
अहिलेको जमानामा मानिसहरू सुन्दर तथा जवान देखिनका लागि लाखौं रुपैयाँ खर्च गर्न पछि पर्दैनन् । मान्छेको त्यहीँ चाहनाको फाइदा उठाएर केही मानिसहरुले नक्कली औषधि, जडीबुडी तथा ब्युटी केयरको धन्दा गरिरहेका हुन्छन् र करोडौं रकम कुम्ल्याइरहेका हुन्छन् । यस्तै एउटा घटना अमेरिकाको म्यासचुसेट्समा भएको छ ।
त्यहाँ स्पा सेन्टर चलाइरहेकी ३८ वर्षीया रेबेका फडानेली नामकी एक महिलाको कर्तुतको खुलासा भएको छ । उनले आफूलाई नर्स भन्दै ग्राहकलाई बोटोक्स इन्जेक्सन लगाइीदन सुरु गरिन् । त्यसबाट उनले मोटो रकम कमाइन् । तर, वास्तवमा उनी कुनै नर्स थिइनन् ।
पैसाकै लोभमा नक्कली नर्स बनेकी थिइन् र मानिसहरुलाई जवान बनाइदिने भन्दै बोटोक्स तथा फिलरको सुई लगाइदिने गरेकी थिइन् ।
समाचार अनुसार रेबेकाले चीन तथा ब्राजिलबाट नक्कली बोटोक्स, स्कल्प्ट्रालगायतका औषधिहरू खरिद गर्ने गर्दथिन् र इन्जेक्सनमार्फत् ग्राहकलाई दिने गर्थिन् ।
अदालतमा संघीय अभियोजकहरुले बताए अनुसार उनले सन् २०२१ को मार्चदेखि हालसम्म करिब १६ सय ३१ जनालाई बोटोक्स इन्जेक्सन दिइसकेकी थिइन् । त्यसबाट उनले ५ लाख २२ हजार ८६९ अमेरिकी डलर कमाइन् । त्यस्तै १ हजार ८५ जना ग्राहकमा फिलर हालेर उनले ४ लाख १० हजार ५४५ डलर आम्दानी गरिन् ।
समाचार अनुसार उनका एकजना ग्राहकले नै सन् २०२२ मा संघीय औषधि नियामक निकायमा उजुरी गरेका थिए । रेबेकाले दिएको इन्जेक्सनले गर्दा ओठमा रगत जमेपछि र टाउको झन्झनाउन थालेपछि उनले सरकारी निकायमा उजुरी गरेका थिए ।
रेबेका पेसाले एक एनेस्थेसियन भएपनि कानुनविपरीत बोटोक्स आयात गरेको, नक्कली औषधि बिक्री ग्रेको, नक्कली उपकरणहरु बिक्री वितरण गरेको अभियोग उनीमाथि लागेको छ ।
स्किन ब्युटी मेड स्पाकी मालिक हुन् रेबेका । उक्त स्पाका शाखा रेन्डोल्फ र साउथ इस्टनमा पनि छन् । अभियोजकका अनुार उनले केही वर्षदेखि आफूलाई नर्स भन्दै हजारौं अवैध, तथा नक्कली इन्जेक्सन लगाएर मानिसहरुलको ज्यान तथा स्वास्थ्यलाई नै खतरामा पार्दै आएकी थिइन् ।
स्मरण रहोस् बोटोक्सको प्रयोग छालामा चाउरीपन कम गर्न तथा छाला कसिलो बनाउनका लागि गरिन्छ । यसको प्रयोगबाट मानिसहरुको छाला जवान देखिन्छ ।
प्रतिक्रिया 4