 
																						१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा छन् ।
त्यस्तै कांग्रेस सांसदहरु अर्जुननरसिंह के.सी, र श्यामकुमार घिमिरे, एमाले सांसद लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी, माओवादीबाट रेखा शर्मा पनि भ्रमण दलमा छन् । सांसदहरु बीरेन्द्रप्रसाद महत्तो, दीपक कार्की, सर्वेन्दरनाथ शुक्ला र रन्जिता श्रेष्ठ पनि भ्रमण टोलीमा छन् ।
मुख्यसचिव एकनारायण अर्याल, अर्थसचिव डा. रामप्रसाद घिमिरे, कामु परराष्ट्र सचिव अमृत बहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि भ्रमण दलमा छन् । मदन भन्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष सहप्राध्यापक पद्मसुन्दर जोशीलाई पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य पनि भ्रमण टोलीमा परेका छन् । परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल पनि भ्रमण टोलीमा परेका छन् ।
शिष्टाचार अधिकृत ऋचा भट्टराई, शाखा अधिकृत जानकी ओझा, सुजन लामीछाने, शिष्टाचार सहायक विनोद खनालको नाम पनि भ्रमण टोलीमा परेको छ । प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्र मन्त्रीकी निजी सहयोगी अनिता सिंह पनि चीन जाँदै छन् ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गएकी छिन् ।
उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4