
४ मंसिर, काठमाडौं । खर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ले भारतको अन्तरिक्ष अनुसन्धान संस्था (आईएसआरओ)को नयाँ सञ्चार उपग्रह जीसाट-एन२ लाई अमेरिकाको केप क्यानभेरलबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
उडानका क्रममा हुने इन्टरनेट कनेक्सनलाई अझै अत्याधुनिक बनाउने उद्देश्यसहित बनाइएको यस सञ्चार उपग्रहलाई स्पेस एक्सको फालकन ९ रकेटमार्फत प्रक्षेपण गरिएको थियो ।
आईएसआरओको वाणिज्य शाखा न्यूस्पेस इन्डिया लिमिटेडले ४ हजार ७०० केजी तौल भएको यो हाई थ्रुपुट स्याटेलाइट (एचटीएस) फाल्कन ९ रकेटको सहायताले प्रक्षेपण गरी लक्षित अर्बिटमा पुगेको जनाएको छ । उपग्रह राम्रो अवस्थामा देखिएको पनि जनाइएको छ ।
भारतको वर्तमान प्रक्षेपण क्षमताअनुसार निकै महँगो पर्ने भएकाले यसलाई अमेरिकी स्पेसएक्सबाट प्रक्षेपण गरिएको हो । यसअघि आईएसआरओले भारी उपग्रहरू फ्रान्सेली कम्पनी एरियनस्पेसमार्फत प्रक्षेपण गर्दै आएको थियो ।
आईएसआरओले अब उपग्रह प्रक्षेपणका लागि आफ्नै नेक्स्ट जेनेरेसन लन्च भेहिकल (एनजीएलभी) निर्माण गर्ने तयारी गरिरहेको छ जसले १० हजार किलोसम्मको वजन धान्न सक्ने छ ।
प्रतिक्रिया 4