 
																			७ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन्।
सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत बताए।
‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौं’ – उनले भने -‘एक पटक मुख्यमन्त्री भएपछि, एक पटक सभामुख भएपछी पूर्व बिशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो त्यो निर्णय उल्टायौं। त्यागको भावना बोकेर यो सरकार अगाडी आएको छ । जनताबाट उठाएको करबाट सेवा सुविधा लिनु राम्रो होइन।’
प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडी बढेको बताउदै मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको समेत स्पष्ट पारे । विवाह भोज पूजा जस्ता व्यक्तिगत निमन्त्रणमा सरकारी गाडी प्रयोग नगर्न मुख्यमन्त्रीले निर्देशन दिए ।
पाँच बर्षे रणनीतक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माण गर्ने बिषयाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।
व्यावसायिकता अभिवृद्वि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्व प्रवद्र्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्यांकन, समन्वय, सहकार्य तथा साझेदारीलाई बिषयगत क्षेत्रलाई आधार मानेर रणनीति र कार्यनीति प्रस्ताव गरिएको उनले बताए।
सार्वजनिक प्रशासनका सबै क्षेत्रहरुमा नैतिकता प्रवद्र्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी रुपमा शासकीय क्रियाकलापहरु सञ्चालन गर्ने योजना बनाइएको मुख्यमन्त्रीको दाबी छ।
कार्यक्रममा दाङ, बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्य, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो । कार्यक्रममा प्रदेश सचिव कृष्ण पौडेलले शुसान प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरणबारे पाँच वर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुती राखेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4