+
+

ट्राफिक नियम उल्लंघन गर्नेलाई अब डिजिटल चिट

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १७:१३

४ कात्तिक, काठमाडौं। सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई-चलान) दिने प्रणाली सुरु गरेको छ ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान (डिजिटल चिट)को उद्घाटन गरेका छन् ।

गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने स्पष्ट पारे । उनले भने, ‘कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ।’

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उहाँले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पारे ।

उनले सडक नियम उल्लङ्घन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारी चालकलाई कारबाही र तत्कालै जरिवाना तिर्न सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको बताए । उनले भने, ‘आजदेखि प्रारम्भ भएको छ, अब कार्यानवयन गर्नुपर्छ, यो प्रणालीले सबैलाई सरलता प्रदान गरोस्, सफल प्रणालीका रुपमा प्रयोग गरेर उदाहरणीय काम गर्न सकोस्।’

बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएको जनाउँदै गृहमन्त्री लेकखले सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले न्यून साधनस्रोतको उपलब्धताका बीच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यात्रु सुरक्षालाई प्रभावकारी बनाउँदै आएको बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरत बोहराले अत्याधिक सवारी चाप, सीमित सडक सञ्जाल, सडक नियम पालना नगर्ने प्रवृत्तिलगायतले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको बताए ।

आजदेखि सुरू गरिएको उक्त डिजिटल चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी गर्न सकिनेछ ।

ट्राफिक प्रहरीका अनुसार डिजिटल चिटको कार्यान्वय पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा कार्यान्वयनमा हुनेछ । यसका लागि सरकारले ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?