+

एनपीएलका लागि आठ कप्तान उत्साहित, जनकपुरबाहेक सबै टिमका मार्की नै कप्तान

२०८१ मंसिर  १४ गते १७:५८ २०८१ मंसिर १४ गते १७:५८
एनपीएलका लागि आठ कप्तान उत्साहित, जनकपुरबाहेक सबै टिमका मार्की नै कप्तान

१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सहभागी टिमहरुको कप्तानहरु घोषणा भएका छन् । शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत् कप्तानहरु घोषणा गरिएको हो ।

जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् भने अन्य टिमले मार्की खेलाडीहरुलाई नै कप्तान बनाएका छन् ।

जस अनुसार विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडु गुर्खाजको कप्तान करण केसी, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल,‌ कर्णाली याक्सको कप्तानमा सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

सबै कप्तानहरुले आफूहरु पूर्णरुपमा तयार रहेको‌ बताएका छन् ।

कार्यक्रममा बोल्दै विराटनगरका कप्तान सन्दिप लामिछानेले सबैजना उत्साहित रहेको र टिम पनि सन्तुलित रहेको बताए । ‘अरु लिग खेलिरहँदा आफ्नै लिग होस् भन्ने चाहना थियो, त्यो पूरा भएको छ । आगामी ३-४ वर्षमा एनपीएल कस्तो हुन्छ त्यसले पूरा नतिजा देखाउने छ ।‌ सपना पूरा भएको जस्तो लागेको छ’ उनले भने ।

त्यस्तै अनिल शाहले भने, ‘उता मैदान नभएर काठमाडौंमा‌ आएर मात्र तयारी गर्‍यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी आएर टिम‌ पनि राम्रो देखिएको छ, एनपीएलको हाइपले गर्दा उत्साहित छौं।’

कप्तानको जिम्मेवारी दिइएको बारे अनिलले भने, ‘म घरेलु खेलाडीसँग धेरै कुरा गर्ने भएर मलाई दिनुभएको होला, आसिफसँगको सहकार्यमा नै टिमको निर्णयहरु गरिने छ , कप्तान जो भए पनि त्यस्तो केही फरक पर्दैन।’

त्यसैगरी चितवनका कुशल मल्लले तयारी राम्रो भएको र स्टार नेटवर्कमार्फत् विश्वभर प्रसारण हुने कुराले उत्साहित रहेको बताए । ‘विश्वभरबाट हामीलाई हेर्छन्, राम्रो गर्नुपर्छ भन्ने लागेको छ’ उनले भने ।

काठमाडौंका कप्तान करण केसीले एक महिनाअघिदेखि घरेलु युवा खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गराएको कुरा उल्लेख गर्दै भने, ‘विदेशी‌ पनि सबै आइसकेका छन्, हामी एक महिनाअघि देखि घरेलु खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छौं । युवा खेलाडी र विदेशीको तालमेलले राम्रो हुनेछ भन्ने छ।’

पोखराका कुशल भुर्तेलले भारतीय प्रशिक्षकबाट पोखरामा राम्रो तयारी भएको बताए । लुम्बिनीका कप्तान रोहित पौडेलले टिमको तयारी राम्रो भएको बताए । ‘हामीले एक्स्ट्राटेक मैदानमा प्रशिक्षण गर्‍यौं । राम्रो भएको छ’ उनले भने ।

‘तयारी राम्रो भएको छ लुम्बिनीको, एनपीएल‌ एकदम महत्वपूर्ण प्रतियोगितामा हो, आइपीएलले भारतमा सहयोग गरेजस्तो एनपीएलले‌ नेपाली क्रिकेटलाई सहयोग गर्ने छ’ रोहितले थपे ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले युवा नेपाली र अनुभवी विदेशी खेलाडीको समिश्रणले टिम बलियो भएको बताए । ‘हाम्रो टिममा युवा धेरै छन्, विदेशी‌ पनि अनुभवी ल्याएका छौं । हामीले उहाँहरुबाट कति सिक्न सकिन्छ भन्ने कुरा हो’ उनले भने, ‘एनपीएलले धेरै युवाहरुलाई मौका दिएको छ । नेपालका लागि राम्रो खेलाडी पनि निस्कन्छन् भन्ने विश्वास छ।’

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टिम राम्रो भएको र युवा र विदेशी‌ खेलाडीहरु मिलेर सबैले राम्रो गर्ने कुराले उत्साहित रहेको बताए ।

एनपीएलको उद्घाटन खेलमा शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्दै छन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय