 
																			५ मंसिर, काठमाडौं । मंगलबार साँझ निर्धारित मन्त्रिपषिद् बैठक रोकेर कांग्रेससँग लामो वार्तामा बस्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अर्थपूर्ण वाक्य बोले, ‘म तपाईंहरुको अप्ठेरो बुझिरहेको छु, तर मेरा पनि केही अप्ठेरा छन् ।’
प्रसंग बेइजिङ भ्रमण तयारीको थियो । आफू प्रधानमन्त्री रहेकै बेला चीनसँग अघि बढेको बीआरआई सम्झौतालाई ओली एक कदम अघि बढेर कार्यान्वयनको चरणतर्फ लैजान चाहन्छन् । साझेदार कांग्रेसले त्यसमा आफ्नो दलको औपचारिक अडान राखेर उनलाई रोकिरहेको छ ।
पहिले मंगलबार मध्यरातिसम्म चलेको बैठकमा के के भयो संक्षिप्त चर्चा गरौं । प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित उच्चस्तरीय राजनीतिक संयन्त्रका नेताहरुले सन् २०१६ मा चीनसँग गरेका सम्झौता, अनि ०१७ मा बीआरआईको एमओयु हस्ताक्षरपछिका विभिन्न सम्झौताको प्रगति र कार्यान्वयन के कस्तो भयो भनेर बुँदा–बुँदा अध्ययन गरे ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार विभिन्न समयका नेपाल–चीन संयुक्त वक्तव्य अध्ययन गर्ने, अड्केका परियोजना के कारणले पछि परे भन्ने समीक्षा पनि भयो ।
यही चरणमा प्रमुख साझेदार कांग्रेसले आफ्नो अडान सम्झाइरहेको थियो, जसलाई ओलीले उसको ‘अप्ठेरो’ भनी चित्रित गरिदिए । अनि दक्षिणी छिमेकीसँग सम्बन्ध सामान्य अवस्थामा फर्काउन नसकिरहेको परिस्थितिमा आफू उत्तरतर्फको सम्बन्धलाई गति दिनै पर्ने ‘भूराजनीतिक अप्ठेरो’ मा रहेको पनि बताउन छुटाएनन् ।
ओलीले बीआरआईबारे ‘कांग्रेसको अप्ठेरो’ भनी अर्थ्याउनुको पछाडि रोचक पृष्ठभूमि छ ।
गत १५ असारमा सभापति देउवा आफ्नी पत्नी आरजु राणा देउवासहित ओली निवास पुगेर दही चिउरा खाएका थिए । १७ असारमा त्यस खानपिनको राजनीतिक परिणाम निस्कियो । अर्थात् १७ असारको राति कांग्रेस र एमालेबीच सातबुँदे सत्ता सहमति भयो । दुई दलको सहमति अनुसार प्रचण्ड सरकारलाई बिदा गर्दै ओली प्रधानमन्त्री हुने भए ।

१७ असारको राति जति सनसनीपूर्ण थियो, त्यसको दिवा सत्र पनि कम्ती रोचक थिएन जहाँ कांग्रेसले चिनियाँ परियोजना बीआरआईबारे एउटा निर्णय लिँदै थियो ।
१७ असारको दिउँसो ओली तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग दिनभर बालुवाटारमा लामो चातुर्यपूर्ण गफमा सामेल हुँदै गर्दा बुढानीलकण्ठस्थित देउवा निवास कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी भेला भएका थिए । त्यहाँ देउवाले एमालेसँग हुन सक्ने सम्भावित समझदारीबारे हल्का संकेत गरे । औपचारिक निर्णय गर्नुपर्ने केही थिएन, तर त्यहाँ बीआरआईको विषयले प्रवेश पायो ।
‘बीआरआई र त्यस अन्तर्गतका परियोजनाबारे नेपाली कांग्रेस सकारात्मक छ । तर नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदानमात्र लिनुपर्ने हाम्रो धारणा छ । चीनबाट त्यस्तो परियोजना आएमा कांग्रेस सहर्ष स्वीकार गर्दछ’, बैठक निर्णय सुनाउँदै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकारहरुसँग भनेका थिए ।
