+
+

गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई पाठ्यक्रमले अब नलिने

कारबाही गर्न शिक्षामन्त्री भट्टराईको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १९:४९

१३ मंसिर, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई अब नलेखाउने भएको छ । विद्यालय तहको सामाजिक, गणित, नेपाली र जनसंख्याको पाठ्यपुस्तकमा त्रुटि भेटिएपछि केन्द्रले ती लेखकलाई नलेखाउने भएको हो ।

‘त्रुटि गर्ने लेखकलाई पाठ्यपुस्तक लेख्न दिँदैनौं,’ केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले भने, ‘अब किताब छपाइको समयमा जनक शिक्षालाई दिँदा ठिक भएको हस्ताक्षर गरेर मात्र दिन्छौं ।’

तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई कारबाही गर्न निर्देशन दिएकी छिन् । यदि केन्द्रले कारबाही गर्न नसके गलत पाठ्यपुस्तक लेख्ने लेखकको नाम आफूलाई उपलब्ध गराउन मन्त्री भट्टराईले भनेकी छिन् ।

‘लेखक, प्रकाशकको सूची तयार गरेर कारबाही गर्न भनेकी छु । कि सूची मलाई दिनुहोस्, कारबाही गर्छु भनेकी छु । विद्यार्थीलाई गलत सिकाउन पाइँदैन । गलत सिकाउनु अपराध हो,’ मन्त्री भट्टराईले भनिन् ।

तर, केन्द्रले गलत पाठ्यपुस्त लेख्ने लेखकको नाम मन्त्रीलाई पठाएको छैन ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक त्रुटि गर्ने लेखकलाई अब नलेखाउनु नै उनीहरूमाथि कारबाही भएको तर्क गर्छन् ।

‘पहिलेका कर्मचारीको सरुवा सरुवा भइसकेको छ । पाठ्यपुस्तक छिटो चाहिने हुँदा त्यतिबेला त्रुटि भएको रहेछ । अब ती लेखकालाई नलेखाउनु नै कारबाही गरे बराबर हो,’ उनले भने ।

विद्यालय तहको सामाजिक, गणित, नेपाली र जनसंख्या विषयको पाठ्यपुस्तकको त्रुटि भेटिएको थियो । ‘नेपालीमा ह्रस्व दीर्घ, गणितमा उत्तर फरक, जनसंख्या विषयमा ०६८ सालकै जनसंख्याको तथ्यांक र सामाजिकमा पर्व लगायतको त्रुटि रहेछ,’ महानिर्देशक श्रेष्ठले भने, ‘अब त्रुटि हुन दिँदैनौं । सच्याउने काम गरिरहेका छौँ ।’

नियमित प्रक्रियाअन्तर्गत यो वर्ष ईसीडी र १ देखि ३ कक्षासम्मको पाठ्यक्रम परिमार्जन गर्न लागिएको महानिर्देशक श्रेठले बताए । त्यसैगरी कक्षा ४ देखि १२ सम्मको सामाजिक विषयको पनि पाठ्यक्रम परिमार्जन हुनेछ । नेपाली, गणित र जनसंख्याको भने पाठ्यपुस्तकमा भएको त्रुटिमात्र सच्याउन लागिएको हो । ‘पाठ्यक्रम एक वर्षमा अपडेट, ५ वर्षमा परिमार्जन र १० वर्षमा परिवर्तन हुन्छ ।

त्यसैअनुसार यसपटक सामाजिक विषयबाट परिमार्जन गर्न लागेका हौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?