२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ । उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुरल त्यसपछि सन्तुलित र चर्चित टिम मानिएको कर्णाली याक्सलाई पराजित गरेको थियो ।
उता पोखरा भने आफ्नो पहिलो खेलमै चितवन राइनोजसँग पराजित भयो । दुई खेल जितेर लयमा रहेको जनकपुर र पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सबीच खेल कस्तो होला कसले बाजी मार्ला? के जनकपुरले लगतार तेस्रो खेल जित्ला वा पोखराले पहिलो जित हात पार्ला ? त्यसको लागि भने खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
मार्की खेलाडी आसिफ शाह रहेको जनकपुरको कप्तानी अनिल शाहले गरिरहेका छन् । यो जोडीले पछिल्लो समय राष्ट्रिय टिममा पनि ओपनिङ गर्दै आएको छ । अनिल आउनुअघि आसिफ र कुशल भुर्तेल ले लामो समय राष्ट्रिय टिममा सँगै ओपनिङ गरेका छन् । उनै भुर्तेल पोखराको मार्की र कप्तान पनि हुन् ।
अनिल र आसिफले राम्रो प्रदर्शन गर्दा कुशल भुर्तेल भने पहिलो खेलमा चितवन विरुद्ध पहिलो बलमै आउट भए । त्यसैले उनका लागि पनि जनकपुर विरुद्धको खेल पुनरागमन गर्ने अवसर हुनेछ ।
अनिल र आसिफसहित जनकपुरमा राष्ट्रिय टिमका स्पीनर ललित राजवंशी पनि छन् । यसबाहेक चार विदेशी खेलाडीको साथ अनी मडियम पेसर किशोर महतो छन् । यू१९ टिमका कप्तान हेमन्त धामी सहित आकाश त्रिपाठी पनि यू१९ एसिया कप खेलेर बुधबार बेलुका स्वदेश फर्किसकेका छन् । छैटौं विदेशी खेलाडी जोसुअ ट्रोम्प पनि नेपाल आइपुगेका छन् । जनकपुरको टिम अब पूर्ण बनेको छ ।
उता पोखरामा भुर्तेलसहित राष्ट्रिय टिमका सागर ढकाल छन् । राष्ट्रिय टिमबाट खेलिसकेका मिडियम पेसर आकाश चन्द पहिलो खेलमा खेलेनन् । पोखराको टिममा पनि छैटौं विदेशीको रुपमा आन्द्रेस गौस आइसकेका छन् ।दुवै टिममा ६ विदेशी खेलाडी हुँदा पहिलो रोजाईँमा विकल्प हुनेछ । एक टिमले ४ जना विदेशी खेलाउन पाउनेछ ।
पहिलो खेलमा पोखराले चितवन विरुद्ध बिर्सनलायक प्रदर्शन गरेको थियो । चार ओभरभित्र ७ रन जोड्दा ६ विकेट गुमाएको पोखराले खराब प्रदर्शन गरेको थियो । चितवन विरुद्ध ८७ रनले पराजित भएको पोखराले त्यो हार बिर्सेर आउने खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
जनकपुर भने सुरुवाती खेलमा जितले उत्सही छ । तर दुवै खेलमा शीर्ष अर्डरले नै खेल जिताउँदा जनकपुरको मध्यक्रम टेष्ट हुन बाँकी छ । जनकपुरका लागि पहिलो खेलमा लाहिरु मिलान्थाले अर्धशतक बनाउँदै जित दिलाएका थिए भने दोस्रो खेलमा अनिल शाहले कप्तानी इनिङ्स खेलेका थिए ।
खेल : जनकपुर बोल्ट्स भर्सेस पोखरा एभेन्जर्स
मिति र समय : २० मसिर, बिहान ९ बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
जनकपुरको सम्भावित ११ : आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, आकाश त्रिपाठी/शुभ, हर्श थाकेर, जिम्मी नीशम, मोहम्मद मोहसिन, किशोर महतो, शेर मल्ल, ललित राजवंशी, हेमन्त धामी/तुल बहादुर थापा
पोखराको सम्भावित ११ : कुशल भुर्तेल, आन्द्रेस गौस, दिलिप नाथ/दिनेश खरेल, बास डे लिड, सुनाम गौतम, म्याट क्रिटले/माइकल लिस्क, किरण ठगुन्ना/तृत राज दास, रेमोन रेइफर, नारायण जोशी, विपिन खत्री, सागर ढकाल
प्रतिक्रिया 4