२६ मंसिर, काठमाडौं । सन् २०१२ मा नेपालले आइसीसी यू-१९ विश्वकपमा अस्ट्रेलियासँग पनि खेलेको थियो । उक्त खेलमा नेपालले फराकिलो हार व्यहोरेको थियो ।
उक्त विश्वकपमा नेपाली टोलीबाट खेलेकामध्ये केही खेलाडीले अहिले एनपीएल खेलिरहेका छन् भने उनीहरूसँगै तत्कालीन अस्ट्रेलियन कप्तानले पनि एनपीएल खेलिरहेका छन् ।
ती अस्ट्रेलियन कप्तान हुन् विलियम बोसिस्टो जो कर्णाली याक्सबाट खेलिरहेका छन् । त्यति मात्र हैन, संयोगवश उनको आगमनपछि कर्णालीले तीनवटै खेल जितेको छ भने पछिल्ला दुई जितमा त उनले शानदार प्रदर्शन नै गर्दै म्यान अफ दि म्याच नै भएका छन् ।
विलियम बोसिस्टोलाई कर्णालीले हालसम्म सबैभन्दा अन्तिममा अनुबन्ध गरेको हो । विशेषगरी भारतीय खेलाडी शिखर धवन ४ खेलका लागि मात्र आएकाले कर्णालीले एक विदेशी खोज्नैपर्ने थियो । पाँचौं विदेशी खेलाडीका रूपमा भित्रिएका बोसिस्टोले धवन टिममै हुँदा पनि खेले ।
बोसिस्टोले चितवनसँग एनपीएलको डेब्यू खेल खेले । त्यसबेला उनको ब्याटिङको पालो आएन । बलिङबाट पनि विकेट लिएनन् ।
तर त्यसपछिको खेलमा उनले अर्धशतक बनाए भने एक विकेट पनि लिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४९ बलमा ६६ रन बनाउनुका साथै बलिङमा पनि एक विकेट लिएका थिए । कर्णालीले ७ रनले जितेको उक्त खेलमा उनी म्यान अफ दि म्याच समेत भए ।
त्यसपछिको खेल अर्थात् मंगलबारको खेलमा उनले कीर्तिमानी बलिङ प्रदर्शन गरे । पोखरा एभेन्जर्ससँगको उक्त खेलमा बोसिस्टोले ४ ओभरमा २८ रन दिएर ६ विकेट लिए । उनको यही बलिङ प्रदर्शनले पोखरा २१ बल अगावै १०३ रनमा अलआउट भएको थियो ।
उनले पोखराका कप्तान कुशल भुर्तेलकै विकेट लिएर खेलमा आफ्नो विकेटको खाता खोलेका थिए । त्यसपछि उनले दिलीप नाथ, म्याट क्रिटेले, रेमोन रेइफर, नारायण जोशी र माइकल लिस्कको समेत विकेट लिए ।
जवाफमा कर्णालीले १५ ओभरमा उक्त लक्ष्य पूरा गर्दै खेल जित्न सफल भयो । बोसिस्टो गुल्शन झासँगै क्रिजमा नटआउट रहे । म्यान अफ दि म्याच फेरि पनि बोसिस्टो नै चुनिए ।
यसरी बोसिस्टोले कर्णालीमा अलराउण्ड प्रदरेशन गर्दै टोलीको जितको आधार बनाइरहेका छन् । उनले टोलीमा अस्ट्रेलियन स्वादको अलराउण्ड प्रदर्शनसहित टोलीमा मिठास भरेका छन् ।
सन् २०१२ को आइसीसी यू-१९ विश्वकपमा प्लेयर अफ दि सिरिज अर्थात् प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए बोसिस्टो । फाइनलमा उन्मुक्त चन्दको भारतसँग पराजित भएपनि प्रतियोगिताभर उनको प्रदर्शन राम्रो थियो ।
उनै बोसिस्टोको शानदार प्रदर्शनमा कर्णालीले प्लेअफमा पुग्ने यात्रा सहज बनाउँदै लगेको छ । यसमा कर्णालीका अन्य खेलाडीको पनि उत्तिकै योगदान छ तर बोसिस्टोको प्रभाव भने अलि स्पेशल नै छ ।
खेलपछि कुरा गर्दै उनल् पिचको अवस्थालाई बुझेर खेल्दा जित सम्भव भएको बताएका थिए । ‘यो पिचमा ब्यटिङ गर्न सहज भइरहेको छैन । ब्याटिङ् टिम स्पीन बलिङमा अलि संघर्ष गरिरहेको थियो । हाम्रा ब्याटरहरूले पनि सुरूमा संघर्ष गरे तर पछि क्रिजमा टिक्दै गएपछि जित सम्भव भयो’ उनले भने ।
साथै उनले पोखराको ब्याटरहरूको प्रशंसा समेत गरेका थिए । ‘उनीहरूसँग राम्रो फर्ममा भएका ब्याटहरू छन् । ओपनरहरूले रामरो सुरूवात दिलाएपछि हामी स्पीनबाट विकेट निकाल्न सक्छौं कि भन्ने थियो । त्यस्तै भयो, ६ विकेट पनि पाएँ’ उनले भने ।
उनले नेपाल आउन पाउँदा पनि निकै खुसी लागेको बताए। ‘म पहिले नेपाल आएको थिइँन, यो एकदम राम्रो अवसर भयो सबैजनासँग भेट्न पाइयो, युवा प्रतिभाहरूसँग खेल्न पाइयो’ उनले भनेका थिए ।
बोसिस्टोको आगमनले कर्णालीलाई एउटा मिडल अर्डर ब्याटर र स्पीन बलरको विकल्प दिएको छ । अस्ट्रेलियाको यू-१९ टोली तथा बिग ब्यासमा पर्थ स्कोर्चर्सको टिमबाट खेलिरहेका बोसिस्टो यस्तै फर्ममा रहिरहने हो भने उनले अन्य खेलाडीहरूसँग मिलेर कर्णालीका बाँकी सबै खेलमा पनि जितको आधार तय गर्न सक्छन् ।
कर्णालीले अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेमा शीर्ष दुई लगभग पक्का हुनेछ ।
प्रतिक्रिया 4