२८ कात्तिक, काठमाडौं। जापानको मात्सुमोतो नगरपालिकाका प्रमुख काठमाडौं आएका छन् । काठमाडौं महानगरपालिकासँगको भगिनी सम्बन्ध स्थापना भएको ३५औँ वर्षको अवसरमा प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलका काठमाडौंको अवलोकन भ्रमणका आएका हुन् ।
भ्रमणको क्रममा काठमाडौंका मेयर बालेन साहसँग भेट गरेका छन् । भेटमा आपसी सम्बन्धका विषयमा कुराकानी भएको थियो । मेयर बालेनले मित्रताको चिनो स्वरुप ढाका टोपी र ’देशे मरु झ्याः’ (देशभरि अन्त कतै नभएको झ्याल) को प्रतिकृति उपहार स्वरुप प्रदान गरेका छन् ।
यस्तै मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरुप प्रदान गरेका थिए । भ्रमण टोलीका सदस्यहरुलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ढाका टापी, पस्मिनाको सल र वुद्ध प्रतिमा उपहार दिएका थिए ।
त्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषदका अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी छन् ।
स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरुकातर्फबाट संकलन गरिएको २ लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई हस्तान्तरण गरेका थिए ।
काठमाडौं र मात्सुमोतो नगरकाबीचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो। सम्बन्ध स्थापना भएको १० औं बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँबजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरिएको छ ।
१ करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
२०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै बर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा गरेका थिए ।
२०७२ सालको भूकम्पले पुर्याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग गरेको थियो । त्यस रकममा जापानी जनताकोतर्फबाट संकलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो ।
प्रतिक्रिया 4