१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकटको तेस्रो दिनको दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका दुई कुशलबीचको प्रतिस्पर्धा थियो । अर्थात् कुशल मल्लको चितवन राइनोज र कुशल भुर्तेलको पोखरा एभेन्जर्सबीचको खेल ।
दुई कुशलबीचको कौशलको प्रतिस्पर्धा हुने भनेर आकलन गरिएको खेल एकतर्फी बन्यो, त्योपनि हदैसम्मको एकतर्फी । १६२ रनको लक्ष्य पछ्याएको पोखरा एक समय १० रन कटाउनै संघर्ष गरिरहेको थियो ।
चितवनले सुरूवाती ४ ओभरमै ६ विकेट लिएपछि ७ रनमा ६ विकेट गुमाएको पोखराले पावरप्ले सकिँदाबित्तिकै थप एक विकेट गुमाउँदा १७-७ को स्थितिमा थियो । त्यहाँबाट संघर्षपूर्ण रूपमा ७४ रनसम्म पुगेर पोखराको इनिङमा ब्रेक लाग्यो । पोखरा ८७ रनले पराजित भयो ।
कसरी आयो ७-६ को अवस्था ?
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरालाई राम्रो सुरूवातको आवश्यकता थियो । विशेषगरी चितवनका लयमा रहेका बल सोहेल तनविरको ओभरमा सम्हालिएर खेल्नुपर्ने थियो । ओपनिङमा आएका थिए राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल र दिनेश खरेल ।
भुर्तेलबाट आक्रामक ओपनिङको आशा गरिएकोमा ठीक विपरित भयो । उनी सोहेल तनविरको पहिलो बलमै मिडविकेटमा सहज क्याचआउट भए । डिफेन्ड गर्न खोजेका उनको ब्याटको लिडिङ एज लागेर बल रवि बोपाराको हातमा गयो । कप्तानलाई पहिलो बलमै गुमाएपछि दिनेश र दिलीप नाथलाई पोखराको इनिङ उकास्ने जिम्मेवारी थियो ।
पहिलो बलमै दिलीपले शानदार शटमार्फत चौका बटुले । तर त्यसपछिको बलमा एज लागेर उनी पनि आउट भए । त्यसपछि आएका बास डे लिड पनि पहिलो बलमै स्लीपमा क्याचआउट भएपछि पोखरा ४ रनमा ३ विकेट गुमाएको अवस्थामा पुग्यो ।
अब क्रिजमा थिए दुई युवा ब्याटर दिनेश खरेल र किरण ठगुन्ना । दोस्रो ओभर चितवनका रिजन ढकालले मेडन राखे । तेस्रो ओभरमा तनविरले २ रन मात्र दिए । चौथो ओभरको पहिलो बलमा रिजनले दिनेशलाई आउट गरेपछि पोखरा ६-४ को अवस्थामा पुग्यो ।
त्यसपछि एक रन जोडेको पोखराका लागि ब्याटिङमा आएका किरण ठगुन्ना आउट भए भने चौथो ओभरको अन्तिम बलमा माइकल लिस्क पनि आउट भएपछि पोखराको टप अर्डर र मिडल अर्डर ध्वस्त भइसकेको थियो । पोखराले ७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।
त्यसपछि रेमन रेइफर र म्याट क्रिट्ले मिलेर थप १० रन जोडे । तर पावरप्ले सकिएपछि बलिङमा आएका लुक बेनकेन्सटाइनले सातौं ओभरको दोस्रो बलमा रेइफरलाई आउट गरेपछि पोखराको १७ रनमा सातौं विकेट गुमेको थियो ।
नारायण जोशीले क्रिट्लेसँग मिलेर केही ठुला शटहरू खेल्दै पोखरालाई ५० रनमूनि अलआउट हुनबाट जोगाएपनि लज्जास्पद हार भने टार्न सकेनन् ।
खेलपछि कुरा गर्दै पोखराका प्रशिक्षक राजिव कुमारले कुनै पनि टिम ७ रनमा ६ विकेट गुमाएको लज्जास्पद अवस्था नचाहने बताएका थिए । ‘हाम्रो ओपनर तथा कप्तान पहिलो बलमै आउट भएपछि दबाबमा थियौं । आज हाम्रो दिन थिएन, आगामी खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने छौं’, कुमारले भने ।
