+
+

२० वर्षपछि तलब तथा ज्यालादरको आधार वर्ष परिवर्तन, अब त्रैमासिक गणना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १९:४७

४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले तलब तथा ज्यालादर सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आधार वर्ष परिवर्तन गरी आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर तलब तथा ज्यालदर सूचकांक प्रकाशित गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०६१/६२ लाई आधार वर्ष मानेर तलब तथा ज्यालादर सूचकांक गणना गर्दै आएको राष्ट्र बैंकले २० वर्षपछि आधार वर्ष परिवर्तन गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि नै मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गरी मुद्रास्फीतिको तथ्यांक संकलन गर्न सुरु गरेको थियो ।

‘अर्थतन्त्रमा आएको संरचनात्मक परिवर्तनसँगै रोजगारीको स्वरूपमा आएको फेरबदल समेतलाई ध्यानमा राखी सूचकांक निर्माणमा प्रयोग हुने भार अंकलाई अद्यावधिक गर्न नयाँ आधार वर्ष परिवर्तन गरिएको हो,’ राष्ट्र बैंकले भनेको छ, ‘तलब तथा ज्याला छोटो अवधिमा परिवर्तन नहुने भएकोले मासिक रूपमा गणना हुँदै आएको तलब तथा ज्याला सूचकांक त्रैमासिक रूपमा गणना गर्ने व्यवस्था मिलाइएको छ ।’

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको ‘नेपाल लेबर फोर्स सर्भे २०१७/१८’ मा रहेको नेपालस्तरीय औद्योगिक वर्गीकरण तथा नेपास्तरीय पेसागत वर्गीकरण अनुसारको नतिजाको आधारमा सूचकांकको भार अंक परिवर्तन भएको राष्ट्र बैंकले जनाएको छ  ।

सूचकांक निर्माण गर्न ‘मोडिफाइड ल्यासफेयर्स मेथड’ विधिको प्रयोग गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यो विधिअनुसार ‘म्याच्ड स्याम्पल मेथड’ को सिद्धान्त अनुसार आधार वर्षमा छनोट गरिएको नमुनाको तलब तथा ज्याला त्रैमासिक रूपमा संकलन गरी प्रत्येक पेशागत कामहरूको तल्लो तहको सूचकांक निर्माण गरिने राष्ट्र बैंकले जनाएको छ ।

‘सूचकांकलाई पहिलो चरणमा उस्तै प्रकृतिको पेसाको ज्यामितीय औसत निकालिन्छ,’ केन्द्रीय बैंकले भनेको छ, ‘दोस्रो चरणमा उक्त सूचकांकलाई भार अंकले गुणन गरी माथिल्लो तहमा प्रादेशिक, औद्योगिक, पेसागत तथा राष्ट्रिय सूचकांक निर्माण गरिन्छ ।’

यसमा देखापर्ने नयाँ पेसालाई समावेश गर्ने तथा हराउँदै गएका पुरानो पेसालाई प्रतिस्थापन गर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । नयाँ आधार वर्षमा आधारित सूचकांक औद्योगिक वर्गीकरण, पेसागत वर्गीकरण र प्रदेशगत वर्गीकरण गरी तीन वटा ढाँचामा प्रकाशन भएको छ ।

नयाँ सूचकांक गणना गर्दा सात वटै प्रदेशका ३० वटा जिल्लाका  बजार क्षेत्रमा रहेका सबै औद्योगिक क्षेत्र तथा पेसा समावेश हुने गरी १ हजार २५ संस्थाबाट ५ हजार २ सय ९६ प्रकारका पदसँग सम्बन्धित तथ्यांक संकलन गरेर सूचकांक निर्माण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघिको सूचकांक गणना गर्दा ११ वटा बजार केन्द्रबाट तलबको हकमा छ प्रकारका संस्था (निजामती सेवा, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, सेना तथा प्रहरी, शैक्षिक संस्था र निजी संस्थाहरू) तथा ज्यालादरको हकमा तीन प्रकारका औद्योगिक वर्गको ज्यालादर (कृषि, उत्पादन र निर्माण क्षेत्र) गरी नौ वटा समूहअन्तर्गत तथ्यांक संकलन गर्ने गरिएको थियो ।

नयाँ आधार वर्ष अनुसार तयार गरीउको सूचकांकमा आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ३.३६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षका प्रथम त्रैमासमा यस्तो सूचकांक ५.६५ प्रतिशतले बढेको थियो । प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशको तलब तथा ज्याला सूचकांकको वृद्धिदर सबैभन्दा उच्च रहेको छ । उक्त प्रदेशमा ६.४० प्रतिशतको वृद्धिदर रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा ५.०३ प्रतिशत वृद्धिदर हुँदा मधेश प्रदेशमा ४.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।  लुम्बिनी प्रदेशको ३.६७ प्रतिशत, बागमती प्रदेशको २.९५ प्रतिशत, गण्डकी प्रदेशको २.२६ प्रतिशत र कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांकको वृद्धिदर १.२४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?