+
+
स्थानीय तह उपनिर्वाचन :

माओवादीको गढमा कांग्रेस-एमालेबीच साझा उम्मेदवार उठाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १७:४२

२८ कात्तिक, काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेले पूर्वी रुकुमको पुथा उत्तरगंगामा हुने उपनिर्वाचनमा तालमेलका लागि संवाद थालेका छन् ।

१६ मंसिरमा हुने पुथा उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षका लागि निर्वाचन हुन लागेको छ । उपाध्यक्ष पदका लागि एमालेले केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जीवन रोकामगरलाई अघि सारेको छ ।

तुलाचन जिल्ला उपसचिव र रोकामगर जिल्ला कमिटी सदस्य हुन् । कांग्रेसले भने उम्मेदवार तय गरिसकेको छैन । दुई दलबीच तालमेल बारेमा छलफल जारी रहेकाले कांग्रेसको उम्मेदवार टुंगिन बाँकी रहेको केन्द्रीय सदस्य मानबहादुर नेपालीले जानकारी गराए ।

एक्लाएक्लै लड्दा कांग्रेस र एमालेका उम्मेदवारले जित्न कठिन रहेकाले तालमेलका लागि संवाद जारी रहेको दुबै दलका नेताहरुले जानकारी गराएका छन् । कांग्रेसका केन्द्रीय सदस्य नेपालीले कांग्रेस र एमालेबीच तालमेल हुन नसके चुनाव जित्न नसकिने बताए ।

गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष सहित ११ वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । एउटा वडामा कांग्रेस र एमालेबाट दुई वडाध्यक्ष निर्वाचित भएका थिए ।

२०७९ सालमा भएको स्थानीय तह उपनिर्वाचनमा उपाध्यक्षमा माओवादीकी भुपेन्द्रा बुढाले ४,०५९, कांग्रेसकी कमलाकुमारी मल्लले २,०१० र एमालेकी धर्म घर्ती बुढाले १,८१२ मत पाएका थिए । कांग्रेस र एमालेको भन्दा पनि माओवादीको मत बढी देखिएको छ ।

कांग्रेस र एमालेबीचमा चुनावी तालमेल छलफलकै क्रममा रहेको पूर्वी रुकुमका एमाले इन्चार्ज खेममान खड्काले जानकारी गराए । दुई पदका लागि हुने निर्वाचनमा एमाले र कांग्रेसले १/१ उम्मेदवार बनाउने गरी संवाद भइरहेको खड्काले अनलाइनखबरसँग बताए ।

दुबै दलले उपाध्यक्षमा आफ्नो उम्मेदवार हुनुपर्ने दाबी गरेका छन् । ‘उपाध्यक्ष एमालेको उम्मेदवार बनाएर वडा नम्बर २ को अध्यक्ष कांग्रेसलाई बनाउन आग्रह गरेका छौं,’ खड्काले भने । गत निर्वाचनमा दोस्रो स्थानको मत ल्याएकाले उपाध्यक्ष कांग्रेसबाट बनाउनु स्वाभाविक हुने केन्द्रीय सदस्य नेपाली बताउँछन् ।

चुनावको तयारी र पार्टी संगठनको काम लिएर दुबै दलका केन्द्रीय नेताहरु पूर्वी रुकुम पुगेका छन् । एमाले सचिव पद्‍मा अर्याल र कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत पूर्वी रुकुमका नेताहरुसँग संवादमा रहेका दुबै दलले जानकारी छन् । कांग्रेसले सय दिने अभियानमा खटाएकी सीता राना पूर्वी रुकुममा छिन् ।

गत भदौमा दुर्घटनामा परेर उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएका कारणले उप निर्वाचन हुन लागेको हो । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ज्ञानदेवी पुन र २ को वडाध्यक्षको उम्मेदवार जगत घर्तीलाई बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?