+

सुदूरको तुफानमा नफसेको चितवने गैँडा !

२०८१ मंसिर  २३ गते २१:१३ २०८१ मंसिर २३ गते २१:१३
सुदूरको तुफानमा नफसेको चितवने गैँडा !

२३ मंसिर, काठमाडौं । ‘मैदानमा तुफान…सुदूरको शान’ भन्ने गीत पछिल्लो समय सुदूरपश्चिमका घरघरदेखि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा घन्कँदै आएको छ । सुदूरको टिमले प्रदर्शन पनि नारामा भनिएजस्तै गरिरहेको थियो ।

लगातार तीन खेल जितेर चितवन राइनोजसँग प्रतिस्पर्धा गर्न निस्किएको सुदूरपश्चिम टोलीको तुफानसँग चितवनको गैंडा भने डराएन । अघिल्ला तीन खेलमा तीनै टोलीलाई राम्रैसँग तुफानमा फसाएको सुदूर चितवनसँग भने आफैं स्तब्ध बन्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियगिताअघिको कार्यक्रममा चितवन राइनोजलाई चितवन गैंडाज भनेर नाम दिएका थिए । त्यही भनाईबमोजिम ‘गैँडा’ले सुदूरको तुफानको सामना गर्दै त्यसलाई चिरिदिएको छ ।

आइतबार भएको दोस्रो खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराउँदै तेस्रो जित निकाल्न सफल भयो जसले दुवै टोलीलाई उस्तै अवस्थाको बनाएको छ अर्थात् चितवन र सुदूर दुवैको ४ खेलमा ३ जितसहित ६ अंक भएको छ । यद्यपी नेटरनरेटमा सुदूर अघि छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका लागि हसन एइसाखिलले अर्धशतक बनाएका थिए भने रवि बोपाराको ब्याट आज पनि चल्दा चितवनलाई आवश्यक फिनिसिङ उनले दिलाए ।

हसनले ५२ बलमा ६५ रन बनाएपछि बोपाराले त्यसमा फिनिसिङ टच दिए र १८ बलमा ३६ रन बनाए । त्यही इनिङको मद्दतले चितवनले १६४ रनको योगफल खडा गरेको थियो ।

सुदूरविरुद्ध कुनैपनि टिमले बनाएको यो सर्वाधिक स्कोर नै हो । यसअघि सुदूरले खेलेका तीन टिममध्ये दुई टिमले त १०० रन पनि बनाउन सकेका थिएनन् । विराटनगरलाई ९२ रनमा अलआउट गरेको सुदूरले काठमाडौंलाई ९४ रनमा अलआउट गरेको थियो । शनिबार लुम्बिनी पनि त्यस्तै अवस्थामा पुग्ला जस्तो देखिएपनि विवेक यादवले विस्फोटक पारी खेल्दै स्कोर सम्मानजनक बनाएका थिए ।

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूर १८.२ ओभरमा १३१ रनमा अलआउट भयो । यो पनि सुदूरको अहिलेसम्मको कम स्कोर हो भने २० ओभर नखेली अलआउट भएको पनि पहिलोपटक हो । यसअघि सुदूरले विराटनगरसँग १८२ रन बनाएको थियो भने काठमाडौंसँग १६७ रन तथा लुम्बिनीसँग १८७ रन बनाएको थियो ।

चितवनका लागि जान निकोल लफ्टी इटन, कुशल मल्ल, रिजन ढकाल र अमरसिंहले २-२ विकेट तथा सोहेल तनविर र रञ्जित कुमारले १-१ विकेट लिएपछि सुदूरले पहिलो हार देख्यो । कप्तान कुशल मल्लको ब्याट नचले पनि बलिङबाट एकै ओभरमा २ विकेट निकाल्दै चितवनलाई खेलमा फर्काएका थिए । जानले दीपेन्द्र र दिलप्रीत बजवालाई सस्तैमा आउट गरिदिएका थिए ।

