+
+

रवि लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते ७:३१

२७ कात्तिक, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ ।

बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लगिने छ । त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ ।

पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै आएको रास्वपाले आज बुटवलमा पनि विरोध प्रदर्शनको तयारी गरेको छ । त्यसैले स्थानीय प्रशासनले बुटवलको सुरक्षा व्यवस्था कडा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?