 
															२८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ।
बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि गरेको थियो। यसबाट शिविरमा धुवाँ फैलिएको र १५ जना शान्ति सैनिकहरू घाइते भएका थिए। उनीहरूलाई छालामा जलन र पेट सम्बन्धी समस्या देखिएको छ।
तर, इजरायली रक्षा बल (आईडीएफ) ले भने घाइते सैनिकहरूलाई उद्धार गर्न यूनीफीलको आधार शिविरमा प्रवेश गरेको जिकिर गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
इजरायलले बारम्बार शान्ति मिसनलाई युद्ध चलिरहेको दक्षिणी लेबनानका क्षेत्रबाट हट्न आग्रह गर्दै आएको छ। तर, यूनीफीलले यी आग्रहहरूलाई अस्वीकार गर्दै आएको छ।
लेबनानमा करिब ५० देशका १० हजार यूएन शान्ति सैनिक र ८०० जना सर्वसाधारण कर्मचारी तैनाथ छन्। सन् १९७८ देखि यी सैनिकहरू लितानी नदी र ‘ब्लू लाइन’ भनेर चिनिने लेबनान र इजरायलबीचको सीमा क्षेत्रमा गस्ती गर्दै आएका छन्। लेबनान र इजरायलबीचको संयुक्त राष्ट्रद्वारा मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ।
लेबनानमा रहेको संयुक्त राष्ट्र शान्ति मिसनमा नेपाल पनि एक प्रमुख योगदानकर्ता देश हो।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4