 
																			६ कात्तिक, चितवन । चितवनको भरतपुरमा माछा विज्ञ तथा किसानहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
भरतपुरस्थित ग्लालेक्सी गार्डेन रिसोर्टमा ७ देखि ९ कात्तिकसम्म चल्ने सम्मेलनमा विभिन्न १० वटा देशका २०० वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थी सहभागी रहने आयोजकले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेपाल फिरिसज सोसाइटी, कृषि तथा वन विज्ञान विश्वविद्यालय, केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गर्न लागिएको सम्मेलनमा भारत, चीन, बंगलादेश, थाइल्याण्ड, हंगेरी, जापान, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, मलेसिया र नेपालका प्रतिनिधि सहभागी हुने नेपाल फिसरिज सोसाइटीकी अध्यक्ष प्रा.डा. सुनिला राईले जानकारी दिइन् । सम्मेलनको उद्घाटन कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गर्नेछन् ।
सम्मेलनमा ७ प्रदेशबाट २/२ जना माछापालक किसान सहभागी हुनेछन् । उनीहरुमध्येबाट ५ जनाले माछापालनमा भोगेका समस्याका विषयमा कार्यपत्र पेश गर्नेछन् ।
मत्स्य सहकारीहरुबाट पनि प्रतिनिधीहरु सहभागी हुने कार्यंक्रम संयोजक प्रा.डा. राईले जानकारी दिइन् । सम्मेलनमा ४० वटा विदेशी, १०३ वटा नेपाली गरी कुल १४३ वटा वैज्ञानिक कार्यक्रम पेश गरिनेछ । १२१ वटा मौखिक कार्यपत्र र २२ वटा पोष्टर प्रस्तुतिकरण रहनेछ ।
सम्मेलनमा शिक्षाविद्, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा सम्वन्धित क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विषेशज्ञहरुले आफ्ना अनुभव, प्रविधिको विकास, अनुसन्धान नतिजा तथा असल अभ्यासहरुको ज्ञान आदानप्रदान हुने संयोजक राईले बताइन् ।
जलवायु परिवर्तनले माछा प्रजातिमा परेको असर, पर्यावरणमैत्री दिगो मत्स्यपालन, मत्स्य स्वास्थय र पोषण, प्रजनन्, जलचरहरुले भोगेका चुनौती र व्यवस्थापन लगायतका विषयमा कार्यपत्रहरु पेश हुने संयोजक राईले जानकारी दिइन् ।
नेपालमा पाइने माछाहरुको संरक्षण, उत्पादनको अवस्था, संरक्षणका नीतिहरुका बारेमा पनि कार्यक्रममा छलफल हुनेछ । नेपालमा २५२ प्रजातिका माछा पाइनेमा २१ प्रजातिका माछाहरु संकटमा रहेको र तीमध्ये ४ प्रजाति लोप हुने अवस्थामा पुगेको सोसाइटी अध्यक्ष प्रा.डा.राईले जानकारी दिइन् ।
सोसाइटीकी महासचिव सरिता गौतमले प्राकृतिक जलाशयमा बार्षिक २१ हजार मेट्रिक टन र व्यावसायिक फर्महरुमा १ लाख १३ हजार मेट्रिक टन माछा उत्पादन हुने जानकारी दिइन् । उनका अनुसार गत बर्ष भारतबाट ४ हजार ८ सय मेट्रिक टन माछा आयात भएको थियो ।
भारतबाट हुने माछाको आयात हरेक बर्ष घट्दै गएको र नेपालमा ५ देखि १० प्रतिशत माछाको उत्पादन बढ्दै गएको गौतमको भनाइ छ ।
प्राकृतिक जलाशय तथा खोलाहरुमा जथाभावी रुपमा करेन्ट लगाएर, विषय हालेर माछा मार्न खोज्दा माछा मात्रै नभई अन्य जलचरहरुको समेत अस्तित्व लोप हुने खतरा रहेको गौतमले बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4