+
+

कोशीका पूर्वमन्त्री अधिकारीलाई अदालत लगियो, १० दिन हिरासतमा राख्न अनुमति मागिने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १६:२६

२७ कात्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको छ ।

मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न प्रहरीले अधिकारीलाई अदालत लगेको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो ।

त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो । यसपटक थप १० दिन हिरासतमा राख्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका एक अधिकारीले बताए ।

यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको उनको भनाइ छ ।

मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

तर, उनीसँगै जापान गएका खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे समेत पक्राउ परेका थिए ।

पछि यो मामलामा पूर्वमन्त्री अधिकारी पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?