मंगलबार बालुवाटारमा कांग्रेसका नेताहरुले प्रधानमन्त्रीलाई त्यही दिनको निर्णय सम्झाएका थिए । आफूलाई प्रधानमन्त्रीमा अघि बढाउने निर्णय लिनुभन्दा केही घण्टा अघिमात्रै कांग्रेसबाट भएको उक्त निर्णयको ‘संयोग’ सम्झेर ओली स्वयं चकित परेका थिए ।
तर कांग्रेसका शीर्षस्थ नेताहरु त्यो निर्णय देखाएर ओलीसामू अत्तो थाप्ने पक्षमा भने छैनन् । अहिले कांग्रेसकै कतिपय नेताहरुले ऋण र अनुदानबारे खिचेको विभाजन रेखालाई देउवा आफैंले निको मानेनन् ।
बैठकका एक सहभागी नेताले अनलाइनखबरसँग गरेको लामो कुराकानीको सार थियो, ‘देउवा ओलीको आसन्न चीन भ्रमणका कारण कुनै पनि खालको भूराजनीतिक खिचातानी उत्पन्न नहोस् भन्नेमा संवेदनशील छन् । देउवाको छोटो टिप्पणी सुनेका प्रधानमन्त्री ओलीले उनको मर्मलाई आत्मसात गरेरै बेइजिङ जाने आश्वासन दिएका छन् ।’
‘ओली र देउवा दुवैलाई हाँसो–मजाक मन पर्छ’, ती नेताले भने, ‘तर एक अर्कालाई बुझ्ने मामिलामा दुवै नेता सिरियस हुनुहुन्छ ।’
देउवाले सत्ता–अस्थिरता रोक्न दुई ठूला दल मिलेको कतिपयलाई मन नपरेको संकेत गर्दै अहिले स्थिरता खल्बल्याउने कुनै टिप्पणी नगर्न कांग्रेस र एमाले दुवै पक्षका नेताहरुलाई आग्रह गरेको बैठकमा सहभागी ती नेताले बताए ।
पछिल्लो साता विपक्षी नेता प्रचण्डले सरकारको भविष्य र आफ्नो पालोलाई लिएर गरेको टिप्पणीबारे पनि बालुवाटारमा छलफल भएको थियो । नेताहरुले ओली–देउवाबीच १७ असारमा भएको आलोपालो सम्झौता भंग हुने कुनै सम्भावना नभएको जिकिर गरेका छन् ।
बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, सत्ता संयन्त्र अन्तर्गतको कार्यदलका संयोजक पूर्णबहादुर खड्का, पार्टीका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल थिए ।
कार्यदलका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री गगन थापाले भने, ‘केही मुद्दामा हाम्रा दृष्टिकोण र प्राथमिकताबीच भिन्नता अवश्य छन्, तर यो बेला नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा हामी मूल रुपमा एक ठाउँमा छौं । अहिले आरोप प्रत्यारोपमा नलागौं, बरु कतिपय विमतिसहित हामी सत्ता गठबन्धनमा छौं भन्ने स्वीकार गरेर समझदारी खोजौं भन्ने नै छ ।’
एमाले उपमहासचिव तथा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार रिमालले बीआरआई वा चीनसँगका सम्झौताबारे दुई ठूला दलबीच आ–आफ्ना धारणा रहे पनि दुई दलबीचको सम्बन्ध सञ्चालनमा समस्या नहुने दाबी गरे ।
प्रधानमन्त्री ओली १७ मंसिरमा चीन जाँदैछन् । भ्रमण तयारीका क्रममा परराष्ट्रमन्त्री राणा त्यसअघि नै १३ मंसिरमा बेइजिङ जानेछिन् ।
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4