+
+

पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते ९:५१

२३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको बताएका छन् ।

बुधबार सम्पादकहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै  संकटको संकेत हो । सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न ।’

प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएका छन् । गत असार मध्यराति कांग्रेस–एमाले बीच सात बुँदे समझदारी भएको थियो । सोही समझदारीका आधारमा संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले सरकार बनाएका हुन् ।

कांग्रेस र एमाले बीच समझदारी भएपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रचण्डले गत असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए । प्रचण्डले विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि कांग्रेस र एमालेको समर्थनमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए ।

दुई दलका बीचमा भएको समझदारी अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका छन् ।

दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ । संसदको पहिलो र दोस्रो ठूलो दलले सरकार बनाउँदा नेपालको संविधान २०७२ मा आवश्यक संशोधन गर्ने सहितका एजेण्डा अगाडि सारेका छन् । तर, के संशोधन गर्ने ठोस रुपमा प्रस्तावित भएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अहिले संविधान संशोधन नभइ कार्यान्वयन आफूहरुको प्राथमिकता रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?