११ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकामा सघाउने निर्णय लिन अझै सकेको छैन । रास्वपाले आफ्नो उम्मेदवार नउठाएको कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय लिएको थियो ।
पार्टीले स्वतन्त्रबाट कुन उम्मेदवारलाई सघाउने निर्णय लिन नगर समितिलाई अधिकार दिएको छ । चार स्वतन्त्र मध्येबाट एक जनालाई समर्थन गर्ने रास्वपाका कीर्तिपुर सभापति जयराम कार्कीले जानकारी दिए ।
राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी र डा नवरथकुमार बानियाँ मध्येबाट एक जनालाई समर्थन गर्ने रास्वपाका नगर सभापति कार्कीले जानकारी गराए।
‘चार जना स्वतन्त्र मध्येबाट एक जनालाई समर्थन गर्छौं। जुन उम्मेदवार बलियो उसलाई भोलि÷पर्सीमा समर्थन गर्छौं’, कार्कीले भने । स्वतन्त्रबाट कीर्तिपुरमा ११ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार दिनेश श्रेष्ठले राजमानलाई सघाउने भएका छन् ।
उम्मेदवारका लागि पार्टीबाट सिफारिस भएपनि रास्वपाले उम्मेदवार नउठाउने निर्णय लिएको थियो । आफ्नो उम्मेदवार नहुँदा स्वतन्त्रलाई सघाउने निर्णय लिन पार्टीले नगर समितिलाई जिम्मेवारी दिएको थियो।
बामगतीका प्रदेश महामन्त्री सुरेन्द्र भट्टले माथिबाट हस्तक्षेप नगर्ने भनी पालिकालाई अधिकार दिइएको जानकारी गराए । ‘कसलाई समर्थन गर्ने निर्णय लिनुस् भनेका हौं । निर्णय अहिलेसम्म लिनुभएको छैन,’ भट्टले अनलाइनखबरसँग भने ।
कीर्तिपुरमा प्रमुख पदसहित वडा नम्बर १ र ४ मा १६ मंसिरमा उपनिर्वाचन हुन लागेको छ ।
प्रतिक्रिया 4