सुदूरका लागि अघिल्लो खेलमा चम्किएका सेफ अली जैबले यसपटक भने सस्तैमा पेभेलियनको बाटो देखे भने ओपनर विनोद भण्डारी पनि सस्तैमा आउट भए । ब्रान्डन माकमुलेनले दुई शटहरू खेलेपनि धेरै समय टिक्न सकेनन् । कप्तान दीपेन्द्रलाई पनि सस्तैमा गुमाइपछि दबाबमा आएको सुदूरका लागि इशाान पाण्डेले केही राम्रा शटहरू खेल्दै टिमलाई खेलमा जीवितै राखेका थिए ।

तर अमरसिंह राउटेला आएर आफ्नो पहिलो ओभरमै इशानलाई आउट गरेपछि सुदूरको झिनो आशाको किरण पनि निभेको थियो । समग्रमा चितवनका सबै बलरहरूले कम्तिमा एक विकेट लिएका थिए ।

खेलपछि कुरा गर्दै सुदूरपश्चिमका मेन्टर अस्ट्रेलियन लेजेण्ड ब्राड हजले पहिलो इनिङमा केही रन बढी भएको कुरा उल्लेख गरे । हामीले पहिलोपटक टार्गेट चेज गर्दै थियौं, विकेट पनि केही स्लो थियो । हामीले बीचमा थोरै अन्तरमा दुई विकेट गुमायौं त्यसले मिडल अर्डरमा केही दबाब भएको थियो’, उनले भनेका थिए ।

‘यो प्रतियोगितामा राम्रो कम्पिटिसन छ, सुदूरपश्चिम पनि एउटा राम्रो टिम हो । हामीसँग राम्रो ब्याटिङ, बलिङ र अलराउण्डर युनिट छ । आज पहिलो इनिङमा अलि बढी रन दियौं कि, सायद १०-१५ रन बढी भयो’ उनले भने ।

हज सोमबार स्वदेश फर्कँदै छन् । उनले आफ्नो छोरालाई पनि सँगै नेपाल ल्याएर यहाँ घुम्न पाउँदा निकै खुसी लागेको बताए । त्यसैगरी उनले नेपाली क्रिकेटको प्रगति र खेलाडीको तारिफ पनि गरेका थिए । उनले सुदूरपश्चिमको टिम प्लेअफमा पुगेर उपाधि नै जित्ने दाबी समेत गरे ।

यता चितवनका अलराउण्डर जान निकोल लफ्टी इटनले भने आजको खेलमा बलिङ युनिटले राम्रो गर्दा जित सम्भव भएको बताए । ‘सुरूमा हसन र बोपाराले राम्रो ब्याटिङ गरे, बलिङमा मेरो, कुशलको र रञ्जितको स्पेलले खेलमा सहज भयो’ उनले भने, ‘दीपेन्द्र एकदम राम्रो खेलाडी हो, त्यो विकेट लिनु नै गेम चेन्जिङ्ग मोमेन्ट थियो।’

चितवन राइनोजले अघिल्लो खेलमा कर्णाली याक्ससँग हार व्यहोरेको थियो । त्यसअघि पोखरा एभेन्जर्स र काठमाडु गुर्खाजलाई हराएको थियो । अब चितवनले अर्को खेल मंगलबार लुम्बिनी लायन्ससँग खेल्ने छ । लुम्बिनीले हालसम्म खेलेका चार खेल जितेको छैन ।

त्यसैगरी सुदूरपश्चिमले भने बुधबार जनकपुर बोल्ट्ससँग खेल्ने छ । उक्त खेल महत्वका साथ हेरिएको छ । उक्त खेलसम्ममा प्लेअफ पुग्ने र समूह चरणबाट बाहिरिने कम्तिमा एक-एकवटा टिमको टुङ्गो लागिसक्ने छ ।

हालसम्म अपराजित रहेको जनकपुर बोल्ट्स ४ खेलमा ८ अंकसहित अंकातालिकाको शीर्षस्थानमा छ । त्यसैगरी ४ खेलमा ६-६ अंकसहित सुदूरपश्चिम र चितवन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कर्णाली याक्स ४ खेलमा ४ अंकसहित चौथो तथा पोखरा एभेन्जर्स र काठमाडु गुर्खाज समान ३ खेलमा २ अंकसहित क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

विराटनगर किंग्स ४ खेलमा २ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनी लायन्स ४ खेलमा जितविहीन रहँदै पुछारमा छ ।

एनपीएल नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय