+
+

प्रधानमन्त्रीले एनआरएनलाई भने : संघभित्र राजनीतिक खिचातानी नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ११ गते १३:२५

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुबीच आपसमा एकता कायम राख्न आग्रह गरेका छन् ।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले संघमा राजनीतिक खिचातानी नगर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गरे । ‘म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो’, उनले भने ।

प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याइँ नगर्ने पनि बताए ।

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने पनि बताए । प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ ।

‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, ओलीले भने ।

शनिबार माओवादी केन्द्रले गरेको खबरदारीसभामा एक कार्यकर्ताले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् ।

‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्सिएको छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि ! धम्क्याएका भरमा खाने !’ उनले भने, ‘हतियार त हामी चलाउँदैनौं । कसरी बिसाउन लगाउनुपर्छ हामीले जानेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?