धमिलो देख्न थाल्यो भने मस्तिष्कमा समस्या भएको हुनसक्छ ।
के छ त उपचार ?
स्केमिक स्ट्रोक भएमा मस्तिष्कको सानो नसा बन्द भएको हुन्छ, जसमा थ्रम्बोलाइसिस औषधि दिएर जमेको रगतको ढिक्कालाई पगाल्न सकिन्छ । ठूलो नसा बन्द भएको अवस्थामा औषधिले पगाल्न सक्दैन ।
औषधि दिएर पनि कुनै प्रभाव नदेखिएमा एउटै मात्र विकल्प बाँकी रहन्छ, न्युरोइन्टरभेनसनल विधि ।
यसमा टाउकोको चिरफार नगरी भित्र–भित्रै नसाबाट मस्तिष्कसम्म तार पुर्याएर जमेको रगतले अवरोध भएको नसा खोलिन्छ ।
त्यस्तै हेमोरेजिक भएमा चिरफार र तारको माध्यम दुबैबाट उपचार गर्न सकिन्छ ।
तर, विडम्बना नेपालभर दक्ष जनशक्ति, उपकरण र बेलैमा रोगको पहिचान नहुनु, अस्पताल जान नखोज्नु वा ढिला पुग्दा वर्षेनी कयौंले मस्तिष्कघातको कारण ज्यान गुमाएका छन् ।
यसको रोकथाम के छ ?
मस्तिष्कघातको कुनै रोकथाम छैन । तर, कुनै कुरामा शरीरबाट बल लगाउनु पर्ने अवस्थामा भने यसको जोखिम बढ्छ ।
मधुमेह, मुटु रोग भएकाहरूले दिसा गर्न बल लगाउने, प्रोस्टेटको समस्या हुनेले पिसाबको लागि अत्यधिक बल लगाउने काम गर्नु हुँदैन ।
त्यस्तै, शारीरिक सक्रियता बढाउने, दीर्घ रोगलाई नियन्त्रणमा राख्ने र मदिरापानको लतबाट बच्नु मस्तिष्कघात मात्र होइन धेरै रोगबाट बच्न सम्भव छ ।
प्रतिक्रिया 4