 
																			७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारबाट भएका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको बताएका छन् ।
बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
प्रेस सेन्टर नेपालका इञ्चार्ज समेत रहेका उपाध्यक्ष सापकोटाले कातिक १० गते हुने प्रदर्शनका क्रममा सरकारले एक सय दिनमा गरेका गलत काम राम्रोसँग थाहा पाउने बताए ।
ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ । यसैक्रममा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
यसअघि माओवादीसहितका विपक्षी दलहरुले सुशासनमा सरकार कमजोर भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । आजै अपराह्न विपक्षी दलहरुले राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
‘सरकार नाङ्गो रुपमा नै दलाल पुँजीपतीको पक्षमा खुल्मखुला लाग्यो,’ माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका मीन बहादुर गुरुङसँग १० रोपनी जग्गा र भवनसम्म लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ ।’ गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा भएको उनले बताए ।
प्रतिनिधि सभाको दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ । यही निष्कर्षसहित माओवादीले भृकुटीमण्डप प्रदर्शनी मार्गमा कात्तिक १० गते खबरदारी सभा गर्न लागेको हो ।
प्रदर्शनका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको ध्यानाकर्षण गराइने सापकोटाले बताए ।
नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरण, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप, बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रण तथा सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज उठाउने माओवादी केन्द्रले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4