११ कात्तिक, बुटवल । भारतबाट अवैधरुपमा ठूलो मात्रामा बोइलर कुखुरा भित्रिएर नेपाली बजारमा बिक्री हुँदा आफूहरु मारमा परेको रुपन्देहीका कुखुरापालक किसानहरुले गुनासो गरेका छन् । सुरक्षा निकायले सीमामा चेकजाँचमा कडाइ नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिँदा अवैध आयात झनै मौलाएको किसानहरुको भनाइ छ ।
कुखुरापालक किसान संघ रुपन्देहीका अध्यक्ष ऋषिराम काफ्लेका अनुसार भारतसँग सीमा जोडिएका नवलपरासी, रुपन्देही र कपिलवस्तुका दक्षिणी क्षेत्रका विभिन्न नाकाहरुबाट रुपन्देहीमा मात्रै दैनिक ३० क्विन्टल बढी जिउँदो कुखुरा रुपन्देहीमा भित्रिने गरेको छ । तस्करीमा संलग्न व्यवसायीले जिप र मोटरसाइकलबाट जिउँदो कखुरा वाहेक तयारी मासु समेत भारतीय सीमा बजारबाट रुपन्देहीमा भित्राउने गरेका छन् ।
भारतमा चल्ला, दाना र औषधिको मूल्य नेपालमा भन्दा सस्तो हुने भएकाले भारतीय कुखुराको बिक्री मूल्य पनि स्वतः सस्तो हुने र अझै भन्सार छलेर नेपालमा ल्याउँदा नेपाली किसान अस्वस्थ प्रतिस्पर्धाको मार पर्ने अध्यक्ष काफ्ले बताउँछन् । ‘भारतमा सामान्यतया २ केजीभन्दा बढी तौलका कुखुरा उपभोग नगर्ने चलन छ, त्यहाँ बेच्न नमिल्ने कुखुरा नेपाल ल्याएर सस्तोमा बिक्री गर्दा नेपाली किसान सधैं मारमा परेका छन्, कहिल्यै माथि उठ्न सकेनन्’ अध्यक्ष काफ्लेले भने, ‘रुपन्देही मात्र नभई पश्चिम नवलपरासी र कपिलवस्तुसम्मको खुला सीमामा प्रभावकारी चेकजाँच गरी अवैध आयात नरोक्ने हो भने नेपाली कुखुरापालक किसान पेशाबाट पलायन हुने अवस्था आएको छ ।’
रुपन्देही जिल्ला बोइलर कुखुरा उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा भारतबाट दिनहुँजसो भन्सार छलीका कुखुरा भित्रिंदा नेपाली किसानको कुखुरा बिक्री नहुने र लागत मूल्य समेत नपाउँदा पेशाबाटै पलायन भएका कुखुरापालक किसान संघ रुपन्देहीका सचिव विशाल थापा बताउँछन् ।
भारतीय कुखुराको अवैध आयातले किसान थला परेका बेला विगतका सरकारले अमेरिकाबाट कुखुराको मासु आयातलाई रोकेको अवस्थामा अहिलेको सरकारले पुनः खुला गरेर देशभरका नेपाली किसानलाई पेशाबाटै पलायन हुने अवस्थामा पुर्याउन लागेको भन्दै उनले उक्त निर्णय सच्याउन र सीमा नाकामा चेकजाँच कडा गरी तस्करी रोक्न माग गरे ।
जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले सीमा क्षेत्रका नेपाली कुखुरा फार्ममा दिनभर कुखुरा नहुने तर राति भारतबाट ल्याएर अर्को दिन नेपाली कुखुरा भन्दै बेच्ने गरिएको बताए ।
खुला सीमाको फाइदा उठाउँदै भारतबाट कुखुरा सहित विभिन्न वस्तुको अवैध आयातले नेपाली किसान र व्यवसायी मारमा परेका स्वीकार्दै उनले त्यसलाई रोकेर नेपाली किसानलाई बचाउनुपर्ने बताए । तस्करी भएको सूचना पाए आफूलाई जानकारी गराउन आग्रह गर्दै संयोजक चापागाईंले आफू तस्करी रोकेर स्वदेशी किसानलाई संरक्षण गर्न सधैं तत्पर रहेको बताए ।

