५ मंसिर, काठमाडौं । अमेरिकाले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
समाचार संस्था एएफपीका अनुसार दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ ।
‘सुरक्षा कारणले दूतावास बन्द रहनेछ र यहाँका कर्मचारीहरूलाई सुरक्षित स्थानमा आश्रय लिन भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी दूतावासले हवाई हमलाको सूचना पाएलगत्तै अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा जान पनि सल्लाह दिएको छ ।
युक्रेनले पहिलो पटक रूसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रूसले जवाफ दिने प्रतिक्रिया दिएको थियो ।
युक्रेनले करिब तीन वर्षको युद्धमा पहिलो पटक लामो दूरीको अमेरिकी क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रयोग गरेपछि रुसले मङ्गलबार यसको जवाफ दिने चेतावनी दिएको थियो ।
एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार मङ्गलबार रुसको ब्रायन्स्क क्षेत्रमा एटीएसीएमस क्षेप्यास्त्रद्वारा आक्रमण गरिएको थियो । यो अमेरिकी सेनाको सामरिक क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित रहेको ती अधिकारीले बताए ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमी देशहरूले द्वन्द्व ‘तीव्र’ पार्न चाहेको देखाएको बताएका थिए ।
‘हामी यसलाई रुस विरुद्धको पश्चिमी युद्धको गुणात्मक रूपमा नयाँ चरणको रूपमा लिनेछौं र हामी सोही अनुरूप प्रतिक्रिया दिनेछौं,’ ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भने ।
वासिङ्टनले यस हप्ता युक्रेनलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा एटीएसीएमएस प्रयोग गर्न स्वीकृति दिएको पुष्टि गरेको छ । यो युक्रेनको लामो समयदेखिको माग थियो । एएफपी
प्रतिक्रिया 4