बाँयाहाते जोडीको भुमरीमा फसे पोखराका ब्याटर
सोहेल तनविरले पहिलो ओभरमै ३ विकेट लिएपछि पोखरा एक किसिमको दबाबमा आइसकेको थियो । अर्को एन्डबाट रिजन ढकालले पनि शानदार बलिङ गरिरहेका थिए ।
तनविरबाट प्रेरित रिजनले पनि आफ्नो दोस्रो ओभरमा ३ विकेट लिए । उनले खेलपछि तनविरको पहिलो ओभर देखेर आफूमा पनि जोश आएको बताएका थिए । फलस्वरूप तनविर र रिजनको जोडीले पोखराका शीर्ष ६ ब्याटरहरूलाई पेभेलियन फर्काइसकेका थिए, त्यो पनि टिमको स्कोर ७ रन हुँदा ।
पोखराका ब्याटरहरूले तनविर र रिजनको पेसलाई रिड गर्न सकिरहेका थिएनन् । तनविरले आउटस्वीङमार्फत क्याचआउट गराइरहेका थिए भने रिजनले इनस्वीङमार्फत ब्याटरहरूलाई एलबीडब्लु धरापमा पारिरहेका थिए ।
यति मात्र नभएर लुक बेनकेन्सटाइनले पनि लेगस्पीनमार्फत ३ विकेट लिए । उनले तल्लोक्रमका ब्याटरहरूलाई फसाइरहेका थिए ।
तनविरले जहाँ छाडेका थिए त्यहीँबाट सुरू
३९ वर्षीय तनविरले हजारौं नेपाली समर्थक अगाडि आफ्नो बायाँहाते बलिङको जादु देखाइरहेका छन् । सोमबार काठमान्डु गुर्खाजविरुद्ध ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका उनी एनपीएलमा ५ विकेट लिने पहिलो खेलाडी बने भने खेलको प्लेअर अफ दि म्याच बने ।
उनले काठमान्डुको विदेशी टप अर्डर माइकल लेभिट र स्टेफेन इस्किनाजीसहित भिम शार्की, करण केसी र शाहब आलमलाई आउट गरेका थिए ।
उनले सोमबारको प्रदर्शनलाई मंगलबार पनि निरन्तरता दिए । आज पनि उनले पोखराको टप अर्डरलाई ध्वस्त पारेका थिए जसमा कप्तान कुशल भुर्तेल तथा स्टार अलराउण्डर बास डे लिडको विकेट सामेल थियो ।
उनकै प्रदर्शनका कारण उनका पेस बलिङ पार्टनर रिजन ढकाललाई पनि सहयोग मिलेको छ । ‘तनविरले एकै ओभरमा ३ विकेट लिएपछि ममा पनि जोश नै आएको थियो । सिनियर खेलाडीहरू टिममा भएपछि छुट्टै किसिमको मनोबल हुन्छ’, खेलपछि रिजनले भनेका थिए ।
आजको खेलमा रिजन म्यान अफ दि म्याच भएका थिए । मैले धेरैपछि यस्तो बलिङ गरें, मेरो हार्ड वर्कले पे गरेको जस्तो लागेको छ । शब्दमा बयान गर्न सकिरहेको छैन’, उनले थपे ।
पोखरेली ब्याटर निरीह
पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको पोखराले त्यही ओभरमा ३ ब्याटर गुमाइसकेको थियो । पोखराका ब्याटरहरू क्रिजमा पुग्ने र फर्कने सिलसिला चलिरहेको थियो । कोही पनि क्रिजमा सम्हालिन सकेकै थिएनन् ।
एकतर्फबाट तनविर र अर्कोतर्फबाट रिजनले घातक बलिङ गर्दै निरन्तर विकेट निकाल्दा पोखराका ब्याटरहरू निरीह बनिरहेका थिए । शट खेल्दा क्याच भइरहेको थियो भने डिफेन्ड गर्न खोज्दा कनेक्ट नभई एलबीडब्लुमा फसिरहेका थिए ।
पोखराको टिममा अमेरिकाका आन्द्रेस गौस आउन बाँकी छ । ओपनिङमा सक्षम उनी आक्रामक सुरूवातका लागि चिनिन्छन् ।
पोखराले अब आफ्नो दोस्रो खेलमा बिहीबार जनकपुर बोल्ट्ससँग खेल्ने छ । चितवनले शुक्रबार कर्णाली याक्ससँग खेल्ने छ ।
प्रतिक्रिया 4