उनले विगतमा भारतीय सेतो अण्डालाई विस्थापित गरेजस्तै भारतीय कुखुरा र चल्लाको तस्करीलाई पनि सबै मिलेर विस्थापित गर्नुपर्ने बताए । संयोजक चापागाईले ठूला व्यापारी र ठूला किसानले साना व्यापारी र किसानलाई माथि उठ्न नदिई तहसनहस बनाउने गरी काम गरिरहेको भन्दै त्यस्तो नगर्न सचेत गराए । उनले बुटवलको बधशाला सञ्चालनमा किसान र व्यवसायीलाई सहभागी नगराउनु दुर्भाग्य भएको भन्दै उक्त बधशालाको अनुगमन गर्न जिल्ला समन्वय समितिलाई नदिई तानाशाही चरित्र प्रदर्शन गरिएको समेत बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले भारतबाट अवैधरुपमा भित्रिने कुखुरा र मासुले स्वदेशी किसान र व्यवसायी मारमा परेको स्वीकार गर्दै स्थानीय तहहरुले अवैध आयात रोक्न किसानसँग मिलेर काम गर्नुपर्ने बताए । रुपन्देहीका सबै स्थानीय तह, सुरक्षा निकाय, किसान र व्यवसायी मिलेर तस्करी रोक्नुपर्ने अन्यथा किसानहरु पेशाबाट विस्थापित हुनुपर्ने मेयर पाण्डेयले औंल्याए । चल्ला र दाना ब्यापारीले महँगो मूल्यमा बेच्ने तर किसानको कुखुरा तयार भएर बेच्ने बेला अनेक खेल गरेर लागत मूल्य पनि नपाउने अवस्था बनाइदिने गरेको भन्दै यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले पश्चिम नवलपरासीदेखि कपिलवस्तुसम्म ७० किलोमिटर खुला सीमा भएको र सबै खुला सीमामा सुरक्षा निकायको पर्याप्त उपस्थिति हुन नसकेकाले अवैध आयात रोक्न नसकिएको स्वीकारे । उनले नेपालमा मूल्य महँगो हुने तर भारतमा सस्तो हुने भएकाले नेपाली व्यापारी र किसानकै कारण पनि तस्करीले प्रश्रय पाएको बताए । नेपाली व्यापारी र किसानले भारतीय कुखुरा र मासु खरिद नगरिदिने हो भने समस्या हल हुने प्रहरी उपरीक्षक राठौरले सुझाए ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले भारतबाट अवैधरुपमा कुखुरा र चल्ला आयात हुँदा त्यसले कुखुरापालक किसानसँगै दाना व्यवसायी, भेटेरिनरी व्यवसायी, मासु व्यवसायी र उपभोक्ता सबैलाई नकारात्मक असर पर्ने भएकाले तस्करी रोक्न सरकारी निकाय इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।
स्वयंसेवक टोली गठन गरी आफैं अनुगमन
सुरक्षा निकायले कुखुराको अवैध आयात पूर्णरुपमा रोक्न नसक्दा पेशा नै संकटमा परेपछि कुखुरापालक किसान संघ आफैंले स्वयंसेवक टोली गठन गरी अनुगमन शुरु गरेको छ ।
बुटवलबाट शुरु भएको अनुगमन टोली १६ वटै पालिकामा गठन गरी सुरक्षा निकायसँग मिलेर भारतबाट हुने तस्करी रोक्ने योजना रहेको संघका अध्यक्ष ऋषिराम काफ्लेले बताए ।
किसानहरु कुखुरा फार्ममा काम थाती राखेर भारतीय कुखुरा कुन ठाउँमा आउँदैछ भन्ने पत्ता लगाउन दिनरात नभनी खट्नुपर्ने वाध्यता रहेको काफ्लेले बताए ।
सुरक्षा निकायबाट अवैध कुखुरा आयात पूर्णरुपमा नरोकिएपछि लगानी जोखिममा र पेशा नै संकटमा परेपछि किसान आफैंले तस्करीबाट आएका कुखुरा पत्ता लगाई प्रहरीलाई जिम्मा लगाउन स्वयंसेवक टोली गठन गरेर चेकजाँच गर्न थालेका छौं’ अध्यक्ष काफ्लेले भने, ‘स्वयंसेवक टोलीका सदस्यहरु रातिमा नसुतेर, दिनमा आफ्नो काम थाती राखेर अनुगमनमा हिंड्नुपरेको छ, सुरक्षा निकायले यो काम प्रभावकारीरुपमा गरेको भए किसानलाई यति धेरै सास्ती र दुःख हुने थिएन ।’
अहिलेसम्म बुटवल, सैनामैना र देवदहमा तीनवटा बोलेरो जिपमा करिब ९ क्विन्टल जिउँदो कुखुरा, रुपन्देहीकै मानमटेरियामा दुईवटा मोटरसाइकलमा २ क्विन्टल कुखुरा, फर्साटिकरमा दुई मोटरसाइकलमा साढे दुई क्विन्टल जिउँदो कुखुरा बरामद गरी प्रहरीलाई बुझाएको काफ्लेले जानकारी गराए ।
रुपन्देहीमा साढे तीन सय कुखुरापालक किसान रहेका छन् । उनीहरुले वार्षिक औसत प्रति फार्म दश हजार कुखुरा उत्पादन गर्छन् । यो हिसाबले रुपन्देहीमा वार्षिक एक करोड ५० लाख केजी बराबरको कुखुरा उत्पादन हुने गरेका छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4