 
																			२७ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् ।
चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीमा उद्योग, पर्यटन, कृषि, फलफूल, जडीबुटी प्रशोधन र स्वास्थ्य क्षेत्रबाट लाभ लिन सकिने प्रचूर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुआनलगायत जुनसुकै प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवश्यक नीतिगत सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।
लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिंदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कुटनैतिक नियोग मार्फत पत्रचार हुने जानकारी गराए ।
लुम्बिनीमा हुने लगानी सम्मेलनमा सिचुआन प्रदेश सरकार, निजी क्षेत्रका लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्थालाई सहभगी हुन मुख्यमन्त्रीले अनुरोध गर्दै मुख्यमन्त्री आचार्यले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउन लुम्बिनीमा लगानी भित्राउन आवश्यक रहेको बताए ।
सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधिकृत बिकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गरे । ‘स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरुसँग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहान्छु,’आचार्यले भने, ‘लुम्बिनी प्रदेश भित्रका उत्पादनहरुको ब्राण्डिङ गर्दै रोजगारी र जनताको जीवनस्तर उकास्न चिनियाँ अनुभव, प्रविधि, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापनाको पहल गर्न समेत अनुरोध गर्दछु ।’
मुख्यमन्त्रीले सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाई लुम्बिनी भ्रमण गर्न आमन्त्रण समेत गरेका छन् ।
सिचुआन सरकारसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा बीच सिधा हवाई सेवा सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे । सिधा हवाई सेवा सुरु हुँदा लाखौं बौद्धमार्गी चिनियाँलाई लुम्बिनीमा ल्याउन सकिने मुख्यमन्त्रीले बताए ।
सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले चिनिया बिकास मोडेल, प्रबिधि तथा समृद्धिबाट नेपालले सिक्न चाहेको बताए ।
सम्मेलनमा मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती सहभागी छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4