+
+

मकवानपुरमा चोरी र लागुऔषधमा ९ आरोपी पक्राउ, सबै ३० वर्षमुनिका

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते २०:०७

८ कात्तिक, हेटौंडा । मकवानपुरमा प्रहरीले हेटौंडा र मकवानपुरगढीमा भएका चोरी र लागूऔषध गाँजा ओसारपसार घटनाका आरोपी ९ जनालाई बिहीबार सार्वजनिक गरेको छ ।

आरोपित सब ३० वर्ष भन्दा कम उमेरका छन् । ८ जना चोरी घटनामा र १ जना गाँजा ओसारपसारको आरोपमा पक्राउ परेका हुन् ।

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट लाखौं मूल्यको बिजुलीको तार चोरी गर्ने गिरोहका तीन जना हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिका २२ वर्षीय मनिराम थोकर, सोही ठाउँका २८ वर्षीय सन्तबहादुर तितुङ र भारत घर भएका कबाड व्यवसायी दिल खुशकुमार साह पक्राउ परे ।

‘९ जना सबै ३० वर्षमुनिका हुन् । यसमध्ये एक जनाको घर, परिवार नै छैन । अर्का एक जना परिवार भन्दा बाहिर एक्लै रहेको र अपराधमा संलग्न भएको पाइयो’, मकवानपुरका डीएसपी श्यामु अर्यालले भने ।

उनका अनुसार उद्योगको तार चोरी गर्न हेक्सो ब्लेड खरिद गर्ने मनिराम थोकर परिवारको नियन्त्रण बाहिरै रहेर अपराधको दुनियाँमा सक्रिय भएका युवक हुन् । उनी एक्लो दुनियाँमा रहँदै आएको पाइएको उनले बताए ।

यस्तै, ३ कात्तिक बिहान ४ बजे हेटौंडा–८ कर्णावतीमार्ग स्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तार चोरी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले ७ कात्तिकमा हेटौंडा–८ कमाने बस्ने २६ वर्षका सुमन राई, २५ वर्षका समिर घिमिरे र ८ कात्तिकमा २४ वर्षका सुशान्त क्षेष्ठलाई स्थानीय निर्माणाधीन चर्चको भवनमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।

श्रेष्ठ तीन वटा चोरीको घटनामा संलग्न भएका युवक हुन् । डीएसपी अर्यालका अनुसार श्रेष्ठको घर र परिवार दुवै छैन । ‘श्रेष्ठको घर पनि छैन र परिवार तै छैन रहेछ । ऊ यसैगरी चोरीको घटनामा पहिल्यैदेखि संलग्न रहेको पाइयो’, उनले भने ।

आरोपित श्रेष्ठमाथि १६ असोजमा राति हेटौंडा–८ क्याम्पाडाँडास्थित हेटौंडा फन भिल्लाबाट ६० हजार मूल्य बराबरको साउण्ड सिष्टम र २० हजार नगद चोरी गरेको आरोप छ । यस्तै, हेटौंडा–२, स्थित शान्तिटोलबाट ना ३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल चोरी भएको घटनामा पनि श्रेष्ठ संलग्न रहेको भेटिए ।

यसैगरी, बिहीबार बिहान ५ बजे मकवानपुरगढी–२ शिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डबाट तराई–काठमाडौं द्रुत मार्गमा वेल्डिङको काम गर्ने दुई जना मिस्त्रीलाई तार चोरी गरेको आरोपमा पक्राउ गरेको डीएसपी अर्यालले बताए ।

कञ्चनपुर बेलडी गाउँपालिका–३ का २४ वर्षीय राजेश्वर चौधरी र उनको मामा राहुल चौधरी लेनडाँडाबाट ३७ दशमलव २३ किलो सेतो धातुको बिजुलीको तार चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । आरोपित राहुल चौधरी पनि ३० वर्ष मुनीको रहेको डीएसपी अर्यालले जानकारी दिए । तार बिक्री गर्न भन्दै हेटौंडातर्फ आउँदै गर्दा उनीहरु कान्तिलोकपथ सडकबाटै पक्राउ परे ।

मकवानपुरमा गतवर्ष २०८०/८१ को अपराधिक घटनामा संलग्न आरोपितहरुको तथ्यांक हेर्दा ६० प्रतिशत ३५ वर्षमुनिका रहेको डीएसपी अर्याल बताउँछन् । धेरै युवाहरु अपराधिक घटनामा संलग्न हुनुमा मुख्यतः शिक्षाको अभाव, अभिभावकविहीन, बेरोजगारी र साथीसंगत कारण रहेको उनले बताए । अपराधिक घटनामा संलग्न युवा उमेरका आरोपितहरुसँग चेतनास्तर नै कमि रहेको पाइएको अर्याल बताउँछन् ।

१४ वर्षीय बालक प्रहरीको सहयोगी

मकवानपुर प्रहरीलाई चोरीको घटनामा संलग्नहरु पक्राउ गर्न १४ वर्षीय बालक सहयोग बन्न पुगे । उनै बालकले चोरीमा संलग्नहरुको जालोबारे प्रहरीलाई सूचना दिएका थिए ।

डीएसपी अर्यालले १४ वर्षीय बालककै सहयोगमा चोरीका घटनाबाट पटक–पटक उम्किँदै आएकाहरु समातिन पुगेको बताए । प्रहरीले बालकको परिचय गोप्य राखेको छ । प्रहरीको सहयोगी बन्ने देखेपछि उनलाई तारेखमा छोडिएको डीएसपी अर्यालले बताए ।

उनी कुन घटनामा संलग्न भएका हुन भन्ने सूचना प्रहरीले दिएन । ‘ती बालकलाई कसले चोरी गर्छ, चोरेको सामान कहाँ–कहाँ बिक्री हुन्छ सबै थाहा रहेछ । हाम्रो सहयोग बन्न पुगे । उनैको सहयोगमा प्रहरीले सफलता पायो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?