काठमाडौं । मल्टिस्टारर फिल्म ‘तेल भिसा’ प्रदर्शन तयारीमा छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रवर्द्धन अभियान थालिएको छ । पत्रकार सम्मेलनमा ‘कास्ट एन्ड क्रू’ले फिल्मबारे बताए ।
निर्देशक शंकर घिमिरेले अमेरिकामा बसोबास गर्ने नेपालीको सत्य घटनामा आधारित रहेर कथा लेखिएको बताए । कथावस्तुले अमेरिका मात्र नभएर क्यानडा, अस्ट्रेलिया र युरोपेली मुलुकका नेपाली डायस्पोराको यथार्थ झल्काउने उनले जनाए ।
यसअघि विष, वीरताको चिनो, ब्रेकफेल र तुलसी निर्देशन गरेका घिमिरेको यो पाँचौं निर्देशकीय फिचर हो । पाँच वर्षपछि यो ‘डायस्पोरा ड्रामा’बाट उनी निर्देशनमा फर्किएका छन् ।
घिमिरेले ‘तेल भिसा’ व्यंग्यात्मक शीर्षक भएको बताए । ‘अमेरिका बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले बोलाउँदैनन्,’ उनले भने, ‘घुमाउन र बस्न पनि बोलाउँछन् । अरु कामका लागि पनि बोलाउँछन् ।’ विदेशी भूमिमा कानुन नबुझ्दा भोग्नुपर्ने झन्झटलाई फिल्ममा चित्रण गरिएको उनले जनाए ।
अभिनेता विपिन कार्कीले फिल्ममा दोहोरो भूमिका निर्वाह गरेका छन् । अमेरिकामा छायांकन हुँदा धेरै अग्रज कलाकारसँग आत्मीय हुन पाएको अनुभव उनले सुनाए । ‘टाढाबाट कलाकार त्यहाँ पुग्दा यसले कलाकारिताप्रतिको लगावलाई पुष्टि गरेको छ’, उनले भने, ‘अग्रज कलाकारसँग सामीप्य बढाउने अवसर पनि भयो ।’
आफू सुरुदेखि मानसिक तयारीमा रहेकाले काम गर्न सहज भएको विपिनले बताए । डबल रोलमा देखिएका उनले एउटै फिल्ममा काम गरेपनि दुई भिन्न फिल्ममा काम गरेजस्तो लागेको स्मरण गरे ।
‘मलाई एउटै चरित्रमा काम पनि कस्तो हुने हो भनेर गाह्रो लाग्छ । दुईटा भनेपछि त झन गाह्रो हुन्छ नै,’ विपिनले भने, ‘तर यसमा दोहोरो भूमिका छ भन्नेबित्तिकै मैले क्यारेक्टरबारे सोच्न थालेको थिएँ । स्क्रिप्ट हातमा परेदेखि नै तयार गर्न थालेको थिएँ ।’
अभिनेत्री एवं निर्मात्री ऋचा घिमिरेले छायांकनमा कठिनाइ नभएको बताइन् । विपिनको सरलपनले काम गर्न सहज भएको उनले सुनाइन् । विपिनबारे उनले भनिन्, ‘उहाँ अनस्क्रिन मात्रै होइन, अफस्क्रिनमा पनि त्यति नै सरल हुनुहुन्छ । उहाँको जुन स्टारडम छ, त्यही अनुसार उहाँको व्यवहार भएको भए अमेरिकामा काम गर्न सहज हुने थिएन ।’
दोहोरो भूमिकामा भएकाले विपिनले दुईवटा फिल्म बराबरको पारिश्रमिक लिनुभएको हो भनेर राखिएको जिज्ञासामा घिमिरेले भनिन्, ‘स्टारडम र क्वालिटीअनुसार विपिन ५० लाख मात्रै होइन, एक करोड रुपैयाँ डिजर्भ गर्ने कलाकार हो ।’
‘भूठान’बाट ११ वर्षपछि फिल्ममा फर्किएको उल्लेख गर्दै घिमिरेले ‘तेल भिसा’बाट निर्माणमा हात हालेको बताइन् । ‘मेरो सिन प्याकअप हुँदा म निकै दुःखी भएको थिएँ । ला मेरो काम सकियो भनेजस्तो भयो,’ उनले सुनाइन्, ‘मलाई अभिनय गर्ने रहर नै पुगेकै थिएन ।’
अभिनेत्री वर्षा राउतले पनि अनुभव बाँडिन् । यसमा उनले अमेरिकामा बस्ने नेपाली बुहारीको भूमिका निर्वाह गरेकी छन्, जहाँ उनलाई गर्भवतीको रोलमा पनि देख्न सकिन्छ । आफू मोटी भएकाले अरु बेला पनि गर्भवती ठानेर बधाई आउने गरेको किस्सा उनले सुनाइन् ।
अमेरिकामा ‘बेली’ लगाएर सुटिङ गर्दा विदेशीले नै बधाई छ भनेर भन्दा आफूले पनि पाँच महिना, सात महिना भनेर हिंडेको उनले सुनाइन् । ‘मैले गर्भवती हुँदाको क्यारेक्टर गर्दा ऋचा दिदीसँग धेरै कुरा सोधेको थिएँ,’ उनले भनिन्, ‘उहाँको सहयोगले धेरै सजिलो भयो ।’ अब रियलमा गर्भवती हुँदा र बधाई आउँदा पनि आफूलाई आश्चर्य नलाग्ने उनले बताइन् ।
फिल्ममा पूजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेती र केही विदेशी कलाकारको पनि अभिनय छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको फिल्मका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुति दाहाल हुन् । ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदैछ ।
प्रतिक्रिया 4